‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो’
काठमाडौं : नेपाली कांग्रेसकी सांसद वासना थापाले रसुवामा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धार कार्य तत्काल तीव्र बनाउन सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले बाढी आएको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको भन्दै पीडित परिवारको तर्फबाट गम्भीर आक्रोश र चिन्ता व्यक्त गरिन्।
यो केवल प्राकृतिक विपत्ति मात्र नभई सयौँ परिवारको जीवनसँग जोडिएको राष्ट्रिय संकट भएको उनको भनाइ थियो।
कर्णालीका धेरै नागरिक सम्पर्कविहीन
सांसद थापाले बाढीमा परेर दैलेख तथा समग्र कर्णाली प्रदेशका थुप्रै नागरिक अझै सम्पर्कविहीन रहेको विवरण संसद्मा प्रस्तुत गरिन्।
उनले दैलेखका बासिन्दाहरू प्रकाश आचार्य, नरबहादुर थापा, पबित्राकुमारी बुढा, मोहननाथ योगी, राजेन्द्र शाही र कृष्णबहादुर चन्द लगायत थुप्रै नागरिकको अवस्था अझै अज्ञात रहेको बताइन्।
‘प्रत्येक मिनेट महत्त्वपूर्ण छ, परिवारलाई खोक्रो आश्वासन होइन, नतिजा चाहिएको छ,’ उनले भनिन्, ’सम्पर्कविहीन नागरिकको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिइयोस् र आवश्यक स्थानमा थप जनशक्ति, प्रविधि र उद्धार उपकरण परिचालन गरियोस्।’
दैलेखका बादी समुदाय पहिरोबाट विस्थापित
आफ्नो गृहजिल्ला दैलेख क्षेत्र नम्बर १ को समस्याबारे बोल्दै उनले त्यहाँको नमुना बस्तीका १० घर बादी समुदाय पहिरोका कारण विस्थापित भएको जानकारी दिइन्।
वर्षौंदेखि लालपुर्जाविहीन रहेका ती विपन्न नागरिकहरू अहिले घरबारविहीन हुन पुगेको भन्दै उनले उनीहरूका लागि तत्काल सुरक्षित आवास, राहत र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सत्ता जोगाउने खेलमा नलाग्न चेतावनी
सिंगो देश शोकमा डुबेका बेला नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उनले स्मरण गराइन्।
सरकारलाई सचेत गराउँदै सांसद थापाले भनिन्, ‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो। नागरिक बाँच्नुपर्छ र बचाउनुपर्छ भन्ने मूल दायित्व लिएर सरकार अघि बढ्नुपर्छ।’
सम्बोधनको अन्त्यमा उनले बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेसका संस्थापक तथा जननायक विश्वेश्वरप्रसाद कोइरालाप्रति हार्दिक श्रद्धासुमन समेत व्यक्त गरेकी थिइन्।
भदौ २४, २०८३ बुधबार १३:३१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।