श्रीमान् सम्झँदै इन्दिराको पुकार- ‘हे भगवान्! नजन्मँदै मेरो बच्चाको बाबु नखोस’
महोत्तरी : रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा उर्लिएको बाढी त घट्यो, तर महोत्तरी पिपराका यादव परिवारको आँखामा आँसु अझै थामिएको छैन।
घटनाको दुई साता बितिसक्यो। न कुनै खबर छ, न कुनै आशाको त्यान्द्रो। घरआँगनमा केवल शून्यता, रोदन र सन्नाटा छ।
“हे भगवान्! जे सजाय दिनुछ मलाई देऊ, तर मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख टेक्न पाओस् !”
छ महिनाको गर्भ सम्हाल्दै २४ वर्षीया इन्दिरा यादव दिनरात यही पुकारा गरिरहेकी छन्। उनका आँखा आँसुले ओभानो हुन पाएका छैनन्।
पति इन्जिनियर विकासकुमार यादव गत भदौ १० गते आएको बाढीका दिनदेखि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना परिसरबाट सम्पर्कविहीन छन्।
त्यो अन्तिम बिहानी
त्यो बिहान सम्झँदै इन्दिरा भक्कानिन्छिन्। विकासले सधैँ झैँ भनेका थिए- “म काममा जान्छु, तिमी ढोका लगाएर बस है!”
क्वार्टरबाट कार्यस्थल पुग्न जम्मा १० मिनेटको बाटो थियो। तर, त्यो ‘१० मिनेट’ यति लामो बन्यो कि विकास आजसम्म फर्किएर आएनन्। आयोजनास्थलमै आवासको सुविधा भएकाले विकासले पत्नी र सानी छोरीलाई साथमै राखेका थिए।
“कामबाट अलिकति फुर्सद पाउनासाथ फोन गरिहाल्नुहुन्थ्यो,” इन्दिरा भन्छिन्, “अहिले उहाँको एउटै बोली सुन्न कान आतुर छन्। न छोरीले राम्रोसँग बाबु भन्न पाई, न त यो गर्भको सन्तानले नै बाबुको मुख देख्न पाउने भयो। हे भगवान्! मेरो कोखलाई अन्याय नगर!”
उर्लिएको बाढी र भागदौड
बाढीको त्यो कहालीलाग्दो क्षण सम्झँदा इन्दिराको आङ अझै जिरिङ्ग हुन्छ।
आवासका सुरक्षागार्डले ‘माथिबाट ठूलो बाढी आयो, डाँडातिर भागौँ’ भन्दै चिच्याएपछि उनले छोरीलाई काखमा च्यापेर हस्याङफस्याङ गर्दै ज्यान जोगाउन थुम्कोमा पुर्याएकी थिइन्। डाँडाबाट तल हेर्दा आयोजना परिसर बाढीको लेदोमा विलीन भइसकेको थियो।
“म त निस्किएँ, उहाँ पनि कतै सुरक्षित निस्किनुभयो होला भन्ने आसमा बाटो हेरिरहेँ। न फोन लाग्यो, न कुनै खबर आयो,” उनी रुन्छिन्।
साँझसम्म कुनै अत्तोपत्तो नलागेपछि इन्दिरा र उनकी छोरीलाई उद्धारकर्मीले काठमाडौँ ल्याइदिए र उनी माइती दाजुको सहारामा पिपरास्थित घर आइपुगिन्।
आँसु सुकेको घर
विकास सम्पर्कविहीन भएको खबर फैलिएसँगै यादव परिवारको आँगनमा आफन्त र गाउँलेको बाक्लो आउजाउ छ। बाटोमा कसैको पदचाप सुनिनासाथ सबैको ध्यान ढोकातिर सोझिन्छ- कतै विकासकै खबर आयो कि?
केही महिनाअघि मात्र पाठेघरको शल्यक्रिया गराएकी आमा बिनादेवी अर्धमूर्च्छित अवस्थामा ओछ्यानमा लडिरहेकी छन्। रुँदारुँदै आँसु सकिएर उनका आँखाका डिल सुन्निएका छन्। छिनछिनमै बर्बराउँछिन्, “मेरो विकास आयो ?”
अवकाशप्राप्त शिक्षक पिता शम्भुनाथ पत्नी र बुहारीका अगाडि आँसु लुकाउँदै ‘बाबु आउँछ, केही हुन्न’ भनेर ढाडस दिन्छन्। तर, एकान्त भेटिनासाथ भक्कानिन्छन्।
“छोराले जागिर खायो, अब हाम्रा दुःखका दिन गए भनेर दङ्ग परेको थिएँ। तर, परमात्मालाई हाम्रो खुसी मञ्जुर रहेनछ,” शम्भुनाथ भन्छन्, “कक्षामा सधैँ अब्बल मेरो बाबुले ‘बुबा, अब तपाईं दुःख नगर्नू’ भन्थ्यो, आज जिन्दगीभरको पीडा दिएर गयो।”
भाइ सुवास पनि दाजुको खोजीमा भौँतारिँदा-भौँतारिँदै गलिसकेका छन्।
“हामीले आफ्ना तर्फबाट सक्दो खोज्यौँ, तर दाजुको केही पत्तो लागेन। यता आमा र भाउजूलाई कसरी सम्हाल्ने?”, उनी गहभरि आँसु पार्छन्।
सन्नाटामा हराएका १७८ सपना
यो बज्रपात विकासको परिवारमा मात्र सीमित छैन। बाढीपहिरोका कारण महोत्तरीका मात्रै १० जना सम्पर्कविहीन छन्। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीमा परी प्रदेशभरिका १७८ जना अझै बेपत्ता छन् भने ३ जनाको मृत्यु पुष्टि भइसकेको छ।
दिनहरू बित्दै जाँदा उनीहरू सकुशल भेटिने आशा धमिलिँदै गएको छ। तर, परिवारको मन मान्न तयार छैन। उनीहरू भन्छन्, “जस्तो अवस्थामा भए पनि सरकारले हाम्रा मान्छेको खोजी गरिदेओस्।”
पिपरामा साँझ ढल्छ, तर यादव परिवारको आँखामा निद्रा पर्दैन। इन्दिरा भने आफ्नो पेट सुम्सुम्याउँदै कुनै अदभूत चमत्कारको पर्खाइमा आँखा ओछ्याएर बाटो हेरिरहेकी छन्।
राससको समाचार सम्पादनसहित प्रकाशन गरिएको
भदौ २५, २०८३ बिहीबार ०८:०१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।