चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिमको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, मधेशसहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि मध्यम वर्षा हुनसक्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थान तथा तराई र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने विभागले जनाएको छ।
भदौ २५, २०८३ बिहीबार ०७:०६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।