२३ गतेको आन्दोलनमा छद्म गोली चल्यो, २४ गते योजनाबद्ध विध्वंश भयो : केपी शर्मा ओली

२३ गतेको आन्दोलनमा छद्म गोली चल्यो, २४ गते योजनाबद्ध विध्वंश भयो : केपी शर्मा ओली

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको व्यापक आगजनी, तोडफोड र हिंसा नवयुवाको आक्रोशबाट सिर्जित घटना नभई योजनाबद्ध रूपमा गराइएको विध्वंस भएको दाबी गरेका छन्।

भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा भिडियो सन्देश जारी गर्दै ओलीले भदौ २३ गते नवयुवाहरूले सुशासन र सामाजिक सञ्जालसम्बन्धी विषयमा गरेको शान्तिपूर्ण प्रदर्शनभित्र आपराधिक समूहले घुसपैठ गरेर हिंसा भड्काएको आरोप लगाए।

उनका अनुसार भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाउँदै संसद् भवनमा समेत आक्रमण गरियो। प्रदर्शनकारी युवालाई षड्यन्त्रपूर्वक संसद् भवनअगाडि लगिएको र त्यहाँ गोली चलाइएको उनको दाबी छ।

"नवयुवाहरूले सुशासन र सामाजिक सञ्जालका विषयमा गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुसपैठ गरी आपराधिक समूहहरूले योजनाबद्ध रुपमा हिंसा भड्काए", उनले भने, "संसद् भवनमा आक्रमण गर्दै  दुरुत्साहन गरे। नवयुवाहरूलाई षडयन्त्रपूर्वक घेरेर संसद् भवन अगाडि लगियो र छ्दम ढंगले कसैले गोली चलायो।"

त्यस क्रममा १७ जनाले ज्यान गुमाएको ओलीले स्मरण गरेका छन्।

उनले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको तोडफोड, लुटपाट र आगजनीलाई अघिल्लो दिनको घटनाबाट उत्पन्न सामान्य आवेगका रूपमा व्याख्या गर्न नसकिने बताए।

"प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि घटित यी समग्र घटनाक्रमले स्पष्ट पार्छ, भदौ २४ को त्यो त्रासदी अघिल्लो दिन नवयुवाहरुको ज्यान गएको घटनाबाट सिर्जित कुनै आवेग या आक्रोशको घटना थिएन। त्यो त राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील कोर्स लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रुप थियो," ओलीले भने।

उनले शान्तिपूर्ण भनिएको प्रदर्शन कसरी एकाएक हिंसात्मक बन्यो भन्नेबारे गहिरो छानबिन हुनुपर्ने माग गरे। साथै, राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायहरू किन असक्षम बने भन्ने प्रश्न अझै अनुत्तरित रहेको उनको भनाइ छ। 

घटनाका आरोपीहरूलाई उन्मुक्ति दिइएको र अनुसन्धान तथा अभियोजन रोकेर 'राजनीतिको अपराधीकरणलाई संस्थागत' गर्न खोजिएको उनले आरोप लगाए।

ओलीले भदौ २४ को घटनाको छानबिन गरी शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थियो भन्ने तथ्य बाहिर ल्याउनुपर्ने मागसमेत गरेका छन्।

भदौ २४, २०८३ बुधबार ११:४०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।