भोटेकोशी बाढीपीडितका लागि जर्मनीद्वारा ८० लाख बढी युरो सहयोग

भोटेकोशी बाढीपीडितका लागि जर्मनीद्वारा ८० लाख बढी युरो सहयोग

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि जर्मनीले ८० लाख युरोभन्दा बढि सहयोग प्रदान गरेको छ।

सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्रमार्फत उक्त सहयोग प्रदान गरिएको काठमाडौंस्थित जर्मनी दूतावासले जनाएको छ। 

यसअघि पाँच लाख युरो मूल्य बराबरको आपत्कालीन सहायता प्रदान गर्ने घोषणा गरेको जर्मनीले नेपाल सरकारको अनुरोधमा भान्साका सामग्रीका सेट, त्रिपाल, लामखुट्टेको जाली, खानेपानी आपूर्तिका उपकरण तथा क्याम्प बेड युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत नेपाल आउँदैछ।   

उक्त राहत सामग्री जर्मन सङ्घीय प्राविधिक राहत निकायका साथै जर्मन लाइफ सेभिङ एसोसिएसन र जर्मनीको थुरिङ्गिया सङ्घीय राज्यले उपलब्ध गराएका हुन्।

त्यसैगरी, जर्मनीले तत्कालीन मानवीय आवश्यकता सम्बोधन गरिरहेका दुई संस्थालाई प्रत्यक्ष रूपमा दुई लाख युरो सहयोग प्रदान गरिरहेको छ। एउटा परियोजनाले विपद्बाट प्रभावित गर्भवती महिला, नयाँ आमा तथा नवजात शिशुको स्वास्थ्य र कल्याणमा ध्यान केन्द्रित गर्नेछ।

यसअन्तर्गत आपतकालीन सामग्री उपलब्ध गराउने, अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच कायम राख्ने तथा सङ्क्रमण रोकथामलाई सुदृढ गर्ने कार्य समावेश छन्।   

दोस्रो परियोजना युरोपेली सङ्घको मानवीय प्रतिकार्यको एक हिस्सा हुने दूतावासको भनाइ छ। जुन युरोपेली नागरिक सुरक्षा तथा मानवीय सहायता सञ्चालनसम्बन्धी महानिर्देशनालयमार्फत सञ्चालन हुनेछ।

उक्त परियोजनामार्फत जर्मनीले विपद्बाट प्रभावित घरपरिवारका लागि आयआर्जनका अवसर सिर्जना, पूर्वाधार पुनःस्थापनामा सहयोग पुर्याउन तथा विस्थापित शिविरको अवस्था सुधार गर्न सहयोग गर्ने जनाएको छ।

विपद्को प्रभाव तत्कालीन आपतकालीन अवस्थाभन्दा परसम्म रहने कुरालाई ध्यानमा राख्दै जर्मनीले आफ्नो विकास सहकार्यअन्तर्गत थप सात दशमलव ३५ मिलियन युरो परिचालन गरेको छ।

उक्त रकम जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले उपलब्ध गराउनेछ र कार्यान्वयन जिआइजेडमार्फत गरिनेछ।

नेपाल सरकारसँगको दीर्घकालीन साझेदारीलाई निरन्तरता दिँदै जिआइजेडले स्वास्थ्य तथा ऊर्जाका क्षेत्रमा सहायता प्रदान गर्नेछ। यसमा अत्यावश्यक स्वास्थ्य सेवा, ऊर्जा तथा पानी आपूर्तिमा पहुँच कायम राख्न विशेष ध्यान दिइनेछ।

जर्मनीले जलवायु तथा विपद् प्रतिरोधी पूर्वाधारलाई सुदृढ बनाउन तथा भविष्यमा आउने प्राकृतिक विपद्प्रति नेपालको उत्थानशीलता सुधार गर्न नेपालका दीर्घकालीन प्रयासलाई सहयोग गर्ने लक्ष्य राखेको छ।

भदौ २५, २०८३ बिहीबार १३:२७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।