बाढीले बगर बनेको त्रिभुवन त्रिशूली माविले पायो पठनपाठनका लागि नयाँ ठाउँ

बाढीले बगर बनेको त्रिभुवन त्रिशूली माविले पायो पठनपाठनका लागि नयाँ ठाउँ

विदुर : गएको भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीले बगरमा परिणत गरिदिएको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले अन्ततः पठनपाठन सुचारु गर्न अस्थायी स्थान पाएको छ।

विदुर नगरपालिका-१ मा रहेको उक्त विद्यालयको भवन तथा खेलमैदानसहित सम्पूर्ण जग्गा बाढीले कटान गरी पूर्ण रूपमा क्षति पुर्याएपछि विद्यार्थीहरूको भविष्य अन्योलमा परेको थियो।

पुरानो स्थानमा तत्काल पठनपाठन सुरु गर्न असम्भव भएपछि विदुर नगरपालिकाले वडा नम्बर ९ स्थित सरकारी संरचना प्रयोग गर्न अनुमति दिएको हो।

नगर प्रमुख राजन श्रेष्ठले त्रिभुवन त्रिशूली माविलाई पत्र पठाउँदै विदुर-९, डिहीबजारस्थित सहरी विकास तथा भवन कार्यालयको जग्गासहितको भवन र जिल्ला खेलकुद विकास समिति नुवाकोटको जग्गा–जमिन प्रयोग गरी अस्थायी सिकाइ केन्द्र (टीएलसी) तथा विद्यालय सञ्चालन गर्न अनुमति दिइएको जानकारी दिएका छन्।

‘भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले विद्यालयको भवन तथा जग्गामा पूर्ण क्षति पुर्याएकाले पूर्ववत् स्थानमा कक्षा सञ्चालन सम्भव भएन,’ नगरपालिकाद्वारा जारी पत्रमा भनिएको छ, ‘विद्यार्थीहरूको नियमित पठनपाठनलाई क्रमशः अघि बढाउन डिहीबजारको सरकारी भवन तथा खेलकुद विकास समितिको परिसर प्रयोग गरी अस्थायी सिकाइ केन्द्र निर्माण गर्न अनुमति प्रदान गरिएको छ।’

विद्यालय बगर बनेपछि रोकिएको पठनपाठन नयाँ ठाउँको व्यवस्थासँगै चाँडै सुरु हुने आशा पलाएको छ। नगरपालिकाको यो निर्णयपछि अब डिहीबजारमा अस्थायी संरचना निर्माण गरी विद्यार्थीहरूलाई नियमित कक्षामा फर्काउने तयारी थालिने भएको छ।

यस निर्णयको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पूर्वाधार विकास मन्त्रालय (बागमती प्रदेश), शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोट लगायत सम्बन्धित निकायहरूलाई दिइएको छ।

भदौ २३, २०८३ मंगलबार ०९:२४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।