संसदीय गणितले होइन, शासकको चरित्रले स्थायित्व दिन्छ : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं : पूर्वप्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र वास्तविक परिवर्तनका लागि आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आह्वान गरेकी छन्।
जेन-जी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सुशासन नभए संसद्को दुई तिहाइ बहुमतले पनि राजनीतिक स्थिरता दिन सक्दैन भन्ने कठोर पाठ जेनजी आन्दोलनले सिकाएको स्मरण गराएकी हुन्।
“राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ,” पूर्वप्रधानमन्त्री कार्कीले भनेकी छन्, “सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न वर्तमान सरकारले प्रभावकारी कदम चाल्न सकोस् भन्ने अपेक्षा गर्दछु।”
निर्दोष नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र आफ्नो उज्ज्वल भविष्यका लागि सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा ज्यान गुमाउनुपरेको भन्दै उनले त्यो दिनलाई राष्ट्रको इतिहासकै एउटा अत्यन्त पीडादायी क्षणका रूपमा चित्रण गरेकी छन्।
आन्दोलनका क्रममा कयौं युवाहरूले जीवनभरका लागि अपाङ्गता बेहोर्नुपरेको, ठूलो मात्रामा निजी तथा सार्वजनिक सम्पत्ति र राष्ट्रिय धरोहरहरू नष्ट भएको उल्लेख गर्दै उनले भनिन्, “राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ। अब त्यस्तो कालो दिन इतिहासमा कहिल्यै दोहोरिनु हुँदैन।”
उनले आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
यसैबीच, जेनजी आन्दोलनको चोट पुरिन नपाउँदै मुलुक अहिले भोटेकोशी तथा त्रिशूली बाढीको अर्को प्राकृतिक विपत्तिबाट गुज्रिरहेको प्रति पनि उनले दुःख व्यक्त गरेकी छन्।
संकटको यस घडीमा धैर्य, उच्च जिम्मेवारी र आपसी एकताका साथ प्रस्तुत हुन अपिल गर्दै पूर्वप्रधानमन्त्री कार्कीले भनिन्, ‘एकअर्काको सहारा बन्दै र दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गर्न सबैलाई आग्रह गर्दछु।’
कार्की जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री थिइन्। आन्दोलनपछिको अन्यौलग्रस्त अवस्थामा उनले देशमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराई गत चैत १३ गते प्रधानमन्त्री वालेन्द्र शाहलाई नेतृत्व हस्तान्तरण गरेकी थिइन्।
भदौ २३, २०८३ मंगलबार ११:०९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।