झाडापखाला र हैजाको जोखिम बढेपछि बाढी प्रभावित क्षेत्रमा पठाइँदै मुखबाट खुवाउने खोप

झाडापखाला र हैजाको जोखिम बढेपछि बाढी प्रभावित क्षेत्रमा पठाइँदै मुखबाट खुवाउने खोप

काठमाडौं : भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्र रसुवा, नुवाकोट लगायतका जिल्लामा हैजाको महामारी फैलिन नदिन खोप अभियान सुरु गर्न तयारी अघि बढाइएको छ।

विभागको निमित्त महानिर्देशकको डा. अनुजजंग भट्टचनका अनुसार २१ हजार ६ सय मात्रा मुखबाट खुवाइने हैजाविरुद्धको खोप बाढी प्रभावित क्षेत्र रसुवा पुर्याइएको छ। त्यसैगरी नुवाकोटमा मंगलबार ८० हजार मात्रा खोप पठाउने तयारी भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा झाडापखाला र हैजाको जोखिम हुने भएकाले तुरुन्तै शरीरमा काम गरेर झाडापखाला तथा हैजाबाट बचाउनका लागि हैजाविरुद्धको मुखबाट खाने खोप दिने तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। 

तर, विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले आइसीजी नामक अन्तर्राष्ट्रिय संस्थाले यो खोप निःशुल्क दिएको बताए। हैजाको जोखिम भएको क्षेत्रमा प्राथमिकताका आधारमा एक वर्षभन्दा माथिका सबैलाई खुवाउने योजना रहेको उनले बताए। 

हाल करिब एक लाख खोप रहेको विभागले जनाएको छ। पानी शुद्धीकरण गरेर मात्रै पिउन विभागको आग्रह छ।

दादुराको जोखिम रहेकाले दादुराको नमुना सङ्कलनका लागि २४ सेट किट वितरण भएको छ। नुवाकोट, रसुवा, धादिङ, भरतपुर, सिन्धुपाल्चोक र नवलपुरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग परिचालन गरिएको विभागले जनाएको छ।

भारत, नेपाल औषधि आयातकर्ता संघलगायतका २७ वटा दाता तथा साझेदार संस्थाबाट पाँच सय चार प्रकारका १८ लाख ९२ हजार दुई ९२ एकाइ औषधि तथा स्वास्थ्य सामग्री प्राप्त भएको र प्रभावित क्षेत्रमा पुर्याइरहेको विभागले जनाएको छ।

रसुवाका टिमुरे, स्याफ्रुबेसी, साइलुङ र रसुवागढीजस्ता स्वास्थ्य संस्थामा पूर्णरुपमा क्षति पुगेको जनाउँदै चरौडी बीएचसी र बैरेनी अस्पतालमा आंशिक क्षति पुगेको विभागले जनाएको छ।

विभागले २४ वटै होल्डिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरेर बाढी प्रभावित व्यक्तिमा विभिन्न रोगको जोखिमको निगरानी भइरहेको दाबी गरेको छ।

भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य सेवामा गम्भीर असर पुगेको विभागले जनाएको छ। 

बाढी गएको दिन नै स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको डा. भट्टचनको अध्यक्षतामा सङ्घीय द्रुत प्रतिकार्य समिति गठन गरेर विपतपछि सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना बनाएर काम गरेको विभागले दाबी गरेको छ।

विपद्पछिको जनस्वास्थ्य संकट रोक्नु सो योजनाको मुख्य लक्ष्य रहेको सोमबार विभागले आयोजना गरेको पत्रकार अन्तरक्रियामा बताइएको हो।
 

भदौ २२, २०८३ सोमबार २०:३४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।