सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं : सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १:०० बजे र राष्ट्रियसभाको बैठक १:१५ बजे सुरु हुनेछ।
आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुईवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। जसमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ रहेका छन्।
साथै, अर्थमन्त्री डा. वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नुहुनेछ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। बैठकमा सभामुखले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
उता राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुनेछ।
यसैगरी, प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
उक्त प्रस्तावमाथि सभामा छलफल गरी आजै पारित गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
भदौ २५, २०८३ बिहीबार ०७:३८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।