भदौ २३ नागरिकको विश्वासमाथि घात भएको दिन हो : गौतम

भदौ २३ नागरिकको विश्वासमाथि घात भएको दिन हो : गौतम

काठमाडौं : जेनजी आन्दोलनका क्रममा युवाहरूले सत्ता नभई सुशासन खोजेको बताउँदै कानुनमन्त्री सोविता गौतमले भदौ २३ गतेको घटनालाई राज्यले नागरिकमाथि गरेको विश्वासघातको संज्ञा दिइन्।

जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा सुशासनको माग गर्दा गोली चलाइनु दुःखद भएको बताइन्। भदौ २३ को नागरिक आन्दोलन र त्यसपछिका अन्य राजनीतिक घटनालाई एउटै दृष्टिले हेर्न नहुने भन्दै उनले दलीय रंग नदिन पनि आग्रह गरिन्।

"भदौ २३ जनताको विश्वासमाथि घात भएको दिन हो। त्यसकारण २३ गते र २४ गतेलाई एउटै आँखाले हेर्नु हुँदैन। २३ गते हाम्रा युवाहरू रेटिएका हुन्, मरेका हुन्, गोली हानिएको हो," उनले भनिन्।

जेनजी आन्दोलनलाई नागरिक आन्दोलनका रूपमा लिनुपर्ने धारणा राख्दै गौतमले त्यसलाई नागरिक आन्दोलनका रूपमा छोड्नुपर्ने बताइन्। 

"जसरी युवाहरू सुशासनको आवाज लिएर सडकमा आउनुभएको थियो, कसैले पनि आन्दोलनमा गएर आफ्ना छोराछोरीले ज्यान गुमाउँछन् होला भनेर सोचेका थिएनन्," उनले भनिन्, "युवा साथीहरूले पनि यो आन्दोलनमा गएर देशका लागि बलिदानी दिन्छु भनेर सायद सोच्नुभएको थिएन होला। यो आन्दोलनमा मरिन्छ भनेर कसैले कल्पना गरेको थिएन।"

राजनीतिक अधिकार र लोकतन्त्रका लागि नेपालमा पटक-पटक आन्दोलन भए पनि लोकतन्त्र प्राप्तिपछि नागरिकले आफ्ना आवाज राख्न पाउने विश्वासका कारण युवाहरू ढुक्क भएर त्यति बेला सडकमा आएको उनको भनाइ थियो। 

"युवा साथीहरू सुशासनको पक्षमा आवाज उठाउँदै आउँदाखेरि गोली चल्यो। लोकतन्त्रमा पनि गोली चल्दो रहेछ भन्ने कुरा त्यो दिन पहिलो पटक महसुस भयो," गौतमले भनिन्।

भदौ २३, २०८३ मंगलबार १७:२०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।