एनपीएल हेर्न ४ सय रुपैयाँ तिरेपछि विज्ञापन नबज्ने, लाइभ रोकिए जरिबाना तिराएर युट्युबमै फ्री देखाइने!

एनपीएल हेर्न ४ सय रुपैयाँ तिरेपछि विज्ञापन नबज्ने, लाइभ रोकिए जरिबाना तिराएर युट्युबमै फ्री देखाइने!

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन आउँदै गर्दा नेपाली क्रिकेटको डिजिटल बजारमा फेरबदल भयो।

खुला प्रतिस्पर्धामा भारतबाहेक विश्वभरको विशेष ओटीटी (इन्टरनेट स्ट्रिमिङ) अधिकार ‘नेटटिभी’ ले १८ करोड ४ लाख रुपैयाँ मा हात पारेको छ।

यसअघि पहिलो सिजनदेखि नै टिकटको जिम्मा ‘खल्ती’ ले र दोस्रो सिजनमा टेलिभिजन कान्तिपुर तथा ओटीटी डिसहोम मिडियाको ‘डिगो’ ले पाएका थिए।

तर, यसपटक सबै क्षेत्रमा नयाँ अनुहार आएका छन्- टिकट बिक्रीको जिम्मा ‘इ-सेवा’ ले पाएको छ, टेलिभिजन प्रत्यक्ष प्रसारणको अधिकार ‘हिमालयन स्पोट्र्स’ ले जितेको छ भने मोबाइल र इन्टरनेटमा देखाउने अधिकार नेटटिभीको पोल्टामा पुगेको छ।

मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा नेटटिभीमार्फत एनपीएल हेर्ने दर्शकका लागि क्यानले टेन्डर डकुमेन्टमै कडा र दर्शक-मैत्री सर्तहरू राखेको छ।

एनपिएल टी-२० फर्म्याटमा खेलाइनेछ, जसमा ८ वटा टिम भिड्नेछन्। प्रतियोगिताभर कुल ३२ खेल हुनेछन् र सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछन्।

दर्शकले कति तिर्नुपर्छ?
कम्पनीले मनपरी शुल्क उठाउन नपाओस् भनेर क्यानले नै अधिकतम शुल्क तोकिदिएको छ।

जस अनुसार नेपालभित्र सम्पूर्ण लिग अवधिभरका लागि दर्शकले अधिकतम ४०० रुपैयाँ मात्र तिर्नुपर्नेछ भने खाडी मुलुक र एसियामा रहेका नेपालीहरूले बढीमा ६०० रुपैयाँ तिर्नुपर्नेछ।

त्यसैगरी युरोप, अमेरिका र अस्ट्रेलियाका दर्शकका लागि अधिकतम १० अमेरिकी डलर  शुल्क तोकिएको छ।

पैसा तिरेपछि विज्ञापन हेर्नुपर्छ कि पर्दैन?
दर्शकका लागि सबैभन्दा ठूलो राहतको विषय यही हो। सामान्यतया टेलिभिजनमा ओभर सकिनासाथ विज्ञापन बज्छ।

तर, नेटटिभीमा पैसा तिरेर हेर्ने दर्शकले ‘क्लिन फिड’ हेर्न पाउनेछन्। खेल चलिरहेको बेला लाइभ स्ट्रिमिङभित्र कुनै पनि जबर्जस्ती विज्ञापन बजाउन पूर्ण रूपमा रोक लगाइएको छ।

एप खोल्दा वा बन्द गर्दा देखिने ब्यानर र स्प्लास विज्ञापन मात्र कम्पनीले राख्न पाउनेछ, त्यो पनि प्रतियोगिताभर बढीमा ५ वटा ब्रान्डको मात्र।

गुणस्तर कस्तो हुन्छ?
कम्पनीले खेलको प्रसारण न्यूनतम एचडी र फोरके गुणस्तरमा दिनुपर्नेछ।

खेल हेर्दा भिडियो अड्किने समस्या नहोस् भन्नका लागि प्रतियोगिता सुरु हुनुभन्दा २ हप्ताअगावै कम्पनीले आफ्नो सर्भर क्षमता, इन्टरनेट ब्यान्डविथ र लोड धान्न सक्ने प्राविधिक पूर्वाधार क्यानलाई देखाएर पास गराउनुपर्नेछ।

स्ट्रिमिङको निरन्तरता कम्तीमा ९९.९ प्रतिशत भरपर्दो हुनुपर्नेछ।

लाइभ बिग्रिए वा रोकिए के हुन्छ?
यदि प्राविधिक गडबडीका कारण नेटटिभीमा कुनै खेलको प्रत्यक्ष प्रसारण रोकियो वा अवरुद्ध भयो भने कम्पनीले क्यानलाई क्षतिपूर्तिबापत प्रतिखेल १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

साथै, पैसा तिरेका दर्शक मर्कामा नपरून् भनेर क्यानले तत्काल खेललाई आफ्नो आधिकारिक युट्युब च्यानलबाट निःशुल्क लाइभ गरिदिने अधिकार सुरक्षित राखेको छ।

भुक्तानी कसरी गर्ने?
नेपालभित्रका दर्शकले इसेवा, खल्ती, फोनपे, आईएमई पे र बैंक कार्डहरूबाट सजिलै भुक्तानी गर्न सक्नेछन् भने विदेशमा रहेका नेपालीहरूले भिसा, मास्टरकार्ड, पेपाल वा स्ट्राइपमार्फत पैसा तिर्न सक्ने व्यवस्था अनिवार्य गरिएको छ।

कति पैसा उठ्यो, क्यानले सिधै हेर्ने
क्यानले १८ करोड ४ लाख रुपैयाँ ग्यारेन्टी रकमका रूपमा नेटटिभीबाट सुरक्षित गरिसकेको छ।

तर, दर्शकबाट कति रकम उठ्यो, कति जनाले हेरे भन्ने सम्पूर्ण हिसाबकिताब पारदर्शी बनाउन क्यानलाई नेटटिभीले ‘एडमिन ड्यासबोर्ड’ को पहुँच दिनेछ। खेल सकिएको २ घण्टाभित्रै सम्पूर्ण विवरण क्यानमा पेस गर्नुपर्नेछ।

एउटा लगइन कतिवटा डिभाइसमा?
एक लगइनबाट कतिवटा स्क्रिन (मोबाइल, टिभी, ट्याब्लेट) मा एकैपटक चलाउन दिने भन्ने निर्णय अधिकार क्यानले सम्झौतामार्फत सेवा प्रदायक (नेटटिभी) कै नीति र प्राविधिक प्रणालीमा छोडेको छ।

सामान्यतया यस्ता खेलकुद इभेन्टहरूमा पासवर्ड सेयरिङ रोक्न र आम्दानी सुरक्षित गर्न १ देखि बढीमा २ वटा डिभाइसमा मात्र एकैपटक हेर्न मिल्ने सीमा राखिन्छ।

कभन्दा बढी डिभाइसमा लगइन गरेर एकैपटक खेल हेर्न खोजे पुरानो डिभाइसबाट स्वतः ‘लगआउट’ हुने वा नयाँ डिभाइसमा ‘स्ट्रिमिङ इरर’ देखाउने सम्भावना रहन्छ।

भदौ २३, २०८३ मंगलबार १३:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।