होल्डिङ सेन्टरमा बसिरहेका भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न  सरकारद्वारा सर्वेक्षण सुरु

होल्डिङ सेन्टरमा बसिरहेका भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न  सरकारद्वारा सर्वेक्षण सुरु

काठमाडौं : भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई उनीहरुको इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्थापन गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।

आपतकालीन अवस्थामा तत्कालका लागि होल्डिङ सेन्टरमा राखिएका प्रभावित परिवारहरूलाई आउँदो केही हप्ताभित्रै छुट्टाछुट्टै अस्थायी बसोबासको प्रबन्ध मिलाउने उद्देश्यले यो सर्वेक्षण थालिएको हो।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मङ्गलबारदेखि प्रभावित जिल्लाहरूमा प्राविधिक टोली खटाएको छ। टोलीले डिजिटल प्रविधि 'कोबो टुलबक्स'  प्रयोग गरी 'आवश्यकता मूल्याङ्कन फारम' मार्फत तथ्याङ्क सङ्कलन गरिरहेको छ।

यस सर्वेक्षणबाट प्रभावित परिवारको विवरणका साथै घरको क्षतिको अवस्था, परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रयस्थल वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उपयुक्त विकल्प तथा खानेपानी र सरसफाइको आवश्यकताबारे तत्काल जानकारी प्राप्त हुने बताइएको छ।

हाललाई होल्डिङ सेन्टरमा रहेका परिवारहरूको प्राथमिकता र आवश्यकता पहिचान गरी सरकारको कार्ययोजना कार्यान्वयन गर्न यो तथ्याङ्क उपयोगी हुनेछ। टोलीले एक हप्ताभित्र होल्डिङ सेन्टरको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

होल्डिङ सेन्टरको काम सकिएलगत्तै सेन्टरभन्दा बाहिर (आफन्त वा अन्यत्र) बसोबास गरिरहेका बाढी प्रभावित परिवारहरूको पनि यही फारम प्रयोग गरी सर्वेक्षण गरिने विभागले जनाएको छ।

भदौ २४, २०८३ बुधबार १७:२७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।