२ सय विद्यार्थी सम्पर्कविहीन रहेको नीलकण्ठ माध्यमिक विद्यालय आजदेखि खुल्ने, विद्यालयमै होस्टलको व्यवस्था
काठमाडौं : गत भदौ १० गतेको विनाशकारी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति ब्यहोरेको रसुवाको उत्तरगया गाउँपालिका-५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आजदेखि पुन: सञ्चालनमा आउने भएको छ।
विपद्का बीच विद्यालय सञ्चालनको तयारी भइरहँदा विद्यालयमा अध्ययनरत करिब ७० जना बालबालिकाले आफूबाहेक परिवारका सबै सदस्य गुमाएको तथा करिब २०० विद्यार्थी अझै सम्पर्कबाहिर रहेको विद्यालय प्रशासनले जनाएको छ।
मंगलबार एक भिडियो सन्देशमार्फत विद्यालय प्रशासनले बाढीमा ज्यान गुमाएका शिक्षक, अभिभावक तथा विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आजदेखि विद्यालय सञ्चालन हुने जानकारी गराएको हो।
आवासीय सुविधासहित विद्यालय खुल्ने
विपद्ले घरबारविहीन भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै विद्यालयले आफ्नै होस्टेल भवनमा बालबालिका राख्ने व्यवस्था मिलाएको छ।
विद्यालयका अनुसार होस्टेलमा कार्पेटिङ गरिएको छ भने खाटहरू बनाउने काम तीव्र गतिमा चलिरहेको छ। क्यान्टिन, शौचालय तथा अन्य आवश्यक पूर्वाधारहरू तयारी अवस्थामा राखिएका छन्।
बाढीमा परी पाठ्यपुस्तक र लत्ताकपडा गुमाएका विद्यार्थीहरूलाई विद्यालयले पुनः ती सामग्री व्यवस्थापन गरिदिने भएको छ।
साथै, बाढीका कारण पढाइ छुट्ने चिन्तामा रहेका विद्यार्थीहरूका लागि ‘रेमेडियल’कक्षामार्फत पाठ्यक्रम पूरा गराइने र अभिभावकविहीन बनेका साना बालबालिकाको हेरचाहका लागि ‘आया’को व्यवस्था गर्न विभिन्न निकायसँग समन्वय भइरहेको जनाइएको छ।
घरबास गुमाएर कोठा लिएर बस्न बाध्य अभिभावकहरूलाई सम्बन्धित गाउँपालिकाले जिल्लाभित्रै व्यवस्थापन हुनका लागि मासिक ५ हजार रुपैयाँ भाडा र आवश्यक खाद्यान्नको व्यवस्था गरेको विद्यालयले जानकारी दिएको छ। यसले आश्रयस्थल गुमाएका परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको छ।
विद्यालय फर्कन अपिल
बाढीपछि केराघारी, खोलेबेसी, शान्तिबजार र पहिरेबेसीलगायतका क्षेत्रमा बाटो तथा पुल भत्किएर आवतजावत कठिन बनेको छ। धेरै विद्यार्थी तथा अभिभावकहरू नुवाकोटका होल्डिङ सेन्टर, आफन्तको घर तथा काठमाडौंसम्म पुगेका छन्।
विद्यालय प्रशासनले बाटोको असहजताका बाबजुद वैकल्पिक बाटो प्रयोग गरेर भए पनि एकपटक विद्यालय आइपुग्न सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ।
‘विद्यार्थीहरूको खानपान, स्वास्थ्य, आवास र हेरचाहको सम्पूर्ण जिम्मेवारी विद्यालयले लिन्छ,’ भिडियो सन्देशमार्फत अपिल गर्दै भनिएको छ, ‘विपद्को अवस्थामा नआत्तिई आफ्ना बालबालिकालाई विद्यालय पठाएर शिक्षाको वातावरण बनाउन सहयोग गरिदिनुहोस्।’
पाँच सय विद्यार्थी अध्ययरत यस विद्यालयमा चिनियाँ भाषाको समेत कक्षा सञ्चालन हुँदै आएको छ। बाढीपछि विद्यालयलाई होल्डिङ सेन्टरको रुपमा प्रयोग गरिएकाले पठनपाठन भन्दा पनि डेटा कलेक्सनको कामलाई अघि बढाउन लागिएको विद्यालयका शिक्षक गणेश श्रेष्ठले जानकारी दिए।
उक्त गाउँपालिकाका अन्य र पढाइ गर्न सम्भव भएका विद्यालयहरूमा पठनपाठन आजबाट सुरु भए पनि होल्डिङ सेन्टर भएका र विद्यालय पू्र्ण रुपले बगाएका विद्यालयहरुमा भने अहिलेसम्म पनि पठनपाठन सुरू हुनसक्ने अवस्था छैन।
भदौ २४, २०८३ बुधबार ०९:५८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।