सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

सङ्खुवासभा : जिल्लाको पाँचखपन नगरपालिका-८, पोख्राङमा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय २८ वर्षीय उमेश दाहाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार गएराति हावाहुरी र वर्षासँगै परेको चट्याङले अलैँची भट्टीमा अलैँची केलाइरहेका दाहाललाई लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई तत्काल पाँचखपन आधारभूत अस्पताल (वाना) पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटर पूर्वमा पर्दछ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

भदौ २५, २०८३ बिहीबार ०९:५७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।