‘चमत्कार’को आशमा अस्पतालको बेडमा अड्किएको दौलतको जीवन

‘चमत्कार’को आशमा अस्पतालको बेडमा अड्किएको दौलतको जीवन

२०८२ भदौ २३ र २४ गते। नेपालको इतिहासमा छोटो समयमै अकल्पनीय घटनाक्रमका साथ नेपाली राजनीतिको दिशा बदलिएको दिन। त्यसले नेपालको इतिहासमा पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री सरकारी निवासबाट हेलिकप्टरमा उम्किनु पर्यो। देशको रक्षाको जिम्मेवारी पाएको नेपाली सेना निरीह बन्यो। युवाको कोख र छातीमा इन्सासका गोली त लाग्यो नै देशका प्रमुख संरचना दनदन बल्दा देशको राजधानी काठमाडौं युद्धभूमी बराबर बन्यो।

आज त्यही दिनको एक वर्ष। यो एक वर्षमा प्रभावशाली मानिएका नेपाली कांग्रेस अनि एमाले निरीह बने, राष्ट्रिय स्वतन्त्र पार्टी अकल्पनीय जनमतका साथ प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बन्यो। अनि स्वतन्त्र उम्मेदवारको रूपमा स्थानीय राजनीतिमा होमिएका र्यापर बालेन शाह तीन वर्षमै देशको शक्तिशाली प्रधानमन्त्री बने।

पात्रो बदलिएर २०८२ भदौ २४ बाट २०८३ भदौ २३ भइसक्यो। तर ३२ वर्षका दौलत थापा अनि उनको श्रीमती यमकलाको जीवनको सुई भने त्यही २०८२ भदौ २४ मा अड्किएको छ।

📊 दौलतको एक वर्ष: अङ्कहरूमा संघर्षको कथा
११ लाख सुरुमै भएको उपचार खर्च (जेनजी सूचीमा नपरुन्जेल)
१6 दिन मध्यपुरबाट वीर अस्पताल रिफर हुँदाको समय
१७ दिन भेन्टिलेटरमा बिताएको समय
५ महिना जेनेरल वार्डमा सारिएको अवधि
१ वर्ष अझै अचेत रहेको समय

भदौ २३ को आन्दोलनको जगमा सुशीला कार्की नागरिक सरकारको प्रमुख बनेको पनि थाहा पाएका छैनन् दौलतले। न त ‘शहीद’ भएका साथीहरूको अन्तिम बिदाइमा श्रद्धाञ्जलीसम्म दिन नआएका व्यक्ति यो देशको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनेको नै थाha छ उनलाई।

देशमा फटाफट भइरहेको परिवर्तनसँग बेखवर दौलत अस्पतालको शैयामा अचेत छन् भदौ २४ देखि नै। देशको राजनीतिक घटनाक्रमले जति घुम्ती र मोड पार गरे पनि दौलत र उनका परिवारको जीवन भने अस्पतालको बेडमा अड्किएको अड्कियै छ।

दिनचर्या उही अस्पतालको बसाई, पाइपबाट खाना र औषधी, पाइपबाट प्लास्टिकमा जम्मा भएका दिसा पिसाब सफा गरेर आँखा खुल्ने आशा। अस्पतालको शैयामा अनगिन्ती औषधि, पाइपहरुकाबीच यमकला ठकुरी सास चलेको तर शरीर नचलेको श्रीमान् हेरेर बसिरहेकी छिन्।

पाइपमा खकार अड्किदा आउने घ्यारघ्यार आवाज बाहेक उनले आफ्नो श्रीमानको आवाज नसुनेको पनि ठ्याक्कै एक वर्ष भयो। उनी श्रीमानलाई हेर्दै बेलाबखत भनिरहन्छिन् "बुढो उठ्नुस् न।" तर उनी उठेका छैनन्।

▲ अस्पतालको शैयामा अचेत अवस्थामा रहेका दौलत थापा। तस्बिर : मोनिका वाइबा/उकेरा
परिवारका लागि सबैभन्दा कठिन कुरा रोगसँग लड्नु मात्र होइन रहेछ। लामो समयसम्म के पो हुने हो भनेर बाँचूँ पनि उत्तिकै कठिन रहेछ,” दौलतको ठुटे कपाल सुमसुम्याउँदै यमकलाले उकेरासँग भनिन्।
  • दौलत कहिले उठ्लान् ?
  • कहिले बोल्लान्?
  • कहिले आफ्नो श्रीमती अनि कलिला सन्तानलाई चिन्न सक्लान्?
चिकित्सकको जवाफ आइसक्यो — "चमत्कार भयो भने मात्र।"

तर यमकलाले चिकित्सकको जवाफ स्वीकार गरेकी छैनन्। उनी दौलतलाई स्याहारेर २०८२ भदौ २४ बिहानकै अवस्थामा फर्काउन चाहन्छिन्। आफ्नो सन्तानलाई गृहकार्य सिकाउने बाबु बनाएर अस्पतालबाट ठमठम हिँडाएर डेरामा लैजान चाहन्छिन्।

त्यस दिनको चोट अनि अत्यास लाग्दो क्षण!

२०८२ भदौ २४ गते कर्फ्यु लागेको समयमा साँझ फोनमा कुरा भयो यमकलाको। उनले छिटो घर आउनु भनिन्। दौलत हिँड्दै दश बजेतिर ठिमीमा आइपुगे। उनी डेरामा आइपुग्दा सामान्य नै देखिएका थिए। उनी आन्दोलनमा गएको थाहा पाएपछि यमकलाले "किन आन्दोलनमा जानु भएको" भनेर कराइन् पनि।

त्यसको केही समयमै एक्कासि टाउको दुख्यो भनेर छटपटिन थाले उनी। बोल्दै गरेको श्रीमान् एक्कासि टाउको समातेर लगातार बान्ता गर्न थालेपछि उनी तर्सिन्।

"के भएको थियो ?"
"प्रहरीसँग अलिअलि झडप भएको थियो। अहिले बेस्सरी टाउको दुख्यो।"

त्यसपछि उनले श्रीमानलाई समातेर नजिकैको मध्यपुर ठिमी अस्पताल पुगिन्। त्यहाँ आवश्यक जाँचपछि उनको टाउकोको हड्डी फुटेर ब्रेनमा रगत जमेको देखियो।

"उहाँको टाउकोमा प्रहरीले लाठी हानेको रहेछ। गोली लागेर घाइतेको भएको भए बरु देखिन्थ्यो होला। तर लाठी लागेर भित्र टाउकोको हड्डी नै फुटेर पुरै ब्रेनमा रगत जमेको कसरी देख्नु," उनले सुनाइन्, "सिटिस्क्यान गरेर हेर्ने बित्तिकै डाक्टरले तत्काल अप्रेसन गर्नुपर्छ भन्नुभयो।"

भदौ २५, २०८२ बिहान २ बजे दौलतलाई अप्रेसन गर्न एनेस्थेसिया दिइयो। उनको टाउकोको देब्रे पट्टिको भागमा अप्रेसन भयो। पछि टाउकोको घाउको अवस्था हेर्नलाई सिटिस्क्यान गर्दा फेरि अर्को पट्टि पनि अप्रेसन गर्नु पर्ने देखियो। त्यसपछि देखि उनी बौरिएका छैनन्।

त्यस बेलासम्म उनी सरकारको जेनजी घाइतेको सूचीमा पनि समावेश भएका थिएनन्। जेनजी घाइतेको नि:शुल्क उपचार हुने कुरा थाहा पाउँदा परिवारको ११ लाख खर्च भइसकेको थियो।

गोली लागेर रगत बगाउँदै आउने घाइतेको अगाडि त उहाँलाई घाइते भन्ने नै भएन। अस्पतालमा पनि जेनजी घाइते दश जनाको नाम थियो। तर त्यसमा दौलत थापा लेखिएकै थिएन,” यमकला भन्छिन्, “हामीलाई त त्यसबेला जेनजी घाइते भन्यो भने झन् उपचार गर्न पनि नमान्ला भन्ने पो डर थियो।
▲ श्रीमान् दौलतको स्याहारमा खटिरहेकी यमकला ठकुरी। तस्बिर : मोनिका वाइबा/उकेरा
🏥 उपचारको घटनाक्रम: अस्पताल यात्राको टाइमलाइन
२०८२ भदौ २४ मध्यपुर ठिमी अस्पतालमा भर्ना र टाउकोको हड्डी फुटेको पहिचान।
२०८२ भदौ २५ बिहान २ बजे टाउकोको देब्रेपट्टि पहिलो अप्रेसन (एनेस्थेसिया दिएपछि अचेत अवस्था सुरु)।
१६ औँ दिन मध्यपुर अस्पतालबाट वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर।
पुनर्स्थापन केन्द्र बनेपास्थित मेरुदण्ड चोटसम्बन्धी पुनर्स्थापन केन्द्रमा फिजियोथेरापी (मोबाइल स्क्रोल गर्नेसम्म सुधार)।
केएमसी अस्पताल निमोनियाको कारण १७ दिन भेन्टिलेटरमा उपचार र हाल जनरल वार्डमा ५ महिनादेखि बसाइ।

पछि दौलतको मोबाइलमा उनले आन्दोलनको समयमा खिचेको फोटो, भिडियोसँगै देखिन्। मध्यपुरमा उपचार गर्दा स्वास्थ्यमा खासै सुधार नदेखेपछि अस्पतालले नै १६ औँ दिनमा वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गर्यो। बल्ल त्यहाँ यमकलाले अन्य जेनजी घाइतेहरू भेटिन्। अनि त्यसबेला साथमै रहेका साथीहरूबाट दौलतलाई कसरी चोट लागेको थियो भन्ने थाहा पाइन्।

ट्रमामा पुगेपछि भने सरकारले जेनजी घाइतेको कार्ड बनाइदियो। त्यसपछि भने उनको उपचारमा बाहिरी औषधि बाहेक अन्य खर्च गर्नु परेको छैन।

"ट्रमामा राखेको केही समय पछि आँखा चलाउने र हातहरू चलाउन सक्ने भए पछि नाकको एनजी, पिसाबको फोलिसहरु तानेर फाल्न लाग्नु भयो। उहाँलाई त्यसबेला पहिलो पटक दुखाई महसुस भएको डाक्टरले बताउनुभएको थियो," उनले भनिन्।

स्वास्थ्यमा केही सुधार देखिएपछि ट्रमाबाट फिजियोथेरापी गर्न बनेपास्थित मेरुदण्ड चोटसम्बन्धी पुनर्स्थापन केन्द्रमा पुर्याइयो। थेरापीपछि सुधार हुँदै गएका दौलतले बोल्न, हिँड्न नसके पनि एउटा हातले मोबाइल समाएर 'स्क्रोल' गर्न सकेका थिए रे।

बच्चाहरूलाई देखेर पनि खुसी भएको जस्तो देखिनु भएको थियो। मोबाइलमा लाइक गर्नेसम्म थाहा भएको थियो। त्यहाँ चिसो लागेर पछि एक्कासि ज्वरो आयो। धेरै गाह्रो भयो भने अक्सिजन चाहिन सक्छ भनेर फेरि ट्रमा नै पठाइदिनुभयो,” उनले भनिन्।

उनलाई निमोनिया समेत भएको देखियो। पछि फोक्सो सम्बन्धी डाक्टर छैनन् भनेर दौलतलाई केएमसी अस्पतालमा रिफर गरियो। त्यो बेलामा १७ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्न परेको थियो। नियमित अक्सिजन दिन नपरे पनि उनी पहिले घाइते हुँदाकै अवस्थामा पुगे। अहिले जनरल वार्डमा सारेको पाँच महिना भयो। बिचमा विदेश लगेर उपचार गर्ने कुरा पनि नभएको होइन। तर 'डाक्टरले नलागेकै ठिक' भन्ने सल्लाह दिएपछि यमकलाले लैजान्छु भन्ने आँट गर्न सकेकी छैनन्।

जबसम्म सास चल्छ, आस त हुने नै भयो। अब एक वर्ष भइसक्यो। चमत्कार कहिले होला!” उनले भनिन्।
▲ अस्पतालको शैयामा अचेत श्रीमान् दौलतको छेउमा उभिएकी यमकला ठकुरी। तस्बिर : मोनिका वाइबा/उकेरा

एक वर्ष देखिको एकोहोरो जीवन

एक वर्ष अघिसम्म ट्रक चालक रहेका श्रीमान् अचेत छन्। श्रीमानको साहुसँग लिनुपर्ने ८०/९० हजार सम्झिएर ऋण लिन थालेको यमकलाको ऋण लाखौँ भइसक्यो। एक वर्ष लामो स्याहारले उनको मन नथाके पनि शरीर त थकाइ नै भयो।

"अस्पतालमा सबै नि:शुल्क जस्तो भए पनि आउजाउदेखि लिएर फलफूल र बाहिरी औषधी किन्न खर्च हुन्छ नै। निकै गाह्रो भइरहेको छ," यमकला अलि निराश सुनिइन्।

▲ अचेत श्रीमान् दौलतलाई सुमसुम्याउँदै यमकला ठकुरी। तस्बिर : मोनिका वाइबा/उकेरा

पहिला उपचार गर्दा भएको खर्च स्वास्थ्य मन्त्रालय मार्फत फिर्ता दिने पहल भएको जेनजी घाइतेको समूहबाट सुनिन्। त्यही पैसा फिर्ता आए पनि ऋण तिर्न सजिलो हुने आस पलायो। तर अहिलेसम्म त्यो पनि फिर्ता पाएकी छैनन्।

सरकारले अति गम्भीर घाइतेको रूपमा दौलतको नाममा मासिक भत्ता दिइराखेको छ। तर भत्ता बाहेक जेनजी आन्दोलनको बलमा सत्तामा पुगेकाहरू भने फर्किएर हालखबर सोध्न आएका रहेनछन्। आन्दोलन लगत्तै केही महिना त सरकार र जेनजी नेता भनिनेहरूको लाइनै लागेको थियो रे अस्पतालमा। तर नयाँ सरकारका नयाँ सत्ताधारीको भने अनुहार देखेकी छैनन् रे।

बरु जेनजी घाइते भाइहरू आफूलाई गाह्रो भए पनि भेट्न आइराख्नु हुन्छ। त्यसबाहेक प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनलाई त भेट्न जाँदा भेट पनि हुँदैन,” उनी भन्छिन्, “जेनजी आन्दोलनमा आएका नआएका सबै आफ्नो ठाउँमा मन्त्री भए, हामीलाई मतलब नै नगर्ने रहेछन्। उहाँहरू प्रधानमन्त्री, मन्त्री हुनुभयो। हाम्रो परिवारको त जिन्दगी नै गयो।

भदौ २३, २०८३ मंगलबार ०२:११:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।