‘गोपाल त गयो; अब कुनै आमाको काख रित्तो नहोस्, कुनै बुबाले छोराको शव बोक्न नपरोस्’

‘गोपाल त गयो; अब कुनै आमाको काख रित्तो नहोस्, कुनै बुबाले छोराको शव बोक्न नपरोस्’

झापा : अर्जुनधारा-११ का ८३ वर्षीय धनपति सेढाईंको घरअगाडि नयाँ पक्की गारो ठडिएको छ। चार वर्षअघि छोरा ज्ञानिन्द्र (गोपाल) ले आफ्नै कमाइले रहरले बनाएको घर हो यो।

मंसिरमा यही घरमा नयाँ बुहारी भित्र्याउने र बुढेसकालको सहारामा जीवन बिताउने सपना थियो बा-आमाको। तर, त्यो नयाँ घरमा न खुसीका मंगलधुन बज्न पाए, न त कसैको डोली नै भित्रियो। घर त बन्यो, तर त्यसको छानामुनि आज केवल गोपालका सम्झना, उसको तस्बिर र कहिल्यै नसुक्ने आमाका आँसु मात्रै बाँकी छन्।

गत वर्ष भदौ २४ गतेको त्यो कालो दिन सम्झँदा धनपतिको घाँटी अझै अवरुद्ध हुन्छ। त्यो दिन बिहान गोपालले कसैको जीवन बचाउन रक्तदान गरेका थिए।

त्यसपछि बिरामी बुबालाई डोर्याउँदै शनिश्चरे अस्पताल पुर्याए। अस्पतालबाट फर्केपछि परिवारसँगै बसेर सन्तुष्टिका साथ खाना खाए। तर, त्यो नै परिवारसँग उनको अन्तिम भोजन बन्ला भन्ने कसैले सोचेका थिएनन्।

खाएपछि साथीहरूसँग बिर्तामोड पुगेका गोपाल जेनजी आन्दोलनको भीडमा मिसिए। अरू युवाजस्तै उनको छातीमा पनि देश बदल्ने आगो थियो। तर, त्यो छातीमा राज्यको निर्मम गोली बर्सियो। रगताम्मे अवस्थामा बीएन्डसी मेडिकल कलेज पुर्याइएका गोपाल कहिल्यै नफर्किने गरी बिदा भए।

‘मेरो छोरा दोषी थिएन, उसले देशमै केही गर्नुपर्छ भन्थ्यो,’ धनपति भक्कानिन्छन्, ‘उसलाई किन गोली हानियो? यो प्रश्नको जवाफ अझै पाएको छैन। छोरा त गयो, हाम्रो सहारा पनि गयो।’

गोपालकी आमा गुनमाया अझै पनि मूलढोकातिर हेरिरहन्छिन्- कतै छोरो मुस्कुराउँदै ‘आमा’ भन्दै पो आइहाल्छ कि! कोठामा सजिएका गोपालका सामान र भित्ताको तस्बिर हेर्दै बित्छन् उनका दिनहरू।

आन्दोलनले एक वर्ष पार गर्दा राज्यले गोपाललाई ‘सहिद’ घोषणा गरेको छ। तर, सेढाईं परिवारका लागि राज्यले दिएको यो तमगा छोराको अभाव पूर्ति गर्ने माध्यम बन्न सकेको छैन। सहिद घोषणाभन्दा पनि छोराको सहादतको मूल्य देशले चुकाउन सक्यो कि सकेन भन्ने चिन्ता उनीहरूलाई छ।

दिदी तुलसा भाइलाई दाजुभाइभन्दा बढी घनिष्ठ साथी मान्थिन्।

‘हामीले नै समाज बदल्नुपर्छ, अरूलाई पर्खेर हुँदैन भन्ने उसको जिद्दी हुन्थ्यो,’ तुलसा विगत सम्झिन्छिन्। तर, अब फेरि कुनै भाइले सडकमा रगत बगाउनु नपरोस् भन्ने उनको खबरदारी छ।

‘हामी नबोलीकनै सरकारले बुझोस्- फेरि रगत बगाएर समस्या समाधान हुँदैन। कुनै बुबाले छोराको शव हेर्न नपरोस्, कुनै आमाले छोरा कहिले फर्कन्छ भनेर रुन नपरोस्,’ उनी भन्छिन्।

अचेल देशमा बाढीपहिरोको विपत्ति र फेरि पनि नयाँ आन्दोलनका हल्ला सुन्दा धनपतिको मन चिसो हुन्छ। एकातिर प्राकृतिक विपत्ति, अर्कातिर फेरि राजनीतिक अशान्तिको त्रास।

उनी भन्छन्, ‘नागरिकले विरोध गर्न पाउँछन्, तर सरकारले युवाका कुरा समयमै सुन्नुपर्छ। वार्ताबाटै समाधान खोज्नुपर्छ। फेरि अर्को कुनै गोपालको रगत बग्ने अवस्था नआओस्।’

८३ वर्षको उमेरमा छोराको काजकिरिया सकेर सम्झनाको भारी बोकिरहेका वृद्ध धनपतिको अब एउटै अन्तिम कामना छ- ‘गोपाल त गयो, तर अब देशमा शान्ति होस्। कसैको कोख रित्तो नहोस्, कुनै बुबाले छोराको लास काँधमा बोक्न नपरोस्।’

राजकुमार ओली/नेपाल न्यूज बैंक

भदौ २३, २०८३ मंगलबार ०८:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।