अतिक्रमणमुक्त भएपछि अस्तित्व फर्किएको कमलपोखरी कमल फूलले ढकमक्क
काठमाडौं : भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित बोडेको ऐतिहासिक 'पलेस्वाँ पुखु' (कमलपोखरी) यति बेला कमलका फूलले ढकमक्क सजिएको छ।

लामो समयको अतिक्रमण र उपेक्षापछि स्थानीय सरकार र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा पुनर्जीवन पाएपछि पोखरीको सौन्दर्य फर्किएको हो।
करिब तीन सय वर्ष पुरानो मानिने कमलपोखरी १५ रोपनी ९ आना क्षेत्रफलमा फैलिएको छ। विसं २०४२ मा सार्वजनिक पोखरीलाई व्यक्तिको नाममा दर्ता गराएपछि यसको अस्तित्व सङ्कटमा परेको थियो।

तत्कालीन बोडे गाउँ पञ्चायत-६ (कित्ता नम्बर १) मा रहेको यो पोखरी कान्छी पोडेनीको नाममा दर्ता गराई विभिन्न व्यक्तिका नाममा किनबेच र नामसारी हुँदै आएको थियो।

आफ्नो ऐतिहासिक सम्पदा बचाउन स्थानीय बासिन्दा र नगरपालिकाले लामो समय कानुनी सङ्घर्ष गरे। अन्ततः विसं २०७५ मा भक्तपुर जिल्ला अदालतले यस पोखरीलाई सार्वजनिक सम्पत्ति नै कायम हुने फैसला सुनायो। सोही फैसलापछि पुनर्निर्माण गरिएको पोखरीले आफ्नो सौन्दर्यीकरणसहित अस्तित्व प्राप्त गरेको छ।

धार्मिक रूपमा कमलको फूललाई देवी सरस्वतीको प्रतीकका रूपमा लिइन्छ। बोडेको कमलपोखरी यहाँका ऐतिहासिक जात्रा र परम्परासँग अभिन्न रूपमा जोडिएको छ।

बडादसैंको समयमा बोडेस्थित लायकू दरबारमा देवी तलेजुलाई यही पोखरीको कमलको फूल चढाउने परम्परा छ। यस्तै, तलेजुका पुजारीले कमलको पातमा भोज खाने, प्रसिद्ध नीलबाराही नाचमा यही पोखरीको फूल चढाउने र प्रसिद्ध जिब्रो छेड्ने जात्राको विधिमा पनि यो पोखरीको महत्त्व रहन्छ।

पुनर्निर्माण पश्चात् पोखरीले आफ्नो स्वरूप प्राप्त गरेसँगै यहाँ स्थानीय तथा आगन्तुक जलपंक्षीहरूको उपस्थिति पनि बढेको छ। यसले यस्ता ऐतिहासिक पोखरीहरूको पुनर्निर्माण र संरक्षण जैविक विविधताका दृष्टिले समेत महत्त्वपूर्ण रहेको पुष्टि गर्दछ।

अतिक्रमणमुक्त भई ढकमक्क कमलले भरिएको यो ऐतिहासिक पोखरीले बोडेको धार्मिक पहिचानलाई थप बलियो बनाउनुका साथै पर्यटकीय आकर्षणसमेत बढाएको छ।




भदौ ५, २०८३ शुक्रबार २०:३०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।