जेनजी आन्दोलनले 'खरानी' बनाएको देशको तीन खम्बा

जेनजी आन्दोलनले 'खरानी' बनाएको देशको तीन खम्बा

गत वर्षको भदौ २३ गते बिहान ९ बजे आसपास काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताका युवायुवतीहरू स्वतःस्फूर्त जम्मा भए। उनीहरूको सामूहिक माग थियो— तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हट्नुपर्ने तथा बढ्दो भ्रष्टाचार र अव्यवस्थाको अन्त्य हुनुपर्ने।

शान्तिपूर्ण रूपमा सुरु भएको त्यो प्रदर्शन नयाँ बानेश्वर प्रवेश गर्दागर्दै तनावग्रस्त बन्यो। प्रदर्शनको स्वरूप फेरिएर उग्र बन्दै जाँदा संसद् भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाट प्रदर्शनकारीतर्फ अत्यधिक बल प्रयोग भयो। पानीको फोहोरा हानियो, लाठीचार्ज भयो र अश्रुग्यास प्रहार गरियो।

त्यति गर्दा पनि भीड तितरबितर नभएपछि अन्धाधुन्ध गोली बर्साइयो। क्षणभरमै बानेश्वरको सडक रक्ताम्मे भयो। १९ जना युवाको घटनास्थलमै ज्यान गयो, कयौँ गोली लागेर गम्भीर घाइते भए। भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा मुलुकभर कुल ७७ जनाले ज्यान गुमाए।

भदौ २३ को प्रदर्शनका क्रममा भएको मानवीय क्षतिको आक्रोशले दोस्रो दिनको आन्दोलन ध्वंसात्मक बन्यो। त्यसपछि मानवीयसँगै ठूलो भौतिक क्षतिसमेत हुन पुग्यो। देशभरिका अधिकांश सरकारी निकाय र निजी संरचनाहरूमा तोडफोड र आगजनी भयो। त्यस क्रममा प्रदर्शनकारीको प्रमुख निसानामा राज्यका तीन प्रमुख अङ्ग— संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत परे।

७७
भदौ २३ र २४ गतेको प्रदर्शनमा मुलुकभर ज्यान गुमाउनेको संख्या
१९
बानेश्वरमै गोली लागेर घटनास्थलमा मृत्यु भएकाको संख्या
२,१३४
आगजनीको सिकार बनेका राज्यका प्रमुख अङ्ग
राज्यको पहिलो अङ्ग

संघीय संसद् भवन

क्षति: ३ अर्ब १५ करोड रुपैयाँ बराबर, पुनर्निर्माण गर्नै नसकिने अवस्थामा
भदौ २४ मा नयाँबानेश्वरमा रहेको संसद भवनमा भएको आगजनी।
आगजनीपछि संसद भवनमा भएको क्षतिपछिको अवस्था
संसद भवनको रुपमा प्रयोग गरिएको प्रदर्शनी केन्द्रको वर्तमान अवस्था

नयाँ बानेश्वरस्थित संसद् भवन आगजनीबाट पूर्ण रूपमा ध्वस्त भयो। दुईवटा प्रमुख बैठक कक्ष, दुवै सभाका सभाध्यक्ष, प्रधानमन्त्री, विपक्षी दलका नेता, संसदीय दलका प्रमुखहरूको कार्यकक्ष, सचिवालयका पदाधिकारीहरू एवम् कर्मचारीहरूका कार्यकक्ष, अन्य बैठक तथा कार्यक्रम हलहरू केही पनि जोगिएनन्; कुनै भौतिक संरचना सग्लो रहेन।

त्यति मात्र होइन, बैठक सञ्चालनका लागि प्रयोग हुने सम्पूर्ण प्राविधिक प्रणाली नष्ट भए। अडियो तथा भिडियो कन्फरेन्सिङ सिस्टम, युट्युब लाइभ प्रसारणका लागि प्रयोग हुने मास्टर कन्ट्रोल रुम (एमसीआर), र न्युज च्यानल तथा न्युज एजेन्सीहरूले प्रत्यक्ष रेकर्डिङ गर्ने मिडिया सेन्टर खरानी भए।

कम्प्युटर, मनिटर, डेस्कटप, सर्भर, क्यारेक्टर जेनरेटर मेसिन, व्यक्तिगत ल्यापटप, ट्याब्लेट तथा कार्यालयका अन्य फर्निचर र सामग्रीहरू समेत जलेर नष्ट भए। राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार बानेश्वरस्थित संसद् भवन जल्दा ३ अर्ब १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। यो भवन हाल पुनर्निर्माण गर्नै नसकिने अवस्थामा पुगेको छ।

राज्यको दोस्रो अङ्ग

सिंहदरबार

क्षति: १ अर्ब रुपैयाँभन्दा बढी, मूल भवनमा हाल पुनर्निर्माण जारी
भदौ २४ मा जलिरहेको सिंहदरबार
भदौ २४ मा आगोले क्षति पुर्याएको सिंहदरबार
पुनर्निर्माण चलिरहेको सिंहदरबारको हालको अवस्था

सिंहदरबारको प्रमुख प्रशासनिक भवनको मुख्य भाग अर्थात् पश्चिमी मोहडा पनि आगजनीमा ध्वस्त भयो। अंग्रेजी 'सी' आकारमा रहेको मूल भवनसँगै वरिपरीको भाग जलेर मानिस जानै नसक्ने गरी जोखिमपूर्ण बन्यो।

१२० वर्षभन्दा पुरानो मूल भवनभित्र रहेको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको 'स्टेट हल' सँगै मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय र बैठक कक्ष पूरै जल्यो। त्यहाँ रहेका ऐतिहासिक फर्निचर, कम्प्युटर, सीसीटीभी, टेलिफोन, आईटी, बिजुली बत्ती, सुरक्षा प्रणाली तथा अति महत्त्वपूर्ण र ऐतिहासिक दस्तावेजहरू जलेर नष्ट भए।

पुरातात्त्विक र सम्पदाको क्षतिको मूल्याङ्कनबाहेक सिंहदरबारको मूल भवनमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षति भएको छ। सिंहदरबारको मूल भवनमा हाल पुनर्निर्माणको काम चलिरहेको छ।

राज्यको तेस्रो अङ्ग

सर्वोच्च अदालत

क्षति: १ अर्ब २३ करोड ६२ लाख ३८ हजार, २३,८४३ मिसिल नष्ट
जेनजी आन्दोलनताका भदौ २४ मा जलाइएको सर्वोच्च
जेनजी आन्दोलनमा जलेपछिको सर्वोच्च अदालतको मुल भवन।
जेनजी आन्दोलनको एक वर्षपछि सर्वोच्च अदालतको अहिलेको अवस्था

सर्वोच्च अदालतको मुख्य भवनसँगै हजारौं नागरिकको न्यायसँग जोडिएका महत्त्वपूर्ण कागजात र मिसिलहरू पनि आगोले खरानी बनाइदियो। आगजनीबाट सर्वोच्च अदालतका करिब ८५ प्रतिशत महत्त्वपूर्ण मिसिलहरू जलेर नष्ट भए।

सर्वोच्च अदालत परिसरमा रहेका सवारी साधन, इजलास, न्यायाधीश तथा कर्मचारीका च्याम्बर, महत्त्वपूर्ण फाँटहरू, अभिलेख शाखा र पुस्तकालय सबै जले। सर्वोच्च अदालतले आफ्नो आधिकारिक वेबसाइटमार्फत जारी गरेको सूचनाअनुसार २३ हजार ८ सय ४३ वटा मुद्दाका मिसिलहरू पूर्ण रूपमा नष्ट भएका छन्।

अदालतको आफ्नै तथ्याङ्कअनुसार यस आगजनीबाट कुल १ अर्ब २३ करोड ६२ लाख ३८ हजार ५२ रुपैयाँ ५० पैसा बराबरको क्षति भएको छ। हाल नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा रहेकाले पुरानो जलेको सर्वोच्चको भवन भने अझै जस्ताको तस्तै देखिन्छ।

भदौ २३, २०८३ मंगलबार १७:१४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।