नेपालमा वन्यजन्तु विरुद्धको संगठित अपराध : निकुञ्जकै सुराकी देखि अन्तर्राष्ट्रिय गिरोहसम्मको अवैध सञ्जाल
काठमाडौं : २०७९ साल पुस १९ गते केन्द्रीय अनुसन्धान ब्युरोले चितवनबाट एकसिङ्गे गैंडाको खाग तस्करी भएको सूचना पायो। त्यही सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ४ ले गरेको विशेष अपरेसनले उक्त तस्करीमा १४ जना संलग्न रहेको पत्ता लगायो।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ७ सरस्वती नगरटोलस्थित सुवोध गौतमको घरको भुईँ तल्लामा लक्ष्मी आचार्य (जमुना कुमारी शर्मा)ले भाडामा लिएको डेरामा प्रहरीले छापा मार्यो। त्यहाँबाट इन्द्रमणी आचार्यले बोकेको झोलामा गैंडाको ५२२ ग्रामको खाग फेला पार्यो।
खाग बरामद गरिएपछि प्रहरीले उक्त कार्यमा संलग्न रहेको आरोपमा अन्य १४ जनालाई पक्राउ गर्छ। जसमा चितवन राष्ट्रिय निकुञ्जकै कर्मचारीसमेत रहेकी कमला तामाङ पनि थिइन्। उनी निकुञ्जमा चोरी-सिकारी हुन नदिन सुराकीको काम गर्थिन्।
उनीसहित पक्राउ पर्नेमा इन्द्रमणी आचार्य, जमुना कुमारी शर्मा, बाबुलाल भट्टराई, डम्बरकुमार आलेमगर, दान बहादुर राना, निर्मल शाही, हरिमाया राना, कमला तामाङ, वीरमान वाइबा र सोम बहादुर चेपाङलाई अदालतले २०८२ साल असार ११ गते दोषी ठहर गर्यो।
यो घटना कुनै संयोग नभएर सुनियोजित भएको पाइयो। मुख्य योजनाकार थिए, सोमबहादुर चेपाङ। उनले दिएको बयानअनुसार उनको १२-१३ लाख ऋण थियो। त्यो तिर्न नसकेपछि आफूले गैंडा मार्ने योजना बनेको बताएका छन्। उनले योजना बनाएपछि थप अरू साथीहरू खोजे।
२०७९ सालको दशैं र तिहारको बीचमा सिकारको लागि चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको खगेरी खोलाको जंगल रोजे। राजकुमार चेपाङ र पूर्णलाल चेपाङसँग मिलेर सोमबहादुरले सिकार गर्छन्। राजकुमारले भरुवा बन्दुक प्रयोग गरी गैँडाको देब्रे पातामा गोली प्रहार गरेका थिए। गैंडा ढलेको ३० मिनेटपछि उनीहरूले खाग निकाले।
सिकारपछि खागलाई पकाउने भाँडामा राखेर उमालेर सुकाइएको थियो। यसको शक्ति र बेच्ने मूल्य यकिन गर्न बडहरे खोला र भण्डारामा दुई पटक अनौठो 'खुर्सानी परीक्षण' गरे। डल्ले रातो खुर्सानीलाई दुई टुक्रा पारी खागको फेदमा राखेर १ मिनेटपछि चाख्दा यदि खुर्सानीको पिरो हराएमा खागमा शक्ति रहेको मानिने अन्धविश्वासका आधारमा यसको परीक्षण गरियो। तर, परीक्षणका क्रममा खागले खुर्सानीको पिरो मार्न नसकेको कारण ग्राहकहरूले कमजोर खाग भनेर नकिन्लान् कि भन्ने पिर उनीहरूलाई थियो।
गैंडा मारेपछि बेच्ने बजार भने काठमाडौं नै थियो। २०७९ मंसिर १ गते कमला तामाङ (सम्झना) र वीरमान वाइबाले मोटरसाइकलमार्फत खाग काठमाडौं ल्याएका थिए। कमला तामाङले आफू विगत १२-१३ वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जको सुराकीको रूपमा कार्यरत रहेको बयान दिएकी थिइन्। काठमाडौंमा खागको मूल्य ३० लाख रुपैयाँबाट वृद्धि गर्दै लैजाने उनीहरूको उद्देश्य थियो।
हरिमाया राना, कमला तामाङ र निर्मल शाहीबीच समन्वय गराएकी थिइन्। त्यस्तै निर्मल शाहीले लैनचौरस्थित होटल लाफामा कमला तामाङको खर्च तिरिदिएका थिए। पछि, निर्मल र दान बहादुरले ट्याक्सी प्रयोग गरी आखेटोपहार चाबहिल पुर्याएका थिए। डम्बरकुमार आले र बाबुलाल भट्टराई उनीहरूले सामान प्राप्त गरी अन्तिम ग्राहकको खोजी र मूल्य निर्धारणमा भूमिका खेलेका थिए। जमुनाकुमारी शर्माले सरस्वतीनगरस्थित आफ्नो डेरा कोठालाई कारोबार स्थलको रूपमा उपलब्ध गराएकी थिइन्।
तस्करीको डिजिटल कडी प्रताप सिंह चौधरीको मोबाइलबाट पुष्टि भएको थियो। बाबुलाल भट्टराईको मोबाइल सामान्य भएकोले उनकै अनुरोधमा प्रतापले ह्वाट्सएपमार्फत खागको तस्बिर डम्बर आलेबाट प्राप्त गरी जमुनाकुमारी शर्मालाई पठाएका थिए।
अदालतले १० जना दोषी ठहर भए पनि प्रताप सिंह चौधरी र गजाधर सापकोटाले सफाइ पाएका छन्। प्रतापको हकमा, उनले केवल आफ्नो मामा (बाबुलाल) को अनुरोधमा डिजिटल कडीको रूपमा फोटो पठाएको, तर उनको आपराधिक मनसाय वा वस्तुको प्रकृतिबारे ज्ञान नभएको आधारमा सफाइ दिइएको उल्लेख गरेको छ। फरार रहेका राजकुमार चेपाङ र पूर्णलाल चेपाङको हकमा मुद्दा मुल्तबीमा राखिएको छ।
उनीहरूले कसलाई बेच्न चाहन्थे ? उनीहरूको ग्राहक को हुन् भन्ने खुल्दैन। लामो समयसम्म केन्द्रीय अनुसन्धान ब्युरोमा काम गरेका नेपाल प्रहरीका डिआइजी प्रवीण पोखरेल तस्करीमा संलग्नलाई नै यो तस्कर कतिसम्म छ भन्ने थाहा नहुने बताए।
“मार्ने-संकलन गर्ने र ओसारपसार गर्ने एउटा समूह हुन्छ। त्यसपछि उनीहरूले कहाँ-कहाँ दिन्छन् भन्ने कुरा सुरुमा संलग्नलाई थाहा नहुन पनि सक्छ,” पोखरेलले भने, “यो तस्करीको जालो यहीसम्म छ भनेर भन्न सकिँदैन।”
पछिल्लो समय गैंडाको मात्रै हैन, सालक पनि निकै चोरी हुनेमा परेका छन्। संखुवासभा जिल्लामा भएको सालकको खपेटा तस्करी प्रकरण ठूलो सञ्जाल जोडिएको मुद्दा हो। जिल्ला अदालत संखुवासभाले २०८३ साल वैशाख २२ गते अन्तिम फैसला गर्यो। लोपोन्मुख प्रजातिमा पर्छ 'कालो सालक'। २०८० फागुन १३ गते अभियोग पत्र दर्ता भएकोमा २०८ किलो ७६ ग्राम सालकको खपेटा बरामद भएको उल्लेख छ।
दोस्रो घटना,
२०८० साल पुस ११ गते बेलुकी करिब बजेको समयमा संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर २ च्याम्ताङस्थित चेपुवाबाट च्याम्ताङतर्फ जाने केही मानिसहरू ढाडमा सेतो प्लाष्टिकको बोरा बोकेर हिँडिरहेका थिए। त्यही बेला इलाका प्रहरी कार्यालय हेदाङना र प्रहरी चौकी चेपुवा लिङगमको गस्ती टोली अचानक उनीहरूको सामुन्ने आइपुग्यो। प्रहरीलाई देख्नासाथ बोरा बोक्ने सातै जनाले बोरा फाली भाग्ने प्रयास गरे।
प्रहरीले ती सेता बोराहरू खोलेर हेर्दा सालकको खपटा (आखेटोपहार) देख्यो। सात वटा बोरामा रहेको आखेटोपहारको तौल जम्मा २०८ केजी ७६ ग्राम थियो। प्रहरीले सोही दिन यही घटनामा संलग्न रहेको शंकाको आधारमा ३५ वर्षीय छिरिङ भोटेलाई पक्राउ गर्यो।
घटनामा सबैभन्दा खतरनाक विषय खपेटा बोक्न नाबालिगको प्रयोग भएको पाइयो। फैसलामा उल्लेख भएअनुसार १५ वर्षीया नाबालिका "संखुवासभा (क)" समेत पक्राउ परेका थिए। सालकका खपेटाहरू भने छिरिङ भोटेले नै ल्याएका थिए।
च्याम्ताङ ल्याएपछि उनले नाबालिकाको घरमा सामान लुकाएका थिए। प्रहरीले पक्राउ गरेपछि छिरिङले आफ्नो भोटे भाषाको प्रयोग गर्दै नाबालिकालाई फकाउँदै भनेका थिए, ‘तिम्रो उमेर कम छ, तिमीलाई जेल सजाय हुँदैन। यदि भइहाले पनि अदालतको सबै खर्च म बेहोर्छु, तिम्रो परिवारको जिम्मा म लिन्छु।’ यति भनेपछि ती नाबालिग भारी बोक्ने तयार भए।
काठमाडौंको बौद्धदेखि इटहरीको गोप्य गोदामसम्म
यो तस्करीको योजना पहिलै बुनिएको थियो। छिरिङ भोटे र उनको परिवार काठमाडौंको बौद्ध तिनचुली रामहिटीमा बस्थे। जहाँ उनीहरू चौरीको पुच्छर बेच्ने पसल चलाउँथे। करिब एक वर्षअघि सोही पसलमा इटहरी बस्ने छुम्बी तार्छे भोटेसँग छिरीङको भेट भयो। छिरिङले छुम्बीलाई सालकको खपटा खोजिदिन आग्रह गरे र चीनको नाका खुलेपछि प्रति केजी १८ देखि २० हजार रुपैयाँसम्ममा बेच्न सकिने दाबी गरे।
छिरिङले छुम्बीलाई काठमाडौं बोलाएर सुरुमा नौ लाख रुपैयाँ बैना दिए। छुम्बीले पूर्वी नेपालका जिल्लाहरूबाट खपटा संकलन सुरु गरे। ६ महिनापछि इटहरीमा फेरि भेट हुँदा छिरिङले थप ९ लाख रुपैयाँ बुझाए। २०८० साल मंसिरको अन्तिमतिर २०८ केजी खपटा जम्मा भएको खबर पाएपछि छिरिङ इटहरी पुगे। मूल्य पनि तय भयो।
सुरुको ७५ केजी: प्रति केजी साढे आठ हजारका दरले जम्मा छ लाख ३७ हजार ५०० र पछिल्लो १३३ केजी: प्रति केजी साढे नौ हजारका दरले जम्मा १२ लाख ६३ हजार ५०० गरी १९ लाख एक हजार तोकियो। छिरिङले बाँकी रहेको एक लाख रुपैयाँ नगद बुझाएर इटहरी भद्रटोलस्थित छुम्बीको सटर गोदामबाट ७ वटा सेतो बोरामा प्याक गरिएको खपटा बुझेका थिए।
चामलको बोरामुनि लुकाएर तस्करी
सामान बुझेपछि इटहरीबाट चीनको सीमा नजिक संखुवासभाको च्याम्ताङसम्म पुर्याउने उनीहरूको योजना थियो। छिरिङले यसका गोदामबाट सिटी सफारीमा हालेर सामान इटहरी बजार पुर्याए, त्यहाँबाट सामान्य बसको छतमा राखेर धरान ल्याई एउटा होटलमा लुकाए, त्यसपछि प्रहरीले शंका नगरोस् भनी धरानको होलसेल पसलबाट ३० बोरा चामल किने।
चौथो चरणमा उनले भाडाको ट्रकमा तल सालकको खपटाका बोराहरू राखेर माथिबाट चामलका बोराले थिचेर लोड गरे र २० हजार भाडा तिरेर संखुवासभाको खाँदबारी ल्याए। खाँदबारीबाट पुनः ६० हजार भाडा तिरेर ट्याक्टरमा सोही चामल र खपटा लोड गरी च्याम्ताङतर्फ पठाए।
ट्याक्टर बाटोमा आउँदै गर्दा उनले परिवर्तित नाम "संखुवासभा (क)" लाई फोन गरी १/२ दिन सामान लुकाउन घरको कोठा खाली छ कि छैन भनी सोधेका थिए र सहमति पाएपछि २०८० पुस १० गते सामान उसको घरमा राखेका थिए। आफ्नो घर लैजानका लागि छिरिङले सडक निर्माण कार्यमा खटिएका ५ जना मजदुरहरूलाई चामलको बोरा बोक्ने बहानामा प्रतिव्यक्ति दुई हजार रुपैयाँ ज्याला दिने गरी बोलाएका थिए। तर, च्याम्ताङको बाटोमा प्रहरी देखेपछि उनीहरू त्यो सामान गन्तव्यमा पुराउन भने सकेनन्।
छुम्बी तार्छे भोटेले यो विशाल परिमाणको खपटा संकलन गर्न विभिन्न जिल्लामा आफ्ना एजेन्टहरू परिचालन गरेका थिए। सिन्धुली दुधौलीका खिलबहादुर सुनुवारले स्थानीय गाउँलेहरू (खड्गबहादुर मगर, जोगी जेठा, डम्बरबहादुर सुनुवार र मोने मगर) बाट सस्तो मूल्यमा सालकको खपटा संकलन गर्थे।
उनले सो खपटा प्रति केजी साढे आठ हजारका दरले पटक-पटक गरी जम्मा ४० केजी छुम्बीलाई बुझाएका थिए। दोलखाका राजु कुमार तामाङले पुष्कर तामाङ नामका व्यक्तिमार्फत चैत/वैशाखदेखि असोज/कार्तिकसम्ममा ३५ केजी खपटा संकलन गरी काठमाडौंको रामहिटीका होटलहरूमा पुर्याएर छुम्बीलाई प्रति केजी साढे आठ हजारदेखि १२ हजारसम्ममा बेचेका थिए।
छुम्बीकी जेठी सासू छेसाङ भोटेले धरान र धनकुटा आसपासबाट एक्लै १३३.६ केजी खपटा संकलन गरी प्रति केजी नौ हजार रुपैयाँका दरले छुम्बीलाई इटहरीमा बुझाएकी थिइन्।
प्रहरी हिरासतमा सबै कुरा स्वीकार गरेका प्रतिवादीहरू अदालतको इजलाससमक्ष उभिएर भने कसुरमा इन्कार रहे। छिरिङ भोटेले आफू वारदातको दिन घटनास्थलमा नभई आफ्नै घर रिदाकमा चिया पसल चलाएर बसेको दाबी गरे। छुम्बी तार्छेले आफू केवल जडीबुटीको साधारण व्यापारी मात्र भएको र सालकको खपटासँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए।
खिलबहादुर र राजुकुमारले पनि प्रहरीले जबरजस्ती बयान गराएको भन्दै आफूहरू निर्दोष रहेको बताएका थिए। तर राष्ट्रिय विधि-विज्ञान प्रयोगशाला खुमलटारको रिपोर्टले बरामद भएको वस्तु अति संकटापन्न "कालो सालक" (Chinese Pangolin) को खपटा नै भएको प्रमाणित गरिदियो।
प्रतिवादीहरू र नाबालिकाबीच वारदात अगाडि दिनहुँ जसो सम्पर्क भएको कल डिटेल रेकर्ड (CDR) फेला पर्यो। त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरोले गरेको मोबाइल परीक्षणमा छिरिङ भोटे र नाबालिकाको मोबाइलमा संरक्षित सालकको खपटाका तस्बिरहरू, छुम्बीको मोबाइलमा चितुवाको दाराको भिडियो र राजु कुमारको मोबाइलमा सालकको फोटो फेला पर्यो। यिनै प्रमाणको आधारमा संखुवासभा जिल्ला अदालतका माननीय न्यायाधीश राजकुमार कोइरालाको इजलासले उनीहरूलाई संगठित अपराध ऐन अन्तर्गतको समूह बनाएर अपराध गरेको कुरामा प्रत्यक्ष प्रमाण नपुगेको भन्दै संगठित अपराधतर्फ सफाइ दियो।
तर, संकटापन्न वन्यजन्तुको अवैध ओसारपसार र खरिद-बिक्री गरेको पुष्टि भएको भन्दै अदालतले मुख्य चार प्रतिवादीहरू छिरिङ भोटे, छुम्बी तार्छे भोटे, खिलबहादुर सुनुवार र राजु कुमार तामाङलाई दोषी ठहर गर्यो। उनीहरूलाई ५/५ वर्ष कैद र जनही पाँच लाख जरिवाना तोक्यो।
फरार रहेका अन्य ६ जना प्रतिवादीहरू (छेसाङ भोटे, पुष्कर तामाङ, खड्गबहादुर मगर, डम्बरबहादुर सुनुवार, जोगी जेठा र मोने मगर) को हकमा भने म्याद तामेल हुँदा पनि उपस्थित नभएकाले मुद्दा मुल्तबीमा राखियो।
तेस्रो घटना हो, २०७४ साल माघ १५ गतेको। टर्किस एयरलाइन्सको उडान नम्बर TK0726 इस्तानबुल हुँदै काठमाडौं अवतरण भयो। यात्रुहरू धमाधम ओर्लँदै थिए। ती यात्रुहरूमध्ये दुई जना चिनियाँ नागरिक थिए। ३८ वर्षीय क्यु गुओरोङ (QIU GUORONG) र ३३ वर्षीय क्यु लेबाओ (QUE LEBAO)।
उनीहरू आफ्नो ६ थान ठूला लगेज (सुटकेसहरू) गुडाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको 'रेड च्यानल' क्षेत्रमा आइपुगे। जब भन्सारका कर्मचारीहरूले उनीहरूका सुटकेसहरू लगेज नम्बर TK290728 देखि TK292838 सम्म एक्स-रे मेसिनमा राखे, मेसिनको स्क्रिनमा अचानक 'रेड' (शंकास्पद) चिन्ह देखा पर्यो।
शंका लागेर भन्सार र प्रहरी टोलीले ती ६ वटै सुटकेसहरू खोल्न लगाए। प्रत्येक सुटकेसको तौल करिब ३२ केजी थियो। सुटकेसभित्र कपडा वा सामान्य सामान होइन, प्लाष्टिकको १/१ केजीको पोकाहरूमा प्याक गरिएका अनौठा खपटा जस्ता आखेटोपहारहरू कोचिएका थिए। तौल गर्दा त्यो प्याकेटहरूमा जम्मा १६२ केजी संरक्षित वन्यजन्तु सालकको खपटा फेला पर्यो, जसलाई प्रहरीले तत्काल बरामद गरी दुवै चिनियाँ नागरिकलाई पक्राउ गर्यो।
प्रहरीको अनुसन्धानअनुसार क्यु गुओरोङ र क्यु लेबाओ चीनमा मिलेर रक्तचन्दनको व्यापार गर्थे। सोही व्यापारको सिलसिलामा उनीहरू अफ्रिकी राष्ट्र कंगो पुगेका थिए।
कंगोको किन्सासा राज्यमा बस्दा उनीहरूको भेट त्यहाँका स्थानीय 'क्लाइस' (CLISE) नामका व्यक्तिसँग भयो। क्लाइसले उनीहरूलाई एउटा अनौठो सल्लाह दिए: "यो सालकको खपटाको सुप बनाएर खायो भने हेपाटाइटिस 'बी' (Hepatitis B) र पेटसम्बन्धी रोगहरू निको हुन्छ।"
क्यु गुओरोङ आफैँलाई पेटको बिमारी थियो। त्यसैले चीनमा रहेका आफ्ना बिरामी आफन्त र छिमेकीहरूलाई समेत बाँड्ने र आफैँले पनि औषधिको रूपमा प्रयोग गर्ने मनसायले उनीहरूले खपटा किन्ने योजना बनाए। उनीहरूले कंगोमा दोभाषे र कोठा खोज्न सहयोग गर्ने चिनियाँ नागरिक जि मो (ZHI MO)को सहयोगमा क्लाइससँग डिल गरे।
प्रति सुटकेस २०० देखि २५० अमेरिकी डलरका दरले उनीहरूले जम्मा एक हजार२०० देखि एक हजार ३२० अमेरिकी डलर बुझाएर ६ वटा सुटकेसमा १६२ केजी सालकको खपटा लोड गरेर नेपालतर्फको हवाई यात्रा तय गरेका थिए।
अनुसन्धान अघि बढ्दै जाँदा यो सामान्य ओसारपसार मात्र नभई एउटा संगठित अन्तर्राष्ट्रिय सञ्जाल भएको खुल्यो, जसमा विभिन्न देशका एजेन्टहरू सक्रिय थिए, ली कुन्ताङ (LI KUNTANG - चिनियाँ एजेन्ट): चीनको ग्वान्जाओमा कपडा व्यापार गर्ने कुन्ताङ यी दुई प्रतिवादीका पुराना साथी थिए। क्यु र लेबाओ कंगोको विमानस्थलमा हुँदा उनीहरूले सुटकेसको ट्याग र बोर्डिङ पासको फोटो 'विच्याट' (WeChat) मार्फत ली कुन्ताङलाई पठाएका थिए।
ली कुन्ताङ उनीहरू काठमाडौं आइपुग्नु अगावै नेपाल आइसकेका थिए। एमडी मायेजुद्दिन मियाँ (MD MAYEJUDDIN MIAH - बंगाली एजेन्ट): नेपाल आएपछि चिनियाँ तस्करहरूलाई सुरक्षित रूपमा रिसिभ गर्ने जिम्मा बंगलादेशी नागरिक मायेजुद्दिनको थिए। ली कुन्ताङले क्यु लेबाओको मोबाइलमा मायेजुद्दिनको फोटो र उनले भरेको विमानस्थल कार्ड स्लिपको फोटो पठाएका थिए, ताकि काठमाडौं विमानस्थलमा उनीहरूले एक अर्कालाई सजिलै चिन्न सकुन्।
बारा जिल्ला कलैया नगरपालिका वडा नम्बर १४ का नेपाली नागरिक उमेश चौधरी यो सञ्जालको स्थानीय कडी थिए। दुई चिनियाँ तस्करहरू विमानस्थलमा समातिएर गौशाला प्रहरी वृत्तमा हिरासतमा राखियो। त्यसपछि ली कुन्ताङ र बंगलादेशी नागरिक मायेजुद्दिनसँगै उमेश चौधरी पनि उनीहरूलाई भेट्न गौशाला वृत्त पुगेका थिए र उनीहरूलाई ज्याकेट समेत दिएर फर्केका थिए।
मोबाइलभित्र वन्यजन्तुको 'भर्चुअल' बजार
केन्द्रीय अनुसन्धान ब्युरो (CIB)ले पक्राउ परेका प्रतिवादीहरूको मोबाइल फोन परीक्षण गर्दा सनसनीपूर्ण डिजिटल प्रमाणहरू फेला परे। मोबाइलमा बरामद सालकको खपटा प्याक गरिएका १/१ केजीका पोकाहरूको फोटो ग्रुप च्याटमा शेयर गरिएको भेटियो। त्यति मात्र होइन, मोबाइलभित्र बाघको दाँत, रक्तचन्दन काठ, कछुवा, गोही, जरायो, गैँडा, सर्प जस्ता बहुमूल्य र प्रतिबन्धित वन्यजन्तुका अङ्ग तथा भिडियोहरू फेला परे। यसले उनीहरू पेशेवर अन्तर्राष्ट्रिय वन्यजन्तु तस्कर समूहका सदस्य रहेको प्रस्ट पार्थ्यो।
बरामद खपटा नेपालको हिमाली सालकको नभई अफ्रिकन सालकको थियो। जिल्ला वन कार्यालय काठमाडौंले परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार पठाएकोमा प्रयोगशालाको रिपोर्टले उक्त आखेटोपहार अति दुर्लभ "जाइन्ट प्याङ्गोलिन" (Smutsia gigantea वा Manis gigantea) प्रजातिको सालकको खपटा भएको प्रमाणित गरिदियो। यो प्रजाति साइटिस (CITES)को अनुसूची-१ मा सूचीकृत अति संकटापन्न स्तनधारी जन्तु हो, जसको व्यापार अन्तर्राष्ट्रिय रूपमा पूर्ण प्रतिबन्धित छ।
काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश कृपासुर कार्कीको इजलासले यस मुद्दामा सुनुवाइ गर्यो। अदालत समक्ष प्रतिवादीहरूले औषधिको लागि सामान ल्याएको र नेपालमा यो गैरकानूनी हो भन्ने थाहा नभएको दाबी गरे।
तर, अदालतले ३ जना भन्दा बढी मानिसहरू मिलेर, विभिन्न देशमा सम्पर्क सञ्जाल बनाई, योजनाबद्ध रूपमा म्यासेज र फोटो आदानप्रदान गरी अन्तर्राष्ट्रिय तस्करी गरेकाले यसलाई "संगठित अपराध" ठहर गर्यो। अदालतले २०७६ मंसिर ८ गते गरेको फैसलामा क्यु गुओरोङ र क्यु लेबाओलाई ५ वर्ष कैद र ५ लाख जरिवाना संगठित अपराध ऐनअन्तर्गत थप ५० प्रतिशत सजाय थपिँदा उनीहरू प्रत्येकलाई ७ वर्ष ६ महिना कैद र प्रतिव्यक्ति सात लाख पचास हजार रुपैयाँ जरिवाना हुने फैसला भयो।
फरार रहेका बाराका उमेश चौधरी अदालतमा हाजिर नभएकाले उनको हकमा मुद्दा मुल्तबीमा राखियो र अंश रोक्का गरियो यो अन्तर्राष्ट्रिय तस्कर समूहलाई पक्राउ गर्न र अनुसन्धानमा सहयोग पुर्याउने सुराकी वा अनुसन्धानकर्तालाई प्रतिवादीहरूलाई भएको जरिवानाको २० प्रतिशत बराबरको रकम पुरस्कार दिने ऐतिहासिक फैसला भएको थियो।
किन हुन्छ चोरी ?
वन्यजन्तुको तस्करी अन्धविश्वासले हुने गर्छ। नेपालमा वन्यजन्तु संरक्षणको खाका तयार गर्ने मध्येका एक डा. हेमन्त मिश्रको पुस्तक गैंडाको आत्मामा उल्लेख गरिएअनुसार गैंडाका अंग सबै प्रकारको रोगको रामवाण औषधि भन्ने विश्वासका आधारमा नेपालका छिमेकी चीन र भारतमा धेरै अगाडिदेखि गैंडाका सबै अंगको खरिद बिक्री हुन्थ्यो। उनका अनुसार भारत र चीनमा गैंडाको खागको धुलो मिसाएर बनाएको एक विशेष खालको औषधि खाएमा सबै खालका ज्वरो तत्काल निको हुन्छ भन्ने मान्यता छ।
त्यस्तै गैंडाको सुकाएको जिब्रोको धुलो दूधसँग मिसाएर ख्वाएमा बोल्न कठिन हुने बालबालिकाले बोल्न थाल्छन् र गैंडाको मासु वा खागले पुरुषमा यौन शक्ति बढाउँछ भन्ने विश्वास गरिन्छ। यसैगरी गैंडाको पिसाबले दमको रोग निको पार्छ भन्ने विश्वास नेपालमा पनि रहेको उल्लेख छ। गैंडाको गोबर पिरो खुर्सानी उब्जाउनका लागि सबैभन्दा राम्रो मल मानिन्छ। गैंडाको पुच्छर गर्भवती महिलाको सिरानीमुनि राखेमा प्रसूति पीडाबाट मुक्ति हुन्छ भन्ने पनि भनाइ छ। कुनै ठोस आधुनिक औषधीय प्रमाण नभए पनि यस्ता अन्धविश्वासका कारणले एसियाको अधिकांश बजारमा गैंडाको शरीरको जिब्रोदेखि पुच्छरको टुप्पोसम्मको अंगहरूको किनबेच वर्षोंदेखि चल्दै आएको छ।
डिभिजन वन कार्यालय धादिङले प्रकाशित गरेको विष्णुप्रसाद आचार्यको “हाम्रो सालक प्यारो सालक अनुसार सालक” सालक एउटा शान्त स्वभावको स्तनधारी वन्यजन्तु हो। सालकको खपटा र शरीरका विभिन्न अंगहरूको अवैध अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग र व्यापार हुने भएकाले यसको चोरी सिकारी व्यापकरूपमा हुन्छ। खतरा पर्दा सालक भाग्नुको सट्टा गुँडुल्किएर एकै ठाउँमा डल्लो परेर बस्छ। प्राकृतिक शत्रुहरूबाट बच्न यो उपाय उपयोगी भएता पनि सिकारी मानिसहरूका लागि भने यसलाई बिना कुनै मेहनत सजिलै समात्न र ओसारपसार गर्न सजिलो बन्छ, जुन यसको सिकार हुनुको मुख्य अभिशाप बनेको छ।
उक्त पुस्तकका अनुसार नेपाललगायत विभिन्न मुलुकहरूमा परम्परागत अन्धविश्वासका कारण यसको सिकार गरिन्छ। कतिपय अवस्थामा ग्रामीण क्षेत्रका मानिसहरूले चेतनाको अभावका कारण मासु खाने लोभमा वा यसको खपटालाई घरमा सजाएर राख्नका लागि पनि यसलाई मार्ने गर्छन्। तस्करहरूले सोझा र सामान्य आर्थिक अवस्था भएका ग्रामीण बासिन्दाहरूलाई आर्थिक प्रलोभन देखाई सालक समात्न वा यसका अंगहरू ओसारपसार गर्न प्रयोग गर्छन्। चीन र भियतनाम जस्ता देशहरूमा यसको खपटाबाट परम्परागत चिनियाँ औषधि बनाइन्छ।
शर्माले लेख्छन्, “यसले बाथ रोग निको पार्ने, रक्तसञ्चार बढाउने र आमाको दूध बढाउने अन्धविश्वास रहेको छ। उक्त पुस्तक अनुसार अध्ययनले के देखाएका छन् भने विश्वमा अवैधरुपमा हुने व्यापारमा वन्यजन्तुको अंगको व्यापार चौथो अवैध व्यापारभित्र पर्दछ। संसारमा प्रत्येक ५ मिनटमा एउटा सालक मारिन्छन् र संसारको सबैभन्दा बढी चोरी सिकारी हुने स्तनधारी वन्यजन्तुमा सालक पर्दछ।”
साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनकी संस्थापक डा. तुलसी लक्ष्मी सुवालका अनुसार सालक संसारमै धेरै चोरी सिकारी हुनेमा पर्छ। नेपालमा पाइने दुई प्रजातिका चिनिया र इण्डियन भने अति लोपोन्मुख प्रजातिमा पर्छ। नेपालबाट सालक तस्करी हुने मात्रै नभएर अन्यत्र देशको ट्रान्जिटसमेत रहेको आफ्नो अनुसन्धानबाट खुलेको उनले बताइन्। “नेपालमा सालक उपभोग गर्ने स्थान पनि हो,” उनले भनिन्, “ट्रान्जिट पनि हो।”
घट्दो चोरी
केन्द्रीय अनुसन्धान ब्युरोका तथा प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता अनुपम शमशेर जबराका अनुसार पछिल्लो समय प्राय: सालक, चितुवा, भालु, कस्तुरी, बाघ, गैंडा, बँदेल, मृग प्रजाति मारिन थालेका छन्। बाघ, गैंडा, चितुवा बाहेक नक्कली भालुको पित्त, नक्कली कस्तुरी बिना, सालकको खपटा स्थानीय मानिसलाई पैसाको प्रलोभन देखाई मार्न लगाउने र भरियामार्फत सार्वजनिक गाडी, मोटरसाइकल प्रयोग गरी काठमाडौंसम्म ल्याउने गरेको देखिएको छ। मृग प्रजाति, बँदेल आदि मासुको लागि मार्न लगाउने गरेको देखिएको छ। त्यसैगरी खुल्ला सिमाना भएका उच्च हिमाली तथा तराई क्षेत्रबाट समेत ओसारपसार हुने गरेको छ।
किन मारिन्छन् त ?
जबराका अनुसार वन्यजन्तुको अङ्गप्रत्यङ्ग बढी मूल्यमा बिक्री हुन्छ भन्ने अफवाह फैलाई गरिबी, बेरोजगार तथा अशिक्षाको कारणले स्थानीय समुदायबाट मारिने गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो पछिल्लो समयमा प्रहरी कारबाहीमा पक्राउ परेकाहरूको बयानअनुसार बीचका मानिसहरूले कुरा गरी वन्यजन्तु मारेर ल्याउनु, त्यसको आखेटोपहार बिक्री हुन्छ अनि केही कमिसन तपाईंलाई छुट्याउँछु भनी सुरुमै केही रकम लगानी गर्ने/दिने गरेको र तत्पश्चात् वन्यजन्तु पाइने स्थानीय समुदायका व्यक्तिहरूबाट वन्यजन्तु मारिने गरेको शमशेरले बताए। वन्यजन्तुको कारोबार गर्ने व्यक्तिहरू प्राय: वन्यजन्तुको आनीबानी बारेमा जानकार हुने गरेको समेत खुलेको उनले बताए। यदाकदा राष्ट्रिय निकुञ्ज कार्यालय, वन कार्यालयसँग सहयोगीको रूपमा सम्पर्क बढाउने व्यक्तिहरूको समेत दोहोरो भूमिका हुने गरेको देखिने गरेको छ।
ब्युरोले उपलब्ध गराएको तथ्यांकअनुसार२०७३/७४ देखि चालु आवसम्म ब्युरोले २०४ वटा अप्रेसन गर्यो। जसमा स्वदेशी पुरुष ४०६, महिला १७, विदेशी पुरुष १३ र विदेशी महिला १ गरी ६४२ जना पक्राउ परेका छन्। यो तथ्यांक ब्युरोले गरेको अप्रेसन मात्रै हो।
देशभरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०८२/८३ सम्म ८९३ जना वन्यजन्तु तस्करीमा परेका छन्। यो सातै प्रदेशको तथ्यांक हो। ब्युरोका प्रवक्ता अनुपम शमशेर जबरा पछिल्लो समय तस्करी घटेको बताउँछन्।
“वन्यजन्तु अपराध नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी सरोकारवाला निकायहरुबिच समन्वय, सहकार्य एवं सक्रियता तथा पछिल्लो तीन/चार वर्षदेखि यस ब्यूरोले प्रहरी केन्द्रित अनुशिक्षण कार्यक्रम, स्थानीय समुदाय लक्षित सचेतना कार्यक्रमहरू भएका छन्,” उनले दाबी गरे, “होटेल व्यवसायी, सार्वजनिक सवारी व्यवसायी, चालक, सहचालक, स्थानीय जन प्रतिनिधि, समुदाय केन्द्रित सचेतना कार्यक्रम, समुदायमा आधारित प्रति चोरी सिकार इकाई आदि कार्यक्रमले वन्यजन्तुको चोरी सिकारमा कमी आउनुका साथै वन्यजन्तु अपराध न्यूनीकरण भई वन्यजन्तु तथा वनजन्य कसुरमा पक्राउ तथा बरामद संख्या घट्दो दरमा रहेको छ।”
डिआइजी प्रवीण पोखरेल बाघ मार्न कम हुनुमा अन्तर्राष्ट्रिय सञ्जाल तोडिएकाले बाघ भने कम मारिएको बताउँछन्। “भारत र नेपालको खुला सिमानाको फाइदा उठाउँदै पाटे बाघको अवैध सिकार र तस्करीमा संलग्न एक संगठित घुमन्ते गिरोह हो,” उनले भने, “रैथाने शैली र परम्परागत हतियार प्रयोग गरेर निकुञ्जहरूमा बाघ मार्ने र तिनका छाला तथा हड्डी चीन र अन्य देशमा तस्करी गर्ने कार्यमा यो समूह सक्रिय रहँदै आएको छ यस समूहका केही व्यक्तिहरू जेल परे केही काल गतिले मरेपछि यो बाघ तस्करी कम भएको छ।”
पोखरेलका अनुसार कुनै सक्रिय गिरोह नै सक्रिय नरहेपछि र नयाँ गिरोह नबनिसकेकाले पनि पछिल्ला यस्ता घटना कम हुने गरेको बताउँछन्।
सालक विज्ञ डा. सुवाल पनि नेपालमा पहिले हेरि कम चोरी हुने गरेको बताउँछिन्। उनका अनुसार पहिले सालक मार्न हुन्न भन्ने जनचेतनाको कमी, अति गरिबीले गर्दा तस्करले थोरै रकम दिए पनि मार्न तयार हुनु अनि अध्ययन अनुसन्धान नभएर सिकार हुने बताउँछिन्। “मैले अनुसन्धान गर्दा एक जना दाइले त रत्नपार्कमै घुमाएर ३ वटा सालक बेचेको कुरा गर्नु भएको थियो। उहाँलाई यो बेच्न हुन्न भन्ने पनि थाहा थिएन,” उनले भनिन्, “पछिल्लो समय जनचेतना बढेको छ पहिले हेरि कम पनि भएको छ।”
किन पक्राउ पर्दैनन् मुख्य आरोपी ?
अवैध वन्यजन्तु तस्करको बारेमा सरकारी निकायले अनुसन्धान त गर्छ, तर यसको जञ्जालबारे भने एकाध बाहेक अनुसन्धान भएको भने देखिँदैन। केही समय अघि पूर्व सेनासमेत तस्करीमा पक्राउ परेका थिए भने जनप्रतिनिधि समेतलाई कारबाही गरिएको थियो।
अहिले भने तस्करीको जालो कहाँसम्म छ भन्ने ठम्याउन नसकिएको बताउँछन् केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता अनुपम शमशेर। “कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधि नै संलग्न भएका घटनाहरू नबाहिरिएका हैनन्,” उनले भने, “जो संलग्न छ, उसैलाई तस्करीका वस्तुहरू कहाँसम्म जान्छ भन्ने कुरा थाहै नहुने रहेछ। खुलेकाको कारबाहीमा पनि परेका छन्।”
तस्करी रोक्न के गर्न सकिन्छ त ?
डिभिजन वन कार्यालय काठमाडौंका प्रमुख पुष्पराज बर्तौला तस्करी रोक्न तस्करीको सञ्जालमा अनुसन्धान हुनु पर्ने बताउँछन्। “त्यो सामान कसले मगायो, देशबाहिर हो या देशभित्र। अनुसन्धानको क्रममा यी खुले भने रोकिएलान्, तर तस्करमा संलग्नहरूसँग समेत यो कहाँसम्म पुग्छ थाहा पाउँदैनन्,” उनले भने, “हामीले बयान लिँदासमेत सकस देखिएको छ। च्यानल पत्ता लगाउनै सकिएको छैन।”
डिआइजी प्रवीण पोखरेल भने बाघ नमारिनुमा बनजरा समूहको तस्करीको जालो भत्काएकाले नियन्त्रण गर्न सकिएको भन्दै कुनै पनि समूहको तस्करी समूह पत्ता लगाएर गहिरो अनुसन्धान हुनु पर्ने बताउँछन्। “बाघमा बनजरा भन्ने समूहका नाइके पक्राउ परेपछि त्यो समूह तितरबितर भयो, नेपालमा फेरि अधिकतम १५ वर्षसम्म जेल बस्नु पर्छ,” उनले भने, “त्यसकारण पनि कम तस्करी भएको छ, तर हामी चनाखो भने हुनुपर्छ।”
साना स्तनधारी जनवार सम्बन्धी अध्येता सुवालले भने चोरी सिकारी रोक्न कानुन कार्यान्वयन गर्नुपर्ने, स्थानीयलाई अध्ययन अनुसन्धानमा सहभागी गराउने, तालिम दिने, इको टुरिजमको विकास गरेर आय आर्जनसँग जोडिदिने लगायतका काम गर्नु पर्ने बताउँछन्।
“जंगललाई पूरै आइसोलेट गरेर वन्यजन्तु जोगाउनु पर्छ भन्नेमा मलाई विश्वास लाग्दैन,” उनले भनिन्, “त्यहाँका स्थानीय नागरिकलाई आय-आर्जनको बाटोमा जोडेर जीवजन्तु जोगाउनु पर्छ।”
रामप्रसाद चौधरीको ‘हाउ टू कन्ट्रोल इलिगल वाइल्डलाइफ ट्रेड इन हिमालयज शोध’अनुसार जिम्मेवार संस्थाहरूबीच प्रभावकारी संस्थागत सम्बन्ध विकास गर्नुपर्ने, प्राविधिक पूर्वाधार विस्तार गर्नुपर्ने तथा यससम्बन्धी सूचना प्रकाशन र प्रसारलाई प्राथमिकता दिनुपर्ने सिफारिस गरिएको छ। साथै, प्रहरी, भन्सार तथा अध्यागमनका अधिकारीलाई कानुन कार्यान्वयनसम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गर्नुपर्नेमा जोड दिइएको छ।
यस्ता प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने सुझावसमेत दिइएको छ। राजनीतिक प्रभावबाट प्रशासनलाई अलग राखेमा वन्यजन्तु अपराध नियन्त्रण तथा अन्तर्राष्ट्रिय अवैध व्यापार नियन्त्रणमा संस्थागत क्षमता थप प्रभावकारी हुने उल्लेख छ।
व्यक्तिगत तहमा सम्बन्धित कर्मचारी तथा अधिकारीको व्यावसायिक नैतिकता र जवाफदेहिता अभिवृद्धि गर्नुपर्ने सुझाव छ। उनीहरूबीच व्यावसायिक सञ्जाल विस्तार गर्नुका साथै रोजगारीको सुरक्षा, सुविधा र प्रोत्साहन बढाउनुपर्नेमा जोड दिइएको छ। यसमा जीवन बीमाजस्ता सुविधासमेत समावेश गर्नुपर्ने सिफारिस गरेको छ।
त्यस्तै ‘इलिगल वाइल्ड लाइफ ट्रेड इज थ्रेटनिङ कन्जरभेस इन ट्रान्सवाउन्ड्री ल्याण्ड स्केप अफ वेस्ट्रन हिमालय’ शीर्षकको शोधमा यादव उप्रेती, नकुल क्षेत्री, महेश्वर ढकाल, ह्युगो अस्लिन, रमेश चन्द र रामप्रसाद चौधरीद्वारा लिखित अध्ययनले पश्चिम हिमालयको सीमापार क्षेत्रमा वन्यजन्तुको अवैध व्यापार संरक्षणका लागि गम्भीर चुनौती बनेको देखाएको छ।
अध्ययनले विशेषगरी नेपाल-भारत-चीन जोडिएको सीमापार क्षेत्रमा चोरी-सिकार, तस्करी र वन्यजन्तुका अंगको अवैध कारोबार बढिरहेको औँल्याएको छ। यसले जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र सीमापार सुरक्षा व्यवस्थामा समेत चुनौती थपेको अध्ययनको निष्कर्ष छ। स्थानीय बासिन्दालाई ठूलो रकमको प्रलोभन देखाएर चोरी-सिकार तथा तस्करीमा प्रयोग गर्ने गरिएको पाइएको छ। अध्ययनले सुरक्षा जाँच चौकी थप गर्ने, गस्ती बढाउने, स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने र वैकल्पिक जीविकोपार्जनका अवसर विस्तार गर्ने सुझाव दिएको छ।
भदौ २१, २०८३ आइतबार १३:१२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।