बीपी राजमार्गमा घिस्रिएर हिँड्ने अपाङ्गता भएका व्यक्तिको शंकास्पद मृत्यु, सवारीले किचेको आशंका

बीपी राजमार्गमा घिस्रिएर हिँड्ने अपाङ्गता भएका व्यक्तिको शंकास्पद मृत्यु, सवारीले किचेको आशंका

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ स्थित बीपी राजमार्गमा अचेत अवस्थामा फेला परेका पूर्ण अपाङ्गता भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

दाहिने खुट्टामा गाडीले किचेको जस्तो गम्भीर चोट रहेकाले अज्ञात सवारी साधनको ठक्करबाट उनको मृत्यु भएको आशंका गरिएको छ।

मृत्यु हुनेमा गोलन्जोर-७ तल्लो बारा बस्ने ५९ वर्षीय दिलबहादुर श्रेष्ठ रहेका छन्। उनी दुवै हात र खुट्टाको सहायताले भुइँमा घिस्रिएर हिँड्ने व्यक्ति हुन्।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मंगलबार बिहान करिब सवा ६ बजे बीपी राजमार्गको माथिल्लो बारा सडकखण्डमा श्रेष्ठ अचेत तथा गम्भीर घाइते अवस्थामा लडिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

खबर पाउनासाथ प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा खटिएको टोलीले बिहान सवा ७ बजे उनलाई उद्धार गरी प्रहरीको मोबाइल गाडीमार्फत जिल्ला अस्पताल सिन्धुली पुर्याएको थियो। तर, अस्पताल पुर्याइएका श्रेष्ठलाई चिकित्सकले बिहान ८:१८ बजे मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ९ किलोमिटर पूर्वमा पर्ने उक्त घटनास्थलमा श्रेष्ठलाई कुनै सवारी साधनले ठक्कर दिएर वा किचेर फरार भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला अस्पताल सिन्धुलीमा शवको पोस्टमार्टमपछि दिउँसो मृतकका भतिज सन्तोषकुमार श्रेष्ठले शव बुझिसकेका छन्।

घटनाको प्रकृति हेर्दा सवारी दुर्घटनाको सम्भावना देखिएकाले ठक्कर दिने सवारी साधनको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भदौ २३, २०८३ मंगलबार १०:३५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।