‘जेनजी आन्दोलनलाई राजनीतिक लाभको औजार बनाउनु हुँदैन’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत वर्ष भाद्र २३ र २४ गते भएको आन्दोलन सचेत युवा पुस्ता (जेनजी)को स्वस्फूर्त जागरण भएकाले यसलाई कुनै पनि राजनीतिक दल वा नेताले सङ्कुचित राजनीतिक लाभको औजार बनाउन नहुने बताएका छन्।
जेनजी सहिद दिवसको अवसरमा मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर लामिछानेले कुनै दल विशेषको आह्वानमा उक्त आन्दोलन नभएको बताए। उनले भने, "यो कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन थिएन; यो पूर्णतः स्वस्फूर्त जागरण थियो। त्यसैले, कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन।"
राजनीतिमा चासो नराख्ने भनिएको पुस्ता सडकमा उत्रिनु परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट 'अस्वीकृति पत्र' भएको रहेको उनको भनाइ छ। लामिछानेले भने, "त्यो आन्दोलनले एउटा जबरजस्त सन्देश दियो: यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो र यसलाई अब कुशासन मञ्जुर छैन।"
परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताको रगत बग्नु दुख भएको भन्दै उनले भने, "त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।"
सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको उल्लेख गर्दै लामिछानेले भोलि आफूसँग पनि सडकबाट जवाफ मागिने कुरामा सचेत रहेको बताए। उनले भने, "हिजो सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ।”
आन्दोलनका क्रममा अङ्गभङ्ग भएका, घाइते भएका तथा मानसिक एवं शारीरिक चोट भोगेकाहरूप्रति सम्मान व्यक्त गर्दै लामिछानेले राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनःस्थापनाको दायित्व पूरा गर्नेछ भन्ने विश्वास व्यक्त गरे।
नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै पक्ष एकताबद्ध हुनुपर्नेमा उनको जोड छ। समाजमा निराशाको भाष्य स्थापित हुन नदिन अपिल गर्दै उनले विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफ्नो पार्टी विचलित नहुने प्रतिबद्धता व्यक्त गरे। उनले नागरिक समाज र युवाहरूलाई आफ्नो कार्यसम्पादनको निर्मम समीक्षा र रचनात्मक खबरदारी निरन्तर गरिरहन समेत आग्रह गरे।
भदौ २३, २०८३ मंगलबार १५:२०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।