रास्वपा सभापति रविले संसदमा भने : विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने अन्ध-समर्थक चाहिएकै छैन

रास्वपा सभापति रविले संसदमा भने : विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने अन्ध-समर्थक चाहिएकै छैन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका कसैले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने काममा संलग्न देखिएमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्ता व्यक्ति विरुद्ध विज्ञप्ति निकाल्ने मात्रै नभई कडा कार्वाही गर्न सरकारसँग माग गर्दै भने “विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन।”

उनले भोटेकोशी बाढीको प्रसंगमा अकल्पनीय विध्वंसमा सर्वस्व गुमाएका र मृत्युसँग पौठेजोरी खेलिरहेका नागरिकबाट राज्यमाथि आक्रोश पोखिनु स्वाभाविक रहेको बताए।

आफन्तको सास खोजिरहेकाहरूलाई सरकारले सम्पूर्ण स्रोतसाधन परिचालन गरेको छ कि छैन ? सेना र प्रहरी मृत्यु-सुरुङको कति गहिराइसम्म पुगेका छन् भन्ने पक्षले सान्त्वना नदिने बताए।

“उनीहरूलाई त केवल एउटै कुरा चाहिएको हुन्छ, प्रियजनको सास बाँकी छँदै राज्य त्यहाँ पुगिदेओस्, उद्धार गरिदेओस्! यो आस निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नैसर्गिक अधिकार हो।”

उनले सरकारका सबै संयन्त्र, नेतृत्व पङ्क्ति र पार्टी सदस्यहरूलाई मानिस गहिरो चोटमा परेको बेलामा भगवानलाई समेत सराप्ने भन्दै यसमा सरकार र रास्वपा केही नभएको बताए।

“नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामी प्रतिको अपेक्षा र राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नुपर्छ। त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो। उनीहरूको अवस्था र मनस्थितिलाई सहानुभूतिका साथ महसुस गर्नु हाम्रो दायित्व हो” उनले सम्बोधनमा भने।

उनले संसद्को रोस्टमबाट सरकार र दलका शुभेच्छुकहरूलाई महाविपद्को समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक-चौतारामा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य काम बन्द गर्न आग्रह गरे।

पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने, त्यसको विरुद्ध हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति निकाल्ने मात्र नभई राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने नागरिकले महसुस गर्ने गरी देखाउने भएको भन्दै त्यो देखाउन सरकारलाई आग्रह गरे।

“राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध-समर्थक चाहिएकै छैन। हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ” उनले भने।

नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको र यदि पार्टीको कुनै पनि तहको सदस्य, पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइए साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिने चेतावनी दिए।

भदौ २४, २०८३ बुधबार १६:१०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।