बाढी र सडकको त्रासमा सुनसान सौराहा, पर्यटक भन्छन्- ‘नेपाल विपद्‍मा हामी कसरी रमाउनू?’

बाढी र सडकको त्रासमा सुनसान सौराहा, पर्यटक भन्छन्- ‘नेपाल विपद्‍मा हामी कसरी रमाउनू?’

चितवन : ७५ वटा कोठा। कोठाभित्र सफा ओछ्यान र बाहिर चिटिक्क परेको बगैँचा। तर, सौराहास्थित ‘ल्यान्डमार्क’ होटलको भव्य लबीमा अचेल अनौठो सन्नाटा छाएको छ। काउन्टरमा बसेका कर्मचारीहरू मोबाइल स्क्रोल गर्दै समय कटाइरहेका छन्। मंगलबार यो होटलका सबै कोठा खाली थिए।

केही दिनअघिसम्म अवस्था यस्तो थिएन। वर्षा सकिएलगत्तै सुरु हुने पर्यटकीय सिजनका लागि यहाँका ६० प्रतिशत कोठा ‘अग्रिम बुक’ भइसकेका थिए। तर, एकाएक भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभिरमा खसेको पहिरोले त्यो चहलपहललाई एकैझट्कामा बगाइदियो। बुकिङहरू धमाधम रद्द भए र होटल फेरि रित्तियो।

यो निराशा ल्यान्डमार्क होटलको मात्र होइन, देशकै तेस्रो र जङ्गल सफारीको पहिलो पर्यटकीय गन्तव्य सौराहाका सबै १२० भन्दा बढी होटलहरूको साझा पीडा हो।

विपद् सौराहामा आएको होइन। चितवन शान्त छ, राप्ती आफ्नै लयमा बगिरहेको छ र राष्ट्रिय निकुञ्जका गैँडाहरू चरिरहेकै छन्। तर, बाहिर सन्देश यस्तो गयो, मानौँ सिङ्गो नेपाल नै बाढीपहिरोले जलमग्न छ।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्षसमेत रहेका ल्यान्डमार्कका सञ्चालक ओमप्रकाश पाण्डेको मन यतिबेला निकै भारी छ। भारतको गोरखपुरबाट एकैपटक १०० जना पर्यटकले सौराहाका लागि गरेको बुकिङ रद्द गरे। त्यसको कारण सोध्दा भारतीय पर्यटकले दिएको जवाफले पाण्डेलाई अझ घोत्लिन बाध्य बनायो।

“संवादका क्रममा उनीहरूले भने- ‘नेपालमा विपद् परिरहेका बेला हामी त्यहाँ आएर कसरी रमाउनू?” अध्यक्ष पाण्डे भन्छन्, “नेपालका सीमित ठाउँबाहेक अन्यत्र बाढीपहिरोको प्रभाव छैन भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमा पुर्याउन नसक्दाको परिणाम हामीले भोगिरहेका छौँ।”

विगत वर्षहरूमा यतिबेला २५ देखि ३० प्रतिशत अकुपेन्सी हुने सौराहामा अहिले मुस्किलले ५ प्रतिशत पर्यटक भेटिन्छन्। वर्षा सकिएपछि सुरु हुने सेप्टेम्बर र अक्टोबर महिना यहाँका व्यवसायीका लागि कमाउने मुख्य ‘सिजन’ हो। तर, सेप्टेम्बरका बुकिङहरू लगभग सबै रद्द भइसकेका छन् भने अक्टोबर र नोभेम्बरका बुकिङसमेत जोखिममा परेका छन्।

पर्यटक नआउनुमा विपद्को मनोवैज्ञानिक त्रास मात्र छैन, सडकको सकस पनि उत्तिकै जिम्मेवार छ। काठमाडौंबाट सौराहा आउने पर्यटक बसहरू कृष्णभिरको पहिरोसँगै रोकिएका छन्।

वैकल्पिक सडक भए पनि जाम र जोखिमको त्रासले मानिसहरू यात्रा गर्न हच्किरहेका छन्। अर्कोतर्फ, आन्तरिक उडानको महँगो हवाई भाडा र उच्च चापका कारण सामान्य पर्यटकले जहाजको टिकट काट्ने आँट गर्न सक्दैनन्।

होटल भिष्टाका सञ्चालक रमेश सिलवालको अनुभवमा बाढी आउँदाभन्दा पनि सडक अवरुद्ध हुँदा बढी बुकिङ रद्द भएका छन्।

“मुक्तिनाथ, पशुपतिनाथ र जनकपुरधाम घुम्न आउने भारतीय पर्यटकको मुख्य ‘ट्रान्जिट’ सौराहा पनि हो,” सिलवाल भन्छन्, “भोटेकोशीको बाढीले भारतीय पर्यटक परेको खबर फैलियो, त्यसपछि पृथ्वी राजमार्ग ठप्प भयो। अनि धमाधम सबै बुकिङ रद्द हुन थाले।”

पर्यटकीय चोकमा रहेको ‘केसीज रेस्टुरेन्ट एन्ड होम’ का नरेश गिरी साँझपख सधैँ पर्यटकले भरिभराउ हुने आफ्नो रेस्टुरेन्ट खाली देख्दा दिक्क छन्। विदेशी त परको कुरा, शनिबार र आइतबार आउने आन्तरिक पर्यटकसमेत बाटोको कारण आउन छाडेका छन्।

होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य सुमन घिमिरेका अनुसार विभिन्न विदेशी नियोगहरूले नेपाललाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै असुरक्षित सूचीमा राख्नु अर्को ठूलो बज्रपात हो।

“नेपाल सुरक्षित छ, सबैतिर बाढी आएको छैन भन्ने सत्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म पुग्नै सकेन,” घिमिरे भन्छन्, “सरकारले विदेशस्थित आफ्ना राजदूतहरूमार्फत यथार्थ अवस्थाको सूचना प्रवाह गर्न सके मात्रै यो सिजन जोगिन सक्छ।”

दैनिक पाँच हजारभन्दा बढी पाहुनालाई स्वागत गर्न सक्ने सौराहाका होटलहरू यतिबेला पाहुना कुरेर बसेका छन्। जङ्गल सफारी, थारू संस्कृति र राप्ती किनारको सूर्यास्त हेर्न लालायित पर्यटकलाई सौराहाले भनिरहेको छ- ‘हाम्रो भूगोल सुरक्षित छ, तपाईंहरूको स्वागतमा हाम्रो आतिथ्य तयार छ।’

तर, सडकको पहिरो पन्छाउने र अन्तर्राष्ट्रिय जगतमा फैलिएको त्रासको बादल हटाउने पहल नभएसम्म सौराहाको यो सन्नाटा तोडिने छाँटकाँट देखिँदैन।

राससमा आएको समाचार सम्पादनसहित प्रकाशित

भदौ २४, २०८३ बुधबार ०९:०८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।