रसुवाका बाढी प्रभावित क्षेत्रमा ११ थान जेनेरेटर वितरण
रसुवा : भोटेकोशी बाढीका कारण विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएका रसुवाका विभिन्न बस्ती, विद्यालय तथा स्थानीय तहलाई ११ थान आपत्कालीन जेनेरेटर वितरण गरिएको छ।
‘सेटोप अस्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले ती जेनेरेटरहरू प्रभावित क्षेत्रमै पुगेर वितरण गरेको हो।
जेनेरेटर उपलब्ध भएसँगै जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु र माथिल्लो जिवजिवेलगायतका क्षेत्रमा मोबाइल चार्ज गर्न, आफन्तसँग सम्पर्क कायम गर्न तथा आपत्कालीन सेवा सञ्चालनमा स्थानीयलाई सहज भएको छ।
यसैगरी, बाढीपछिको उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन कालिका र उत्तरगया गाउँपालिकाका अस्थायी आश्रयस्थलहरूमा समेत जेनेरेटर हस्तान्तरण गरिएको छ।
बाढीले सडक सञ्जाल टुटेपछि बेत्रावती नजिकैको जङ्गलमा पाल टाँगेर बसिरहेका विस्थापित परिवारलाई पनि प्रत्यक्ष भेटेर जेनेरेटर हस्तान्तरण गरिएको समाजले जनाएको छ।
भदौ २४, २०८३ बुधबार ०७:२३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।