प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक, बाढी प्रभावितको पुनःस्थापना मुख्य एजेन्डा

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक, बाढी प्रभावितको पुनःस्थापना मुख्य एजेन्डा

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो।

बैठकमा देशको समसामयिक विषयका साथै रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको राहत, उद्धार र पुनःस्थापनाका विषयमा केन्द्रित रहेर छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, घाइतेको उपचार र राहत वितरणमा निरन्तर जुटिरहेको छ।

विपद् व्यवस्थापन कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन तथा प्रभावितहरूको दीर्घकालीन पुनःस्थापनाका लागि बैठकमा आवश्यक नीतिगत तथा कार्यगत निर्णयहरू लिइने बताइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिने, घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास र राहत प्याकेज उपलब्ध गराउने विषय बैठकको मुख्य प्राथमिकतामा रहनेछ।

भदौ २५, २०८३ बिहीबार १०:२८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।