बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएर मात्र कक्षा सञ्चालन गर्न शिक्षा विभागको निर्देशन

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएर मात्र कक्षा सञ्चालन गर्न शिक्षा विभागको निर्देशन

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित विद्यार्थीहरूका लागि नियमित पठनपाठन सुरु गर्नुअघि अनिवार्य रूपमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन शिक्षा विभागले निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले एक पत्र जारी गर्दै स्थानीय तह र सम्बन्धित विद्यालयहरूलाई सो निर्देशन दिएको हो।

बाढीका कारण विद्यार्थीहरूमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ । 

यस प्रक्रियाका लागि स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूसँग समन्वय गर्न विद्यालय तथा स्थानीय तहहरूलाई आग्रह गरिएको छ। परामर्श पश्चात् सुरक्षित र बालमैत्री वातावरण तयार पारेर मात्रै पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको छ।

बाढीका कारण विद्यार्थीहरूको सिकाइमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्न सुरक्षित तथा बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्न पनि विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ। विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको हो।

भदौ २४, २०८३ बुधबार १६:४०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।