कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका संशोधन

कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका संशोधन

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ गतेदेखि सुरु हुने भएको छ। कांग्रेसले यसअघि भदौ २४ गतेदेखि सुरु गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढीका कारण केही पर धकेलिएको हो।

कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार प्रेस विज्ञप्ति जारी गरी वडा अधिवेशन असोज ३ र ४ गते गर्न लागिएको जानकारी दिए। उक्त दिन देशभरका छ हजार ७४३ वडामा अधिवेशन हुनुका साथै क्षेत्रीय प्रतिनिधिको चयन हुनेछ।

आगामी असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ भने असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको खड्काले जानकारी दिए। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ।

उनका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहको समन्वयमा अधिवेशन सम्पन्न गरिनेछ। नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशको अधिवेशन आगामी असोज १० गतेभित्र सम्पन्न गर्ने कार्यतालिका छ। जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समय तालिका दोस्रो चरणमा प्रकाशित गरिने संयोजक खड्काले बताए। 

भदौ २३, २०८३ मंगलबार १७:३१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।