जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा

वीरगञ्ज : जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ। पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जस्थित टाउन हलमा आयोजना हुने तय भएको पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यसहित सम्पूर्ण पदका लागि असोज १ गते उम्मेदवारी मनोनयन पत्र दर्ता गरिने कार्यतालिका छ।

समय तालिकाअनुसार जिल्लाबाट मनोनीत गरिएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिको विवरण भदौ २८ गते आइतबारसम्म केन्द्रमा आइपुग्नुपर्नेछ। त्यसपछि भदौ २९ गते मतदाता नामावली प्रकाशन गरिनेछ भने भदौ ३० गते मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ।

भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने अध्यक्ष सर्राफले जानकारी दिए। महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत असोज १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ। असोज २ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने असोज ३ गते उम्मेदवारमाथि दाबी विरोधको समय तोकिएको छ।

असोज ४ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। महाधिवेशनअघि असोज ९ गते शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने कार्यक्रम रहेको अध्यक्ष सर्राफले जानकारी दिए।

असोज १० गते शनिबार महाधिवेशनसँगै मतदान सम्पन्न गरी असोज ११ गते मतगणना तथा परिणाम घोषणा गरिने कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ। 

भदौ २३, २०८३ मंगलबार २१:२३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।