जेनजी आन्दोलन स्मृति सभाको मञ्चमा दुई विवादित धर्म गुरुसँगै बसेर गृहमन्त्री सुधनले पुराना दल र पत्रकारलाई भने ‘सुध्रिनु’
काठमाडौं : नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि मंगलबार आयोजित 'जेनजी शहीद दिवस'को स्मृति सभामा गृहमन्त्री सुधन गुरुङले एमाले अनि कांग्रेसलाई मात्रै हैन सञ्चारकर्मीलाई पनि सुध्रिनु भन्दै धम्क्याए।
मञ्चमा खुइया गर्दै चिल्लाचिल्ला भाषण गर्न नआउने र मनका कुरा भन्न नरोकेको भन्दै उनले पुराना दलको केही साथीहरूले आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेकोमा अचम्म लाग्ने गरेको बताए।
उनले भदौ २३ लाई इतिहास भन्दै इतिहास नफेरिने र यसलाई फेर्न प्रयास नगर्नु भन्दै तीन करोड नेपालीले जिताएर पठाएको भन्दै भने “सुध्रिनुस्। अझैँ समय छ।”
उनले यसरी पुराना दललाई मात्रै हैन पत्रकारहरूलाई पनि सुध्रन भने। उनले भने “तीन चार जना दुई तीन जना छन् नि तपाइहरूको पार्टीसहित तपाईँहरू पनि सुध्रिनुस् भन्न चाहन्छु।”
उनले यसरी जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन आयोजित स्मृति सभामा गृहमन्त्रीले अन्यलाई सुध्रिन चेतावनी दिइरहँदा त्यही मञ्चमा रहेका गेरु वस्त्रधारी दुई जनाले मज्जाले ताली बजाइरहेका थिए।
ती थिए विजय भण्डारी र श्रीनिवास आचार्य। यी दुवैको पृष्ठभूमि न जेनजी आन्दोलनसँग जोडिन्छ न सुशासनसँग। बरु यी दुवैको सम्बन्ध २०८१ फागुन १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलन र त्यसपछिको वितण्डामा जोडिन्छ।
उनीहरूले जेनजी आन्दोलनको स्मृति सभामा सम्बोधन समेत गरे। यी दुवैको पृष्ठभूमि धर्मको आडमा आपराधिक गतिविधिमा जोडिएको छ।
कार्यक्रमका मुख्य अतिथिसँगै मञ्चको अग्र भागमा बसेका उनीहरूमध्ये बालयोगेश्वर विजय कृष्णमूर्तिको नामले चिनिने विजय भण्डारी ठगी र चन्दा दुरुपयोगको विवादमा जोडिँदै आएका पात्र हुन्।
वैदेशिक रोजगारको आवरणमा ठगी गरेको मुद्दा सर्वोच्चसम्म पुगेका उनी कोटीहोमको आवरणमा संकलन गरेको चन्दा दुरुपयोगमा समेत जोडिएका थिए। दुई वर्षअघि २०८१ साउनमा पशुपतिमा एक महिनासम्म चलेको कोटिहोमका आयोजक भण्डारीमाथि आर्थिक पारदर्शिताको विवादमा तानिएका थिए।
मानव कल्याण आध्यात्मिक परोपकार संघ नामक संस्थाका भण्डारी अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा तानिएका थिए। प्रहरीमा उजुरी परेपछि प्रहरीले छाउनीस्थित उनको डेराबाट रजिस्ट्रर, चेक, चन्दा रसिद र डाइनामिक डेरिमेरिम इन्भेस्टमेन्ट प्रालि, अरविन्द योग मन्दिरका कागजात बरामद गरेको थियो। उनीमाथि एक करोड २७ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेर मुद्दा अदालतसम्म पुग्यो।
यति मात्रै हैन उनी २०७१, २०६८ र २०७६ गरेर पटक पटक थुनामा समेत परेका व्यक्ति हुन्। वैदेशिक रोजगार न्यायाधीकरणले उनलाई वैदेशिक रोजगारीको नाममा ठगी गरेको कसुरमा डेढ वर्ष कैद र जरिबानाको फैसला सुनाएको थियो।
त्यो मुद्दा सर्वोच्च अदालतमा पाँच वर्षदेखि विचाराधीन थियो। पशुपति कोटीहोम सकिएपछि उनले पीडितलाई रकम दिएर मुद्दा मिलापत्रबाट टुङ्ग्याए। ठगीको रकम फिर्तामा उनले कोटीहोमको रकम दुरुपयोग गरेको आरोप लाग्यो।
अर्का पात्र श्रीनिवास आचार्य साम्प्रदायिक सद्भाव खलबल्याउने आपराधिक गतिविधिमा संलग्न भएर कानुनी कारबाही भोगिसकेका व्यक्ति हुन्।
२०७५ सालमा उनीमाथि गोली प्रहार भएको घटना सार्वजनिक भयो। प्रहरी अनुसन्धानमा उनले आफैँ योजना बनाएर आफैँलाई गोली हान्न लगाएको खुलेको थियो। त्यसको उद्देश्य साम्प्रदायिक हिंसा भड्काउने प्रहरी अनुसन्धानमा देखिएको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गर्यो। अनुसन्धानमा हिन्दु राष्ट्रको आन्दोलन चर्काउन उनले आफ्नै योजनामा माधव चौधरीलाई आफूलाई गोली हान्न लगाएको खुलेपछि हातहतियार तथा खरखजना कसुरमा मुद्दा चलाइएको थियो।
उनी गौहत्या गर्नेलाई मार्ने धम्कीपूर्ण भाषण दिएको आरोपमा २०८० असोजमा सुनसरीमा पक्राउ परेका थिए। २०८० फागुनमा दुर्गा प्रसाईँको नेतृत्वमा भएको प्रदर्शनमा उनी सार्वजनिक शान्तिविरुद्धको कसुरमा समातिएका थिए।
भदौ २३, २०८३ मंगलबार २१:०८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।