विपद् व्यवस्थापनमा ‘त्रिदेशीय संयन्त्र’ बनाउन सांसद केसीको माग
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले बाढी-पहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत तथा उद्धार कार्य अघि बढाउन र तत्काल बेलिब्रिज निर्माण गरी अवरुद्ध सडक सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद केसीले काठमाडौँ, नुवाकोट र रसुवा जोड्ने सडक सञ्जाल विच्छेद हुँदा जनजीवन कष्टकर बनेको र राहत सामग्री ढुवानीमा समेत समस्या भएको बताए।
‘गल्छीदेखि देवीघाटसम्म कम्तीमा तीनदेखि पाँचवटा बेलिब्रिजको अत्यन्तै आवश्यकता छ। जबसम्म यातायातको कनेक्टिभिटी जोडिँदैन, तबसम्म हामी राहत पनि पुर्याउन सक्दैनौँ,’ उनले भने, ‘काठमाडौं-नुवाकोट, नुवाकोट-रसुवा र त्रिशूली वारिपारिको परिस्थितिलाई गम्भीरतापूर्वक लिएर सरकारले युद्धस्तरमा काम गरोस्।’
उनले बाढीपहिरोका कारण अलपत्र परेका गर्भवती, सुत्केरी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू रोगव्याधिको जोखिममा परेकाले प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य टोली खटाउन पनि सरकारको ध्यानाकर्षण गराए।
पूर्वसूचनाका लागि ‘त्रिदेशीय संयन्त्र’ निर्माणको प्रस्ताव
सांसद केसीले जलवायु परिवर्तनको कठोर सजाय निर्दोष नेपाली जनताले भोग्नुपरेको भन्दै अन्तरदेशीय विपद् व्यवस्थापनमा जोड दिए।
रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रमा भोटेकोशी र त्रिशूली नदीले निम्त्याएको विपद्को सन्दर्भ जोड्दै उनले भने, ‘माथिल्लो तटीय क्षेत्रबाट उठेको समस्याले नेपाल र भारतको जनजीवनसमेत तहसनहस बनाएको छ। त्यसैले पूर्वसूचना प्रणाली र विपद् जोखिम न्यूनीकरणका लागि चीन, नेपाल र भारत सम्मिलित ‘त्रिदेशीय संयन्त्र’ निर्माण गर्नु तीनवटै राष्ट्रको हितमा हुन्छ।’
‘जेनजी’ आन्दोलन सुशासन र संस्कार परिवर्तनका लागि थियो
सम्बोधनका क्रममा सांसद केसीले गत भदौ २३-२४ गते भएको युवाहरूको ‘जेनजी आन्दोलन’ जनताको चरम निराशा, असन्तुष्टि र तत्कालीन सरकारको दमनको परिणाम भएको टिप्पणी गरे।
उक्त आन्दोलन कुनै दल विशेष वा केवल सरकार परिवर्तनका लागि मात्र नभएको उल्लेख गर्दै उनले भने, ‘यो आन्दोलन संस्कार, सरकारको शैली, सुशासन र दण्डहीनताको अन्त्यका निम्ति थियो।’
आन्दोलनमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले युवाहरूले परिकल्पना गरेको समाज र राज्य निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
साथै, उनले हाल देशभर देखिएको रासायनिक मल तथा खाना पकाउने ग्यासको हाहाकार तत्काल समाधान गर्न पनि सरकारसँग आग्रह गरे।
भदौ २४, २०८३ बुधबार १३:२७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।