भदौ २४ को विध्वंश रहस्यमयी, दोषीमाथि अझै कारबाही भएन : प्रचण्ड

भदौ २४ को विध्वंश रहस्यमयी, दोषीमाथि अझै कारबाही भएन : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत वर्ष भदौ २४ गते मुलुकभर भएको विध्वंसात्मक घटनाका दोषीलाई एक वर्ष बितिसक्दा पनि कारबाही हुन नसकेको भन्दै आपत्ति जनाएका छन्।

भदौ २४ को घटनालाई नेपालको इतिहासकै भयानक र रहस्यमयी विध्वंसको रूपमा उल्लेख गर्दै उनले यसको गम्भीर र बहुआयामिक अनुसन्धान हुनुपर्ने माग गरे।

भदौ २४ को घटनालाई स्मरण गर्दै जारी गरिएको भिडिओ सन्देशमा संयोजक प्रचण्डले केही घण्टाभित्रै भएको उक्त विध्वंश पछाडिका वास्तविक दोषी पत्ता लगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै आयामबाट निष्पक्ष छानबिन हुनुपर्ने बताए।

"नेपाली जनताको लोकतान्त्रिक आन्दोलन र आकांक्षामाथि यो स्तरको प्रहार र केही घण्टा भित्रै भएको यो विध्वंस साच्चै नै रहस्यमय पनि छ। र यसले के माग गर्छ भने गहिरो अध्ययन-अनुसन्धान गरेर यो विध्वंस मच्चाउने तत्व को हुन्? वास्तविक दोषी को छन्? यसको सत्य-तथ्य अनुसन्धान गर्ने कुरा र दोषीलाई कारबाही गर्ने कुरा असाध्यै महत्वपूर्ण ठान्दछु," उनले भने।

तर, बितेको एक वर्षमा घटनाको सत्यतथ्य बाहिर ल्याउनेतर्फ ठोस पहल नभएको उनको आरोप छ। राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयन गर्नुको सट्टा दराजमा थन्क्याउने काम भएको भन्दै उनले असन्तोष व्यक्त गरे। "मानव अधिकार आयोगद्वारा तयार पारिएको प्रतिवेदन पनि कार्यान्वयनतिर अगाडि बढेको छैन, बरु दराजमा थन्क्याउने काम भएको छ,"उनले भने।

भदौ २३ गते युवाहरूले सुशासन र पारदर्शिताका लागि गरेको आन्दोलनको मूल भावना भदौ २४ गतेको घटनाले अपहरण गरेको प्रचण्डको दाबी छ।

"युवाहरूले भाद्र २३ गते जुन आकांक्षाको साथ सुशासनको कुरा गरेका थिए, पारदर्शिताको कुरा गरेका थिए, ती आकांक्षाहरू भाद्र २४ ले प्रतिनिधित्व गरेको छ त भन्दा भाद्र २४ ले ती भावना र आकांक्षालाई होइन, बरु जेनजी युवाहरुको भावना र आकांक्षा माथि प्रहार गर्ने र २३ को आन्दोलनलाई अपहरण गर्ने र त्यसलाई कब्जा गर्नेहरूकै हालिमुहाली भएको देखिन्छ," उनले भने।

भदौ २४, २०८३ बुधबार ११:१०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।