‘दशैंमा आउँछु मम्मी...’

‘दशैंमा आउँछु मम्मी...’

बुटवल : बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित राजपुरको एउटा सानो एकतले टिनको घर। बाहिरको पिँढीमा राखिएको पलङमा एउटी आमा शून्यतिर टोलाइरहेकी छन्। नजिकैको जंगलबाट सुसाउँदै आउने चिसो हावाले उनको आँसु पुछ्न सक्दैन, बरु त्यो घरभित्र हावाको गतिभन्दा गह्रौँ सन्नाटा मडारिइरहेको छ।

पलङमा बसेकी ५० वर्षीया मन्जु पुनको आँखा एकटकले सडकतिरै अडिन्छ। कुनै गाडी रोकिएला कि, कसैले छोराको सास वा लासको खबर सुनाउला कि भन्ने आश अझै मरेको छैन। तर, छोरा सम्पर्कविहीन भएको धेरै दिन बितिसक्यो।

‘दशैंमा आउँछु मम्मी,’ २५ वर्षीय छोरा अनुज पुनले अन्तिमपटक फोनमा बोलेका यी शब्दहरू मन्जुको कानमा अहिले पनि गुञ्जिरहेका छन्।

अनुज रोजगारीका लागि रसुवास्थित त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनामा वेल्डिङको काम गर्थे। बुटवलमै ग्रिल उद्योगमा काम गरिरहेका उनलाई छिमेकी असिम सुवेदीले रसुवाको कामबारे सुनाएका थिए।

कोरियन बहुप्राविधिक शिक्षालय, तामनगरबाट तीन महिनाको वेल्डिङ तालिम लिएका अनुजले सीपलाई परिवारको आर्थिक भरथेगमा बदल्न चाहेका थिए। मासिक ३० हजार तलब, खाना-बस्न र ओभरटाइमको सुविधा पाउने भएपछि उनी जेठमा रसुवा पुगेका थिए।

टाढा पुगेपछि पनि आमाबुवाको हालखबर सोध्न उनी कहिल्यै भुल्दैनथे। कमाएको १० हजार रुपैयाँ पहिलो महिनामै घर पठाएका थिए। ‘राम्रोसँग बस्नु, खाना खानु,’ छोराले भन्ने गर्थे। भदौ ८ गते साँझ पनि आमा-छोराबीच लामै कुरा भयो। अनुजले फेरि उही वाचा दोहोर्याएका थिए- ‘दशैंमा घर फर्किने।’

हातमा अनुजको तस्बिर लिएर उनका बुबा-आमा।

तर, त्यो वाचा पूरा हुने दिन नआउँदै भोटेकोशी र त्रिशूलीमा विनाशकारी बाढी आयो। बाढीको खबर पाएपछि भदौ १० गते बिहान १० बजेतिर मन्जुले छोरालाई फोन गरिन्। घन्टी गएन। फेरि गरिन्, पटक-पटक गरिन्। तर, मोबाइल सधैँका लागि ‘स्विच्ड अफ’ भइसकेको थियो।

त्यसपछि परिवारमा छटपटी सुरु भयो। जेठा छोरा मनोज पुन पोखरा, चितवन हुँदै नवलपरासीसम्मका नदी किनार र अस्पतालहरूमा भाइको खोजीमा भौंतारिए। आफन्त र चिनजानका सबैलाई गुहारे। तर, अनुजको कुनै पत्तो लागेन।

‘अब छोरा फर्केर आउला भन्ने आशा छैन,’ बुवा टेकबहादुर पुन भक्कानिन्छन्, ‘सरकारले कि सास कि लासको व्यवस्था गरिदियोस्।’

दैनिक ज्यालामजदुरी गरेर बिहान-साँझको छाक टार्ने यो परिवारका लागि कान्छो छोरो घरको मुख्य आर्थिक खम्बा बन्दै थियो। ‘बिहान काम गर्यो, साँझ खायो, यही हो हाम्रो अवस्था। हामीलाई सरकारले केही गरोस्। स्थानीय सरकारले पनि हेरिदियोस्,’ आँखाभरि आँसु पार्दै आमा मन्जुले बिलौना गरिन्।

सरकारी सूचीमै नाम र उमेरको त्रुटि
आफ्नो सन्तान गुमाएको यो परिवारमाथि प्रशासनिक लापरबाहीले अर्को चोट थपेको छ। विपद् व्यवस्थापनले सार्वजनिक गरेको बेपत्ताहरूको सूचीमा अनुजको नाम ‘अनुप पुन’ र उमेर ‘१९ वर्ष’ लेखिएको छ। तर, परिवारका अनुसार उनको वास्तविक नाम अनुज पुन र उमेर २५ वर्ष हो।

‘छोराको नाम र उमेरसमेत गलत लेखिएको छ। सच्याउन कहाँ जाने भन्ने पनि थाहा छैन। मिडियामार्फत भन्न चाहन्छु- नाम र उमेर सही राखिदिनुस्,’ बुवा टेकबहादुरले आक्रोश र पीडा मिसाउँदै भने। उनले छोराको पहिचानका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेर डीएनए परीक्षणका लागि आफ्नो नमुनासमेत दिइसकेका छन्।

‘बाबा, म काममै छु’
बुटवलकै १९ वर्षीय अंन्शु गिरीको घरमा पनि अहिले उस्तै रुवाबासी छ। अंशुकी आमा सरस्वती गिरी छोराको नाम लिनासाथ भक्कानिन्छिन्। गला अवरुद्ध हुन्छ र आँखाबाट आँसुको भेल बग्छ।

बाढी आएको दिन बिहान ८ बजेर ५३ मिनेटमा बुवा सविराम गिरीसँग अंशुको अन्तिमपटक कुरा भएको थियो।

‘बाबा, म सन्चै छु। काममै छु,’ छोराले फोनमा भनेका थिए। बुवाले सम्झाउँदै भनेका थिए, ‘राम्रोसँग काम गर्नु, आफ्नो ख्याल गर्नु।’ त्यो नै बाबु-छोराबीचको अन्तिम संवाद बन्यो।

अंशुले बुटवलको रम्भादेवी कलेजबाट होटल म्यानेजमेन्टमा कक्षा १२ उत्तीर्ण गरेका थिए। तर, उनको हातमा वेल्डिङको राम्रो सीप थियो।

हातमा तस्बिरसहित अंशुका बुबा-आमा र साइडमा अंशुको तस्बिर।

सानैदेखि मेहेनती स्वभावका उनी फागुन १८ गते रसुवाको टिमुरे जलविद्युत आयोजनामा काम गर्न पुगेका थिए। साढे पाँच महिना काम गरेर साउन २८ मा घर फर्किए। घरमा १० दिन बसेपछि त्रिशूली-३ ‘बी’ मा काम गर्न भन्दै भदौ ७ गते फेरि रसुवा हानिए।

‘दशैंमा आउँछु’ भन्दै आमाबुवाको आशीर्वाद लिएर हिँडेका अंशु त्यसको तीन दिनमै सम्पर्कविहीन भए। बाढीको खबर पाउनासाथ सविरामले बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म छोरालाई लगातार फोन गरिरहे। फोन लाग्दै लागेन, केही बेरपछि मोबाइल नै अफ भयो।

आठ दिनसम्म त्रिशूलीको तिरैतिर खोजी
छोराको खोजीमा काका खेमु गिरी र मामा शिव पुरीसहितको टोली रसुवाको बेत्रावतीसम्म पुग्यो। नदी किनार, बगर र भग्नावशेषहरूमा आठ दिनसम्म धुइँपत्ता लगाउँदा पनि अंशुको कुनै अत्तोपत्तो पाइएन। अन्ततः टोली रित्तो हात फर्कियो।

घर फर्किए पनि परिवारको नजर मोबाइलको स्क्रिनबाट हट्दैन। कतै फोनको घन्टी बज्दा छोराकै खबर आयो कि भनेर मुटु ढुकढुक हुन्छ। तर, हरेकपटक निराशाबाहेक केही हात लाग्दैन।

सविरामका दुई छोरामध्ये अंशु कान्छा हुन्। भर्खरै जुँगाको रेखी बस्दै गरेका छोराले दशैंमा घर फर्किने बाचा गरेका थिए। दशैं नजिकिँदै गर्दा घरमा खुसी होइन, छोराको वियोगको अँध्यारो छाएको छ।

‘हामीलाई हेरिदिनुपर्यो। सरकारले खोजीमा पहल गरिदियोस्,’ बुवा सविरामले हात जोड्दै राज्यसँग गुहार मागे।

भदौ २३, २०८३ मंगलबार १०:१४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।