पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
एआईको सहयोगमा बनाइएको तस्बिर।

काठमाडौं : सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ।

परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगीले शनिबार संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विद्यालयका कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गरे।

यद्यपि परिषद्ले विद्यालय कर्मचारीका सेवा-सुविधा, वृत्ति विकास, पेसागत तथा सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थायी व्यवस्थापनलगायत माग सम्बोधन गर्न माग गरेको छ।

सरकारको निर्णयअनुसार प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक पाँच हजार वृद्धि भएको छ।

यससँगै इसिडी सहजकर्ताको पारिश्रमिक १२ हजारबाट १७ हजार, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार पुगेको छ।

भदौ ६, २०८३ शनिबार १४:२८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।