सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आज बस्दै छ।
सिंहदरबारस्थित संसद् भवनमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुई विधेयक र एक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार मन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुका साथै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछिन्।
यस्तै, ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ समेत आजैको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यसैगरी, अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन्।
सो बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
यसैबीच, आजै सङ्घीय संसद्अन्तर्गतका दुई विषयगत समितिहरूको बैठक पनि बस्दै छ। सचिवालयका अनुसार अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्न लागेको हो।
भदौ २४, २०८३ बुधबार ०७:२०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।