सिरहामा १५७ किलोभन्दा बढी गाँजा बरामद
सिरहा : सिरहामा सशस्त्र प्रहरीले भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका–४ स्थित इट्टाटार सीमा क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १ः३५ बजे नेपालबाट टाउकोमा बोकेर भारततर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरूले गस्ती टोलीलाई देखेपछि गाँजा त्यहीँ छाडेर फरार भएका थिए।
गस्ती टोलीले बरामद गरेको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको जानकारी दिए।
भदौ २४, २०८३ बुधबार १०:२९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।