जब अँध्यारो सुरुङभित्र १० दिनपछि चिनियाँ नागरिक लुआ हाइताओले बत्तीको उज्यालो देखे...

जब अँध्यारो सुरुङभित्र १० दिनपछि चिनियाँ नागरिक लुआ हाइताओले बत्तीको उज्यालो देखे...

काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूका ९०० भन्दा बढी कामदारलाई बगाएर बेपत्ता बनायो।

बाढीमा परेका कयौँको शव फेला परिरहेको छ भने धेरै अझै बेपत्ता छन्। तर, माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक लुआ हाइताओ भने भाग्यमानी ठहरिए। खोजी तथा उद्धार कार्यको ११औं दिनमा सुरुङभित्र सकुशल भेटिएर उनले नयाँ जीवन पाएका छन्।

सुरुङभित्र थुनिएका उनले मृत्युलाई जित्न १० दिनसम्म प्रकृतिसँग कठोर सङ्घर्ष गर्नुपर्यो। अन्ततः उनको आत्मबल र उद्धार टोलीको अथक मिहिनेतले उनको प्राण जोगियो।

बत्ती देखेपछि जोडले चिच्याए
माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढी पस्दा लुआ हाइताओ बाँच्नका लागि सुरुङको सबैभन्दा अग्लो भागमा चढेर ओत लाग्न सफल भएका थिए। अन्धकार, चिसो अनि भोक र प्यासका बीच पनि उनले बाँच्ने आशा मारेका थिएनन्।

चिनियाँ सरकारी तथा मूलधारका सञ्चारमाध्यमहरू (सिन्ह्वा, सीजीटीएन, कभर न्युज र रेड स्टार न्युज) मा प्रकाशित विवरणअनुसार सुरुङभित्र उद्धारको प्रतीक्षा गरिरहँदा उनले टाढाबाट खोजकर्ताहरूको उज्यालो देख्नासाथ धेरै पटक ठूलो स्वरले गुहार मागेका थिए।

‘मैले जतिबेला बत्ती देख्थें, त्यतिबेलै ठूलो स्वरले चिच्याएर बोलाउँथें’, उनले भनेका छन्।

दूरी टाढा भएका कारण सुरुमा उद्धारकर्मीहरूले उनको आवाज सुन्न सकेनन्। तर, जब उद्धारकर्मी नजिकै आइपुगे र उनको आँखामा टर्चको उज्यालो पर्यो, सुरुमा त उनलाई आफ्नै आँखामाथि विश्वास लागेन।

सुरुङमा नेपाली सेना र दक्षिण कोरियाली उद्धार विज्ञहरूको टोली खटिएको थियो। टोलीले उनलाई फेला पारेपछि सहारा दिएर बिस्तारै सुरुङ बाहिर निकाल्यो। बाहिर निस्कनेबित्तिकै उनले सर्वप्रथम तिर्खा मेट्न पानी मागे।

उद्धार टोलीले पानी दिँदै उनलाई ‘नेपाली हो?’ भनेर सोध्यो। तर उनले बुझेनन्। उनको लवज चिनियाँजस्तो लागेपछि टोलीका सदस्यले फेरि ‘चाइनिज?’ भनी सोधे। त्यसपछि मात्र उनले टाउको हल्लाएर ‘चाइनिज’ भन्ने सङ्केत गरे।

उद्धारलगत्तै उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरियो, जहाँ हाल उनको उपचार भइरहेको छ। नेपालका लागि चिनियाँ राजदूतले अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै यो उद्धार कार्य सबैका लागि एक ‘चमत्कार’ भएको बताए।

परिवार पाल्न विदेशी भूमि आएका थिए लुआ
चिनियाँ डिजिटल पोर्टलहरू ‘कभर न्युज’ र ‘सिना न्युज’मा प्रकाशित विवरण अनुसार लुआ हाइताओ चीनको हेनान प्रान्तस्थित आन्याङ क्षेत्रका बासिन्दा हुन्। उनको परिवारमा ६० वर्षीया दिदी लु हाइ्रोङ, श्रीमती र एक सन्तान छन्।

उनीहरूको अत्यन्तै विपन्न किसान परिवार हो। मुख्य आम्दानीको स्रोत गहुँ र मकै खेती भए पनि सीमित जमिनबाट वर्षमा केही सय युआन मात्र आम्दानी हुन्थ्यो।

घरको गर्जो टार्न दम्पती नै वर्षभरि ज्याला-मजदुरी गर्थे। लुआ मुख्यतया सिकर्मीको काम गर्थे भने उनकी श्रीमतीको स्वास्थ्य कमजोर भएकाले उनी गह्रौँ काम गर्न सक्दिनथिन्।

यही आर्थिक अभावका कारण उनले सन् २०२४ को फेब्रुअरीमा चिनियाँ नयाँ वर्षसमेत परिवारसँग राम्ररी नमनाई वैदेशिक रोजगारीका लागि नेपाल आउने निर्णय गरेका थिए।

दिदी लु हाइ्रोङका अनुसार लुआले परिवारलाई आफू नेपालको कुन ठाउँमा र के काम गर्न जाँदैछु भन्ने विस्तृत विवरण दिएका थिएनन्।

गाउँमा मुस्किलले गुजारा चलाइरहेका लुआले विदेश गएर केही कमाउनेछन् र परिवारको दुःख घट्नेछ भन्ने आशामा आफन्तहरू थिए। तर, उनी यस्तो भयावह विपत्तिमा पर्लान् भनेर कसैले कल्पनासमेत गरेका थिएनन्।

परिवारको छटपटी र एउटा स्क्रिनसटले दिएको राहत
नेपालमा बाढी-पहिरो आएपछि सुरुमा लुआको परिवारलाई उनी विपद्‌मा फसे/नफसेको केही थाहा थिएन। जब उनलाई नेपाल पठाउने कम्पनीबाट फोन आयो, तब मात्र दिदी लु हाइ्रोङले भाइ पहिरोमा परेको खबर थाहा पाइन्।

‘नेपाल धेरै टाढा छ र बुझ्ने अरू कुनै माध्यम पनि थिएन’, उनले भनिन्।

बेपत्ता परिवारहरूको सहायता समूहमा अन्य सदस्यहरूले पठाउने सानातिना सूचना र समाचार हेर्दै उनका दिनहरू छटपटीमा बित्न थाले। उनी न राम्ररी खान सक्थिन्, न त सुत्न नै। नेपालमा कसैको उद्धार भएको सुन्दा मात्र पनि उनको मनमा झिनो आशा पलाउँथ्यो।

यसै क्रममा सेप्टेम्बर ५ का दिन उनले वीच्याट समूहमा एउटा धमिलो समाचारको स्क्रिनसट देखिन्; जसमा नेपालको जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको उल्लेख थियो।

तस्बिरमा देखिएका, कपाल सेताम्मे फुलेका र दुब्लाएका व्यक्ति आफ्नै भाइजस्तो उनलाई लाग्यो। त्यसपछि समूहमा अझ स्पष्ट तस्बिरहरू आउन थाले। ती तस्बिर देख्नासाथ उनी आँसु झार्दै चिच्याइन्, ‘यो त मेरो भाइ नै हो!’

त्यसलगत्तै बेइजिङबाट आएको एउटा फोनले घटनाको आधिकारिक पुष्टि गरिदियो, ‘लु हाइताओ भेटिएका छन्।’

त्यो सुखद खबर सुनेपछि फोनको अर्कोतर्फ भनिएका अरू कुरा सुन्ने होस उनमा रहेन। लामो समयदेखि अनिश्चय र पीडाले थिचिएको परिवारको मनको भारी अन्ततः हलुका भएको थियो।

भदौ २२, २०८३ सोमबार ०८:०८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।