रसुवा बाढी : तीन जिल्लाका २४ विद्यालय ध्वस्त, ५ सय ४ विद्यार्थी र ३३ शिक्षक बेपत्ता
काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङको शिक्षा क्षेत्रमा अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको छ।
बाढी गएको दुई साता बितिसक्दा पनि विपद्को चपेटामा परेका यी तीन जिल्लाका ५ सय ४ जना विद्यार्थी र ३३ जना शिक्षक अझै सम्पर्कविहीन छन्। बाढीमा परी ४ जना शिक्षकको मृत्यु भएको पुष्टि भएको छ।
तीनवटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइहरूबाट प्राप्त पछिल्लो र विस्तृत विवरणअनुसार बाढीले २४ वटा विद्यालयका भौतिक संरचना ध्वस्त बनाएको छ।
जसमध्ये १३ वटा विद्यालय (सामुदायिक र संस्थागत) पूर्ण रूपमा बगेका छन् भने ११ वटा विद्यालयमा आंशिक (लेदो पसेर र पर्खाल भत्किएर) क्षति पुगेको छ।
सयौं विद्यार्थीले आफ्ना पाठ्यपुस्तक, झोला र लत्ताकपडा गुमाएका छन् भने बाटो र पुल बग्दा हजारौँ विद्यार्थीको पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ।
नुवाकोटमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति
शिक्षा विकास तथा समन्वय एकाइ, नुवाकोटका प्रमुख (उपसचिव) सूर्यबहादुर खत्रीका अनुसार बाढीबाट सबैभन्दा धेरै क्षति नुवाकोटले बेहोरेको छ। जिल्लामा मात्रै २ सय २४ जना विद्यार्थी र ११ जना शिक्षक अझै सम्पर्कविहीन छन्।
जिल्लाका १० वटा विद्यालयमा क्षति पुगेको छ। विदुर नगरपालिकाका त्रिभुवन त्रिशुली मा.वि., रामचन्द्र आ.वि., चेतना आ.वि., त्रिशुली सामुदायिक बोर्डिङ स्कुल, उत्तरगया बोर्डिङ स्कुल र तारकेश्वरको गणेशमान सिंह स्मृति विद्यालय गरी ६ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
चण्डेश्वरी मा.वि., क्षेत्रपाल आ.वि., टिमलटार मा.वि. र रणभुवनेश्वरी मा.वि.मा लेदो पसेर आंशिक क्षति पुगेको छ। बाढीले विभिन्न विद्यालयका ३ वटा स्कुल बससमेत बगाएको छ। जिल्लाभर २ हजार ९ सय ५८ विद्यार्थी र १६३ शिक्षक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
‘विस्थापित विद्यार्थीलाई सुरक्षित स्थानमा पढाउने विकल्प खोजिरहेका छौँ’, एकाइ प्रमुख खत्रीले उकेरासँग भने।
विदुर नगरपालिकाका १० वटा माध्यमिक विद्यालयहरूलाई हाल बाढी प्रभावित तथा विस्थापित नागरिकहरूका लागि अस्थायी होल्डिङ सेन्टर बनाइएको छ भने यी विद्यालयहरूमा नुवाकोटका स्थानीयका साथै रसुवाबाट विस्थापित भएर आएका नागरिकहरूलाई समेत आश्रय दिइएको छ।
विदुर नगरपालिकाको निर्णयअनुसार होल्डिङ सेन्टर नबनाइएका अन्य विद्यालयहरू भदौ २४ गतेबाटै खुलिसकेका छन् भने होल्डिङ सेन्टर रहेका विद्यालयहरूबाट विस्थापितहरूलाई केही दिनभित्रै अन्यत्र सारेर पठनपाठन सुरु गराउने तयारी भइरहेको छ।
पूर्ण रूपमा क्षति भएकामध्ये गणेशमान सिंह स्मृति आ.वि. लाई नजिकैको आमा समूहको भवनमा सारेर पठनपाठन सुरू गरिसकिएको छ। बाँकी विद्यालयहरू तत्काल सञ्चालन गर्न कठिन अवस्था रहेको खत्रीले उकेरालाई बताए।
चण्डेश्वरी मा.वि.को दृष्टिविहीन विद्यार्थी बस्ने होस्टेल बाढीले बगाएको छ र विद्यालय नजिकैबाट खोला बगिरहेको छ। तर, आवश्यक व्यवस्थापन गरेर आजैबाट यहाँ कक्षा सुरु गरिएको छ।
बाढीले सबैभन्दा धेरै १६ सय विद्यार्थी भएको त्रिभुवन त्रिशूली मा.वि.लाई लक्षित गरी पारिका विद्यार्थी पारि नै, वारिका वारि नै पढाउने गरी तयारी थालिएको छ। उक्त विद्यालयका करिब ७० प्रतिशत विद्यार्थी त्रिशूली नदीपारि अर्थात विद्यालय भएकोपट्टी र ३० प्रतिशत विदुरपट्टी बस्छन्।
पुल र बाटो नभएकाले असोज १ गतेभित्र पारिका विद्यार्थीलाई पारिपट्टीकै सरकारी संरचनाहरू (कभर्ड हल, सहरी विकासको भवन आदि) मा अस्थायी सिकाइ केन्द्र बनाएर पढाउने योजना स्थानीय सरकार र विद्यालयको छ।
रसुवामा चार विद्यालयको नामोनिसान मेटियो, २८० विद्यार्थी सम्पर्कबाहिर
रसुवामा बाढीले चार वटा विद्यालय पूर्ण रूपमा बगाएको छ।
शिक्षा विकास तथा समन्वय एकाइ, रसुवाका सूचना अधिकारी जीवन दहालका अनुसार गोसाइँकुण्ड गाउँपालिका-२ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय, उत्तरगया-१ को चिप्लेटी आ.वि., उत्तरगया-४ को मालिकादेवी आ.वि. र बेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलको नामोनिसान बाँकी छैन।
यस जिल्लामा करिब २ सय ८० जना विद्यार्थी र १६ जना शिक्षक अझै सम्पर्कबाहिर रहेका छन्।
‘पूर्ण क्षति भएका विद्यालयहरूका विद्यार्थीलाई पढाउन तत्कालका लागि अस्थायी सिकाइ केन्द्र (होल्डिङ सेन्टर) वा सुरक्षित विद्यालयहरूमा व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ’, दहालले उकेरासँग भने।
दहालका अनुसार बाढीबाट विस्थापित भएका नागरिकहरूलाई हाल रसुवाको उत्तरगया गाउँपालिकाका सिमले आधारभूत विद्यालय, गणेश आधारभूत विद्यालय, शिवालय आधारभूत विद्यालय र भिमसेनस्थान आधारभूत विद्यालयमा अस्थायी होल्डिङ सेन्टर बनाएर राखिएको छ।
विस्थापितहरू बसिरहेकाले यी विद्यालयमा अर्को सूचना नआएसम्मका लागि नियमित पठनपाठन बन्द गरिएको छ। नीलकण्ठ माध्यमिक विद्यालयको हकमा भने सर्वसाधारणको होल्डिङ सेन्टर नभई विद्यार्थीहरूलाई मात्र आवासीय रूपमा होस्टेलमा राखिएको छ।
जिल्लाको कालिका गाउँपालिकामा बाढीको प्रभाव तुलनात्मक रूपमा कम रहेकाले गत भदौ २२ गतेदेखि नै विद्यालयहरू खुलिसकेका छन् र नियमित पठनपाठन सुरु भइसकेको छ भने आमाछोदिङ्मो गाउँपालिकामा पनि भदौ २४ गतेदेखि सञ्चालनमा आइसकेका छन्।
बाढीका कारण नौकुण्ड गाउँपालिका क्षेत्रमा कुनै पनि भौतिक वा मानवीय क्षति नभएकाले यहाँका विद्यालयहरू सुरुदेखि नै नियमित रूपमा सञ्चालन भइरहेका छन्।
गोसाइँकुण्ड गाउँपालिकामा बाढीबाट प्रभावित नभएका विद्यालयहरू सञ्चालनमा ल्याउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा एकाइको टोलीबीच छलफल भइरहेको छ। आजै वा भोलिसम्ममा सूचना जारी गरेर पठनपाठन सुरु गर्ने तयारी छ।
धादिङमा चार शिक्षकको मृत्यु, ६ बेपत्ता
धादिङ जिल्लामा बाढीले विद्यालयका भवन बगाउनुका साथै शिक्षकहरूको ज्यान समेत लिएको छ। तर यहाँ विद्यार्थीहरूलाई भने कुनै पनि क्षति पुगेको छैन।
शिक्षा विकास तथा समन्वय एकाइ, धादिङका शाखा अधिकृत (सूचना अधिकारी) विजय तामाङले उकेरालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार जिल्लामा कार्यरत र पूर्व गरी ४ जना शिक्षकको मृत्यु भएको छ भने ६ जना शिक्षक सम्पर्कविहीन छन्।
नीलकण्ठ नगरपालिकास्थित न्यु किबो बोर्डिङ स्कुलकी शिक्षिका इन्दिरा अर्याल, सिद्धलेक गाउँपालिका नलाङ आ.वि.का पूर्वशिक्षक हरिप्रसाद सिलवाल र नलाङ मा.वि.का पूर्वशिक्षक घनश्याम भट्टको मृत्यु भएको छ।
नीलकण्ठका शिक्षकहरू ठाकुरप्रसाद लम्साल, जानुका खनाल, शिवहरि लम्साल र पूर्वशिक्षकहरू तुलसी तिमल्सेना, ईश्वरी तिमल्सेना र ज्वालामुखीका नारायणप्रसाद लम्साल बेपत्ता छन्।
भौतिक क्षतितर्फ धादिङका १० वटा विद्यालय प्रभावित भएका छन्। गल्छी गाउँपालिकास्थित अमलेश्वर गुरुकुलका ३ वटा भवनका ८ वटा कोठा, वागेश्वरी मा.वि.को विज्ञान र कम्प्युटर ल्याब पूर्ण रूपमा क्षति भएको छ।
बेनीघाट रोराङस्थित बुद्धिविकास आ.वि.को फर्निचर र पर्खाल भत्किएका कारण विद्यालयलाई चन्द्रोदय मा.वि.मा स्थानान्तरण गर्नुपर्ने अवस्था छ।
सडक सञ्जाल र पुल टुटेका कारण राइजिङ स्टार इङ्लिस बोर्डिङलगायतका विद्यालयमा विद्यार्थी जान सक्ने अवस्था छैन भने विद्यालयहरूमा पिउने पानीको चरम संकट देखिएको छ।
भदौ २४, २०८३ बुधबार ११:५३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।