दमकमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ
भद्रपुर : झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले दमक नगरपालिका-२ बाट ४१.२३० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई मंगलबार नियन्त्रणमा लियो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, बौकामजरफका १९ वर्षीय मोहमद फारुक र सोही ठेगानाका २५ वर्षीय चन्दनकुमार मण्डल रहेका छन्। उनीहरूको साथबाट प्रहरीले एक थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक, झापामा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान अघि बढाएको ब्यूरोले जनाएको छ।
भदौ २३, २०८३ मंगलबार २१:२९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।