पुराना दलहरूलाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोसिस नगर्नुस्, सुध्रिनुस्’

पुराना दलहरूलाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोसिस नगर्नुस्, सुध्रिनुस्’

काठमाडौं : जनमतबाट स्थापित भइसकेको जेनजी आन्दोलनको इतिहासलाई बंग्याएर जनताको अपमान गर्ने प्रयास भइरहेको दाबी गर्दै गृहमन्त्री सुधन गुरुङले पुराना दलहरूलाई सुध्रिन चेतावनी दिए।

जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनमतले प्रमाणित गरिसकेको आन्दोलनको ऐतिहासिकतालाई गलत व्याख्या गर्नु अभिमतकै उपहास हुने धारणा राखे। 

"त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्," उनले भने, "तपाईंले यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुस् भन्न चाहन्छु। अझै पनि समय छ, सुध्रिनुस्।"

गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारप्रति राखेको आशा र भरोसालाई निराशामा परिणत हुन नदिने बताए। उनले शहीदका सपना र घाइतेहरूको अपेक्षा पूरा गर्नु सरकारको मुख्य दायित्व भएको बताए।

आन्दोलनका क्रममा घाइते तथा शहीद भएका जेनजी युवाहरूको सम्झना अझै पनि आफूलाई भावुक बनाउने गरेको बताउँदै उनले भने, "आज ताली चाहिएको छैन, आज हामीलाई आशा चाहिएको छ।"

घाइते जेनजी युवाहरूले आफूबाट ठूलो अपेक्षा राखेको भन्दै गुरुङले उनीहरूको विश्वास पूरा गर्न आफूलाई निरन्तर दबाब महसुस हुने बताए। सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको उनको भनाइ छ।

"देशमा केही हुन्छ, हाम्रै मन्त्री छन् भनी जसरी आशाका साथ मलाई हेर्नुहुन्छ त्यसैले सुत्न पनि डर लाग्छ," उनले भने, "कुनै मेरो कुनै कमजोरी पो भइहाल्ने हो कि, एक सय दिनुपर्नेमा ९९ मात्र पो हुने हो कि भन्ने पनि डर लाग्छ। आफूले सक्ने हरदम प्रयास गरिरहेको छु।"

भदौ २३, २०८३ मंगलबार १६:५७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।