पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानआसपास अवस्थित रहेकाले आज कोशी, बागमती र गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना कायमै रहनेछ।

रातिको समयमा विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ।

भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भदौ २४, २०८३ बुधबार ०७:१४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।