‘घरमै महिला सुरक्षित नहुने समाज छ, होल्डिङ सेन्टरमा महिलाको सुरक्षामा संवेदनशील बन्नुपर्छ’

‘घरमै महिला सुरक्षित नहुने समाज छ, होल्डिङ सेन्टरमा महिलाको सुरक्षामा संवेदनशील बन्नुपर्छ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रमुख सचेतक क्रान्तिशिखा धितालले बाढीपहिरोपछि अस्थायी शिविर तथा होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका महिला र बालबालिकाको सुरक्षा, गोपनीयता र मर्यादाको सवालमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धितालले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पाँच जिल्लाका ४९ वडामा व्यापक क्षति पुगेको उल्लेख गरिन्। बाढीपछि सरकारी तथा सामुदायिक पहलबाट उद्धार गरिएका करिब ४ हजार नागरिक अहिले होल्डिङ सेन्टरहरूमा आश्रित रहेको उनको भनाइ थियो।

सांसद धितालले बाढी प्रभावित क्षेत्रमा दैनिक सेवन गर्नुपर्ने औषधि अभाव भएको, मरेका पशुचौपायाको उचित व्यवस्थापन नहुँदा महामारीको जोखिम बढेको र सञ्चार तथा विद्युत् सेवा अवरुद्ध हुँदा नागरिकहरू बाहिरी संसारसँग सम्पर्कविहीन भएको बताइन्।

‘उद्धारका नाममा थप असुरक्षा सिर्जना नहोस्’
विपद्पछिको सबैभन्दा संवेदनशील पक्ष महिला र बालबालिकाको सुरक्षा भएको उल्लेख गर्दै उनले भनिन्, ‘आफ्नै घरमा समेत महिलाको सुरक्षा चुनौतीपूर्ण हुने हाम्रो सामाजिक परिवेशमा अपरिचित व्यक्तिहरूसँग एउटै कोठा सेयर गर्नुपर्दा उनीहरूको अस्मिता र सुरक्षाको अवस्था कस्तो होला? उद्धारका नाममा हामीले कतै थप असुरक्षा त सिर्जना गरिरहेका छैनौँ?’

‘यूएन वुमन’को पछिल्लो तथ्यांक प्रस्तुत गर्दै उनले यस विपद्बाट देशभर करिब १ लाख ६० हजार महिला प्रभावित भएको जानकारी दिइन्।

विपद्को समयमा महिला तथा बालबालिकाहरू हिंसा, यौन शोषण र अतिरिक्त घरायसी बोझको उच्च जोखिममा पर्ने भएकाले राहत वितरण गर्दा उनीहरूको स्वास्थ्य, सुरक्षा र गोपनीयतालाई केन्द्रमा राख्नुपर्ने उनको जोड थियो।

राहत कोषको रकमबाट तत्काल अस्थायी आवास बनाउन आग्रह
सांसद धितालले नागरिकको स्वतःस्फूर्त सहयोगबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अरबौँ रुपैयाँ जम्मा भएको स्मरण गराउँदै सोही रकम तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवास बनाउन माग गरिन्।

‘सकेसम्म परिवारलाई छुट्टाछुट्टै नराखी एकै ठाउँमा बस्ने वातावरण बनाऔँ,’ उनले भनिन्, ‘उद्धार र राहतसँगै सामाजिक पुनर्स्थापनाको कामलाई तीव्रता दिँदै पीडितहरूलाई पुनः सम्मानपूर्वक आफ्नै खुट्टामा उभिन सक्ने अवस्थामा पुर्याउनु नै राहतको वास्तविक उद्देश्य हुनुपर्छ।’

भदौ २४, २०८३ बुधबार १३:४२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।