मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गाबाट ठूलो परिमाणको अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

राक्सिराङको भावरबाट खरङ्गातर्फ आउँदै गरेको बा प्र ०१–०२५ च ०८७७ नम्बरको कारबाट १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको हो। उक्त कारलाई ग२च ६१५ नम्बरको पिकअप गाडीले 'स्कटिङ' गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

स्कटिङ गर्दै आएको पिकअप गाडी भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षका देवनारायण महतो र पिकअप चालक चितवनको भरतपुर महानगरपालिका २४ बस्ने ४८ वर्षका टेकबहादुर दोङ रहेका छन्।

“विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले १६२ किलो गाँजासहित दुई वटा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो”, प्रहरी नायब उपरीक्षक काफ्लेले भने।

गाँजासहित पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान अघि बढाइएको छ।

भदौ २३, २०८३ मंगलबार १०:३५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।