पशुपतिनाथमा जनैपूर्णिमा : बागमतीको घाटमा तागाधारी र रक्षाबन्धन बाँध्नेको भीड (तस्बिरहरू)
काठमाडौं : वैदिक सनातन धर्मावलम्बीहरूको महान् पर्व जनैपूर्णिमा (ऋषितर्पणी) तथा रक्षाबन्धनको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको घुइँचो लागेको छ।
श्रावण शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्वमा विधिपूर्वक जनै फेर्ने र हातमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ। आज पशुपतिनाथ परिसर र बागमती नदी किनारका घाटहरूमा भक्तजनहरूको बाक्लो उपस्थिति छ।
एकदिन अघिदेखि नै एक छाक खाएर चोखोनीतो बसेका ‘तागाधारी’ समुदायका पुरुषहरूले बिहानै स्नान गर्ने गर्छन्। केहीले कपाल मुण्डन गराइरहेको र कतिपयले नदीको धमिलो भेलमै उभिएर अञ्जुलीमा जल भरि सूर्य तथा ऋषिहरूलाई तर्पण (जल अर्पण) गरिरहेको दृश्य पशुपतिमा देखियो।

स्नानपछि पुरानो जनै विसर्जन गरी नयाँ जनै लगाउने वैदिक विधान छ। पशुपतिनाथका ढुङ्गे सिँढीहरूमा पण्डित र पुरोहितहरू जनै, कुश, रातो अबिर र पूजाका सामग्रीसहित बसेका छन्।

हातले विधिपूर्वक जनैको धागोलाई बाटिरहेको र मन्त्रोच्चारण गर्दै तयार पारिरहेको देख्न सकिन्छ। यसरी तयार पारिएको मन्त्रिएको जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागो मानेर भक्तजनहरूले धारण गरेका छन्।

जनैपूर्णिमाको अर्को महत्त्वपूर्ण पाटो रक्षाबन्धन हो। पशुपतिनाथको प्राङ्गण र सिँढीहरूमा लहरै बसेका पण्डितहरूबाट भक्तजनले आफ्नो दाहिने नाडीमा पहेँलो र रातो रङको धागो (डोरो) बाँधिरहेका छन्।

पुरोहितहरूले मन्त्र पढ्दै बालकदेखि वृद्धसम्मको हातमा रक्षासूत्र बाँधिदिएको दृश्य पशुपतिमा देखिएको छ। विधिपूर्वक मन्त्रिएको यो डोरो बाँध्नाले वर्षभरि नकारात्मक तत्त्वबाट रक्षा हुने र सुखशान्ति मिल्ने जनविश्वास छ।

मन्दिर परिसरमा रहेका पुरोहित, भक्तजन र धार्मिक अनुष्ठानले पशुपति क्षेत्रको माहोललाई पूर्ण रूपमा आध्यात्मिक बनाएको छ।







भदौ १२, २०८३ शुक्रबार ११:११:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।