एनपिएलको टिकट र प्रसारणमा ‘सेटिङ’ भत्कँदा क्यानले सिधै पायो ३३ करोड ५८ लाख !
काठमाडौं : नेपाल प्रिमियर लिगको प्रसारण र टिकटमा नेपाल क्रिकेट संघ क्यानका अधिकारीले गर्दै आएको मिलेमतो तेस्रो सिजनमा आएर भत्किएको छ। पहिलो सिजनदेखि नै एनपिएलको गभर्निङ काउन्सिलका अधिकारीले टिकट र अन्तर्राष्ट्रिय प्रसारणमा प्रतिस्पर्धा नगराई आफैँ जिम्मा दिँदै आएका थिए।
उकेराले पहिलो सिजनदेखि नै सार्वजनिक खरिद कानुन र प्रतिस्पर्धाविना नै एनपिएलमा भइरहेको आर्थिक चलखेलबारे प्रमाणसहित निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो।
दोस्रो सिजनमा ओटिटी र नेपालभित्र प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजनको चयनमा प्रतिस्पर्धा गराए पनि दुबैमा विवाद भएको थियो। ओटिटी विवाद अदालतसम्म पुगेको थियो। दोस्रो सिजनका लागि पनि नेपाल बाहिर प्रत्यक्ष प्रसारण र टिकटमा भने गभर्निङ काउन्सिलले प्रतिस्पर्धा गराएको थिएन।
तेस्रो सिजनमा टिकट, नेपालभित्र टेलिभिजनमा प्रत्यक्ष प्रसारण र ओटीटीमा प्रतिस्पर्धा गराउँदा दोस्रो सिजनसम्म पकड जमाएका तीनवटै एजेन्सी बदलिए।
तेस्रो सिजनको ओटीटीको ठेक्काको टेन्डर डकुमेन्टमा टेन्डर पाउने स्थानमा पहिल्यै डिस होम मिडियाको नाम राखिएको थियो। सोमबार सार्वजनिक भएको विवरणमा ओटीटी अधिकार नेटटिभि प्रालीले पायो। नेपालभित्र प्रसारण गर्ने टेलिभिजन राइट्स हिमालयन स्पोर्टस्ले पायो भने टिकट विक्रीको अधिकार इ-सेवाले पायो।
यस अगाडि पहिलो सिजनदेखि नै प्रतिस्पर्धाविना नै टिकटको जिम्मा खल्तीले पाइरहेको थियो। दोस्रो सिजनमा टेलिभिजन प्रसारणको अधिकार कान्तिपुरले पाएको थियो भने ओटिटी डिसहोम मिडियाको डिगोले पाएको थियो।
सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको विवरण अनुसार नेटटिभीले आठ करोड चार लाख रूपैँयामा ओटीटीको अधिकार पाएको छ।
क्यानले पहिलो र दोस्रो सिजनमा प्रतिस्पर्धा नै नगरी टिकटको अधिकार पाएको खल्तीको ठाउँमा अब तेस्रो सिजनको टिकट विक्रीमा ईसेवा छनोट भएको छ। टिकेटको लागि सर्त सहित ८५ लाखमा सम्झौता भएको जानकारी दिएको छ। यसमा टिकेटबाट उठेको रकममध्ये क्यानले ९५ प्रतिशत र इसेवाले ५ प्रतिशत पाउनेछ।
त्यसैगरी, नेपाल भित्रको प्रसारणको अधिकार हिमालय टिभीले पाएको छ। यस अघि भएको (दोस्रो सिजन) को लागि क्यानले एनपीएलको नेपालभित्रको प्रसारण अधिकारका लागि सबैभन्दा बढी रकम प्रस्ताव गर्ने कम्पनीलाई पन्छाएर कम रकम प्रस्ताव गर्ने कान्तिपुर म्याक्सलाई दिएको थियो। सो निर्णयले क्यानलाई ७७ लाख रुपैयाँ घाटा लागेको थियो।
टेलिभिजनका लागि सुश्री मिडिया प्रालिले सबैभन्दा धेरै ३ करोड ७७ लाख रुपैयाँ (मूल्य अभिवृद्धि कर बाहेक) को प्रस्ताव पेस गरेको थियो। अन्य प्रतिस्पर्धीहरूमा कान्तिपुर टेलिभिजनले ३ करोड, एडी रिलिजले २ करोड ७५ लाख र हिमालयन टेलिभिजनले २ करोड ७१ लाख रुपैयाँको प्रस्ताव गरेका थिए।
गत वर्ष जम्मा २ करोड ७१ लाख प्रस्ताव गरेको हिमालयन टिभीले यस पटक सोही अधिकारका लागि १४ करोड ६४ लाख प्रस्ताव गर्यो र उसैले पायो।
सार्वजनिक प्रतिस्पर्धा गराउँदा ओटिटी, नेपालभित्र प्रसारण गर्ने टेलिभिजन र टिकटबाटै क्यानले तेस्रो सिजनमा ३३ करोड ५३ करोड आम्दानी गर्ने भएको छ। यसमा टिकट विक्री वापत थप ९५ प्रतिशत थपिने छ।
एनपिएलको तेस्रो सिजनको लाइभफिडबाट प्रसारण गर्न क्यानले सोमबारै टेन्डर आव्हान गरेको छ। यसको आधारमा अब नेपाल बाहिरको प्रसारणमा पनि अब एकलौटी निर्णय नगरी प्रतिस्पर्धाको आधारमा छानिने देखिन्छ।
क्यानले एनपिएलको पहिलो सिजनबाटै सार्वजनिक खरिद कानुन उलंघन गर्दै प्रतिस्पर्धा नै नगराई प्रसारणदेखि टिकटसम्मको जिम्मा दिने गरेको थियो। त्यस वापत कति आम्दानी भयो भन्ने समेत क्यानले सार्वजनिक गरेको छैन।
उकेराले पहिलो सिजनदेखि नै एनपिएलमा भइरहेको बदमासीदेखि सरोगेट विज्ञापनको रूपमा भित्र्याइएको अनलाइन बेटिङबारे समाचार प्रकाशन गर्दै आएको थियो।
तेस्रो सिजनमा आएर बल्ल क्यानले प्रसारणदेखि टिकटसम्ममा प्रतिस्पर्धा गराएर चयन गरेको छ। सरकारले नेपालमा अनलाइन बेटिङसम्बन्धी वेबसाइट र एपसमेत बन्द गराएकाले मिडिया पाट्नरको आवरणमा जुवा खेलाउने कम्पनी एनपिएलमा भित्रिने सम्भावना कम देखिन्छ।
एनपिएलको पहिलो र दोस्रो सिजन छानबिनमै
नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो सिजनमा आफू खुसी ठेक्का दिने र अनलाइन जुवा खेलाउने बेटिङ कम्पनीलाई मिडिया पाट्नरको आवरणमा खेलमा भित्र्याउने क्यानको एनपिएल गभर्निङ काउन्सिलको गतिविधिबारे जारी अनुसन्धान अझै टुंगिएको छैन। पहिलो सिजनमा विज्ञापनदेखि टिकट विक्री र प्रसारणको जिम्मा प्रतिस्पर्धा नै नगराई दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै छानबिन खेलकुद मन्त्रालय पुगेको थियो।
मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद्ले गरेको छानबिनले अनियमितता देखिएको भन्दै थप छानबिन गर्न सिफारिस गरेको थियो। अनुमति नलिई विज्ञापन गरेको भन्दै नेपाल विज्ञापन बोर्डले एनपिएलसँग जोडिएको ब्रान्ड लजिक र टिसिएमलाई नेपालमा तीन महिना प्रतिबन्ध लगाएको थियो।
दोस्रो सिजनमा आएर टिकट विक्री र अन्तर्राष्ट्रिय प्रसारणमा उस्तै एकाधिकार शैली अपनाइयो। नेपालभित्रका लागि ओटिटी र टेलिभिजनको प्रसारण अधिकारका लागि टेन्डर गरियो तर झारा टार्ने गरी। सार्वजनिक खरिद सम्बन्धी कानुन पालना नगरी भएको टेन्डरबाट ओटिटी र टेलिभिजन अधिकार जसले पायो ती पनि विवादित भयो।
दोस्रो सिजनमा अनलाइन जुवालाई उस्तैगरी मिडिया पाट्नर बनाएर ल्याएको क्यानले ड्रिङकिङ पाट्नरको आवरणमा रक्सी उत्पादन गर्ने कम्पनीको सरोगेट विज्ञापन गर्दा थप विवादमा तानियो। विज्ञापनको काम क्यान आफैँले गरे पनि भ्याट छली गरेको सार्वजनिक भएपछि छानबिन सुरु भयो। खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले सबै डकुमेन्ट मागेर छानबिन सुरु गरेको थियो। दोस्रो सिजनको छानबिन पनि टुंगिएको छैन।
दुवै सिजनको डकुमेन्ट माग्दै उकेराले क्यानमा सूचनाको हक अन्तर्गत निवेदन दिए पनि क्यानले कागजपत्र उपलब्ध गराएको छैन। पहिलो सिजनबारे उकेराले मागेको कागजपत्र दिनु नपर्ने भन्दै क्यानले सूचना आयोगमा दिएको जवाफमा आयोगले दिनु पर्ने निर्णय गरेको थियो। तर क्यानले अझैँ उपलब्ध गराएको छैन। दोस्रो सिजनबारे उकेराले दिएको निवेदन पनि कार्यान्वयन भएको छैन।
भदौ २२, २०८३ सोमबार १८:४३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।