बानेश्वरको खण्डहरले सम्झाइरहेको ‘भदौ २४’

बानेश्वरको खण्डहरले सम्झाइरहेको ‘भदौ २४’

काठमाडौं : शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा घुसपैठ र राज्यशक्तिको चरम दुरुपयोग हुँदा २०८२ भदौ २३ गते प्रदर्शनस्थलमै १९ जनाले ज्यान गुमाए।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाको माग राखेर उठेको त्यो आवाज जब बिथोलियो, भोलिपल्ट अर्थात् भदौ २४ गते देशले कहिल्यै बिर्सन नसक्ने विध्वंसको चरम रूप देख्यो।

त्यो दिन बिहानैदेखि सडकहरू रणमैदानमा परिणत भइसकेका थिए। चारैतिर टायर बालिएका थिए, सवारीसाधनहरू ह्वारह्वारती जलिरहेका थिए। काठमाडौंको आकाशलाई धुवाँको बाक्लो कालो मुस्लोले पूरै ढाकेको थियो।

प्रहरी कार्यालयहरूमा अन्धाधुन्ध आक्रमण र आगजनी भइरहेको थियो भने देशभरका सरकारी तथा निजी संरचनासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूका घर प्रदर्शनकारीको सोझो निसानामा परेका थिए।

दिन ढल्दै जाँदा अराजकता झनै अनियन्त्रित बन्यो। जेल तोडेर सयौँ कैदीहरू फरार भए। राजधानीका विभिन्न प्रहरी कार्यालयमा निर्मम आक्रमण गरी हतियार लुटियो, केही सुरक्षाकर्मीको ज्यानसमेत गयो।

दिउँसो २ बजे : संसद्‌माथि सशस्त्र धावा र आगजनी
दिउँसो करिब २ बजेको आसपास लुटिएका हतियारसहित प्रदर्शनकारीको एउटा ठूलो समूह बानेश्वरस्थित संघीय संसद् भवनतर्फ सोझियो।

अत्याधुनिक हतियार र ठूलो संख्यामा उर्लिएको भीडको निरन्तरको आक्रमण थेग्न नसकेपछि सुरक्षाकर्मीहरू ज्यान जोगाउँदै पछि हट्न बाध्य भए। त्यसलगत्तै मुलुकको सार्वभौम संसद् भवन पूर्ण रूपमा प्रदर्शनकारीको नियन्त्रणमा पुग्यो।

तोडफोड मच्चाउँदै भित्र छिरेका अराजक समूहले पेट्रोल बम (पेट्रोलियम पदार्थयुक्त सिसाको बोतल) प्रहार गर्दै संसद्को मुख्य बैठक कक्षमा आगो झोसे। क्षणभरमै आगोको लप्का राष्ट्रिय सभाको बैठक कक्षसम्म फैलियो।

परिसरमा पार्किङ गरिएका दर्जनौँ सवारीसाधनहरू जलाइए। भवनबाट निस्किएको आगोको मुस्लो र कालो धुवाँले राजधानीको मुटु बानेश्वरलाई स्तब्ध बनायो।

ऐतिहासिक बृहत् शान्ति सम्झौतादेखि गणतन्त्र घोषणासम्मको साक्षी रहेको अनि नेपाली जनताका प्रतिनिधिले पहिलो पटक बनाएको ‘नेपालको संविधान २०७२’ जारी भएको त्यो ऐतिहासिक थलो आगोको ज्वालामा भष्म हुँदै गर्दा, बाहिर भने केही प्रदर्शनकारीहरू जोशिलो मुद्रामा नाच्दै-गाउँदै उत्सव मनाइरहेका देखिन्थे।

खरानीमा परिणत भएको आधुनिक प्रविधि
आगजनीबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्ष, दुवै सभाका सभाध्यक्ष, प्रधानमन्त्री, प्रमुख विपक्षी दलका नेता, संसदीय दलका प्रमुखहरूको कार्यकक्ष तथा सचिवालयका प्रशासनिक शाखाहरू पूर्ण रूपमा ध्वस्त भए।

बैठक सञ्चालनका लागि जडान गरिएका अत्याधुनिक अडियो तथा भिडियो कन्फरेन्सिङ सिस्टम, युट्युब लाइभ प्रसारणका लागि प्रयोग हुने मास्टर कन्ट्रोल रुम, न्युज एजेन्सीहरूले प्रत्यक्ष रेकर्डिङ गर्ने व्यवस्था भएको मिडिया सेन्टर, सर्भर, क्यारेक्टर जेनरेटर (सीजी) मेसिन, दर्जनौँ कम्प्युटर, ल्यापटप र महत्त्वपूर्ण प्रशासनिक कागजातहरू क्षणभरमै खरानीमा परिणत भए।

३ अर्ब १५ करोडको क्षति, पुनर्निर्माण असम्भव
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, बानेश्वरस्थित संघीय संसद् भवन जल्दा ३ अर्ब १५ करोड रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको छ।

सहरी विकास मन्त्रालयका प्राविधिकहरूको निष्कर्ष झनै कहालीलाग्दो छ- यो भवन अब प्रबलीकरण (रेट्रोफिटिङ) गरेर पनि प्रयोगमा ल्याउन सकिने अवस्था छैन। बाहिरबाट हेर्दा पिलर र संरचना ठिङ्ग उभिएको देखिए पनि आगोको उच्च तापका कारण भित्री संरचना पूरै गल्ने गरी नष्ट भइसकेको छ।

२०७२ को भूकम्पपछि सिंहदरबारको मूल संसद् भवन जीर्ण भएपछि सरकारले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद्का रूपमा प्रयोग गर्दै आएको थियो।चीन सरकारले करिब १ अर्ब १५ करोड रुपैयाँको लागतमा निर्माण गरी तीन दशकअघि नेपाललाई उपहार दिएको यो भव्य संरचना आज इतिहासकै क्रूर विध्वंसको स्मारक बनेको छ।

त्यो एक वर्ष पूरा भइसक्दा पनि सम्मेलन केन्द्र उस्तै विद्रूप र खण्डहर अवस्थामा छ। यसलाई पूर्ण रूपमा भत्काएर नयाँ बनाउने वा यही अवस्थामा छाड्ने भन्ने अन्यौल अझै कायमै छ।

भदौ २४ को विध्वंसको एक वर्षपछि, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको वर्तमान खण्डहर अवस्था हेर्नुहोस् यी तस्बिरहरूमा:

भदौ २४, २०८३ बुधबार १३:५९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।