६० घण्टा हिलोमा पुरिएर बाँचेकी मनिषाको मुटु चिर्ने गुनासो- ‘मलाई अंकलहरूले बचाए, तपाईंहरू किन छोडेर गएको?’
भदौ १३ गते, भोटेकोशी बहुलाएको चौथो दिन। आफ्नो ज्यान बचाउन सफल भए पनि सानी छोरी गुमाएको शोकमा काठमाडौंको अस्पतालमा उपचाररत मगर दम्पती खाना खाएर पल्टिएका मात्र के थिए, एक्कासि फोन बज्यो।
“एउटी बच्चीको जीवित उद्धार भएको छ। हाम्रो मनिषाजस्तै छिन्। फोटो/भिडियो पठाएको छु, हेर्नु त। उनलाई केही बेरमा उपचारका लागि काठमाडौँ नै पठाउने तयारी छ है।”
बाढीले टिमुरेमै बगायो भनेर रुँदै र भड्किँदै शवको थुप्रोमा समेत आफ्नी छोरीको अनुहार खोज्न पुगेका उनीहरू एकछिन अलमलमा परे। मोबाइल खोलेर हेर्दा आफ्नी छ वर्षीया छोरीलाई सशस्त्र प्रहरीले हिलोमा लतपतिएको र अर्धचेत अवस्थामा जमिनमुनिबाट निकालेको देखे।
उनीहरूलाई विश्वास नै लागेन। भिडियो हेरेको हेर्यै भए। त्यत्तिकैमा फेरि फोन बज्यो र आवाज आयो, “यताबाट नानीलाई हेलीमा हालेर पठाएको छ है। टिचिङमा लगिँदै छ। तपाईंहरू त्यहीँ भेट्नुस्।” फोन काटिनेबित्तिकै उनीहरू हतारहतार अस्पतालको मुख्य गेटमा पुगे।
पारीबाट सशस्त्र प्रहरीले एउटी बच्चीलाई काखमा बोकेर ल्याएको उनीहरूले देखे। केही बेरमै ती प्रहरी नजिकै आएर छोरीलाई गीता उचाई मगरको काखमा राखिदिए। त्यसबेला मनिषाले आफ्ना आमाबुवाको अनुहारमा हेरेर बर्रर आँसु खसालिन् तर एक शब्द पनि बोलिनन्। त्यसपछि उपचारका लागि उनलाई बालरोग वार्डमा लगियो।
“नानी खोज्दै रुँदै हामी कहाँ मात्र गएनौँ! घरकै तल नानीलाई भेटिएछ। हाम्रो ग्लोबल बैंकका सरहरूले चिनेर मलाई फोन गर्नुभएको रहेछ,” मनिषाकी आमा गीता भन्छिन्, “नानीलाई समातेपछि त मेरो मन फुरुङ्ग भयो। बल्ल सास आएजस्तो भयो। म आफैँ चार दिनदेखि जिउँदो लासजस्तै भौँतारिरहेकी रहेछु। त्यसपछि पो मलाई होस आयो, समयको पत्तो भयो।”
त्यस रात दुवै जनाले छोरीलाई हेरेरै बिताए। सम्पूर्ण थकान मेटिएजस्तो लागेर आफूहरूलाई सुत्नुपर्छ भन्ने पनि महसुस नभएको कुरा गीताले खुसी हुँदै सुनाइन्।
क्षणभरमै छोरी र घर बिलाएको त्यो दिन
गीताका श्रीमान् लोकबहादुर उचाई मगर अस्पतालको झ्यालमा बसेर टोलाइरहन्छन्, अनि फेरि छोरीलाई हेरेर मख्ख पर्छन्। उनीहरू सपरिवार अर्घाखाँचीबाट केही वर्षअघि मात्र रसुवाको टिमुरेमा बसाइँ सरेका थिए। त्यहाँ सानो जग्गा किनेर घर बनाएका उनीहरू टिमुरेस्थित ग्लोबल बैंकको शाखामा कार्यरत थिए।
छोरी भर्खर स्कुल जान थालेकी थिइन् र उनीहरूको सानो परिवारको जीवन सामान्य रूपमै चलिरहेको थियो। भदौ १० गते पनि सदा झैँ गीता सबेरै आफ्नो काममा निस्किसकेकी थिइन्। लोकबहादुर छोरीलाई बिहानको खाजा बनाइदिएर तरकारी टिप्न बारीमा पसेका थिए। त्यसबेला छोरी भने मोबाइल हेर्दै खाजा खाइरहेकी थिइन्।
बारीमा गएको केही समयमै उनलाई बाढीले झ्याप्पै छोप्यो। खाजा खाइरहेकी छोरी सम्झेर उनी हतार-हतार घर जान खोज्दा क्षणभरमै घर खोलामा बिलायो। उनलाई त्यहीँका स्थानीयले अगाडि बढ्न दिएनन्। घरसँगै छोरी पनि बगेको सोचेर उनी त्यहीँ भावविह्वल भए। आफूलाई सम्हाल्न नसकेर उनले हतार-हतार श्रीमतीलाई फोन गरे। तर, बारम्बार फोन गर्दा पनि गीताको फोन उठेन।
“मैले त छोरी बगी, अब बुढी पनि रहिन भन्ने सोचेँ। अहिले त त्यो सब सपनाजस्तो लाग्छ। मलाई त्यसबेला मेरी बुढी पनि छैन, छोरी पनि छैन, कोही छैन भनेर आफैँलाई पनि त्यही खोलामा हामफालौँजस्तो मन लागेको थियो,” घटनाको दिन सम्झिँदै उनी भन्छन्, “बाढी आउनेबित्तिकै सर्लक्कै घर लगेपछि मेरो सातो गयो, धेरै रोएँ। मैले मेरी छोरीलाई बचाउन सकिनँ भनेर आफैँलाई नै दोषी मानेको थिएँ।”
बाढी केही साम्य भएपछि उनले मनिषालाई निकै खोजे। उनको दिमागले काम गर्नै छाड्यो। करिब तीन घण्टापछि अरूको मोबाइलबाट गीतालाई फोन गर्दा बल्ल फोन उठ्यो। त्यसबेला उनले गीताको स्वास्थ्य अवस्था सोध्नेबाहेक ‘छोरी छैन’ भनेर सुनाउनै सकेनन्। त्यसपछि उनी श्रीमती भएको ठाउँमा पुगे।

‘छोरी खै ?’ भन्ने श्रीमतीको प्रश्नको जवाफ उनी दिन चाहँदैनथे। तर, उनले सबै कुरा खुलाए।
“उहाँले नानीलाई तान्न सक्नुभएन भन्दा त म छाँगाबाट खसेजस्तै भएँ। म आफैँ किन भागेछु, किन बाँचेछु भन्ने लाग्यो। बरु म पनि खोलामै बगेको भए नानीलाई भेट्न सक्थेँ कि! भन्ने अनेक कुरा दिमागमा आए”, गीताले सुनाइन्।
शवको थुप्रोमा आफ्नी छोरी खोज्दै हिँड्दा !
पछि श्रीमान्-श्रीमती दुवै मिलेर नानीलाई खोज्न थाले। घर अलि माथि डाँडामै भएका कारण उनीहरूले वरपरका सबै पाखाहरूमा खोजे। उनी भन्छिन्, “कतै पाखातिर खोलाले मेरी नानीलाई फ्याँक्यो कि, कतै ममी-ममी भनेर रोएर बसेकी छिन् कि भन्ने सोच पनि आयो। तर, उनलाई कतै भेटाउन सकेनौँ।”
आफैँ पनि सुरक्षित हुनुपर्ने चुनौतीका बीच उनीहरू दुई घण्टा हिँडेर खुइते डाँडामा पुगे। त्यहीँको टहरामा उनीहरूले टिमुरेका अन्य स्थानीयलाई पनि भेटे। झमझम पानी परिरहेको समयमा उनीहरूले त्यहीँ रातभर आगो बालेर, एक-अर्कासँग रोएर रात कटाए। बाँचेकाहरूले सामूहिक रूपमा खाना खाए, तर उनीहरूले भने केही खान सकेनन्। उनीहरू बिहान सबेरै फेरि छोरी खोज्न हिँडे।
दोस्रो दिन पनि उनीहरूले छोरीलाई भेटेनन्। त्यत्तिकैमा खुइते डाँडामा उद्धारका लागि आएको सेनाको हेलिकप्टरमा राखेर उनीहरूलाई त्रिशूली ल्याइयो। उनीहरू त्रिशूली पुग्दा बगरमा शवको थुप्रो देखिन थालेको थियो। एकै ठाउँमा दुई जना बालबालिकासहित १७ जनाको शव भेटियो भन्ने सुनेर उनीहरू पनि तीमध्ये कुनै शव आफ्नी छोरीको पो हो कि भनेर हेर्न गए।
तर त्यहाँ पनि मनिषा भेटिइनन्। त्यसपछि भने उनीहरू भिडभाड र घाइते भएको ठाउँमा मात्र होइन, हरेक शव भेटिएको ठाउँमा छोरी खोज्दै हिँड्न थाले। जति दिन बित्दै गयो, उनीहरू उति नै हार मान्दै गएका थिए। दोस्रो दिन उनीहरूले त्रिशूलीमै बिताए, तर छोरी खोज्ने क्रम भने रोकेनन्।
तेस्रो दिन पनि छोरीको खोजी सुरु गरेका उनीहरू आफैँ हिलोमा लतपतिएका थिए र सामान्य घाउचोट पनि लागेको थियो। पछि उनीहरूलाई पनि काठमाडौं जाने गाडीमा राखेर उपचारका लागि अस्पताल पठाइयो।
“त्यसबेला त यो ठाउँमा मेरी छोरीलाई छोड्न पो आएका रहेछौँ भन्ने लागेको थियो”, गीता भावुक सुनिइन्।
उद्धार गरेर राखिएको ठाउँमा मनिषाकै उमेरका नानीहरू देख्दा उनले आफ्नी छोरीलाई झन् बढी सम्झिएको बताइन्।
“निद्रा ठ्याक्कै लाग्दैनथ्यो। कसैले 'नानी यस्तो भएछ है, दिदी आउनुस् खाऔँ' भन्दा मलाई यस्तो नभनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो,” उनी भन्छिन्, “एक मनले फेरि मेरी नानीसँगै खेल्ने साथी पनि त छैनन्, बिचरा उनीहरूको झन् परिवार नै छैन भन्ने लाग्थ्यो। अनि फेरि राति हुँदै जाँदा बरु म पनि खोलामा बगेको भए हामी आमा–छोरीको आत्माको त भेट हुन्थ्यो होला भन्ने लाग्थ्यो। मेरी नानी एक्लै भई भनेर साह्रै नराम्रो लाग्थ्यो।”
भदौ १२ गते शुक्रबार साँझ ६ बजेतिर सशस्त्र प्रहरीको टोलीले टिमुरेमा रोइरहेको, हिलोमा गाडिएको र सामानले थिचिएको अवस्थामा मनिषाको उद्धार गरेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रहरीले बताएअनुसार, उद्धार गर्दाको बखत उनी बोल्न र हिँड्न सक्ने अवस्थामा थिइनन् भने उनलाई हनहनी ज्वरो आइरहेको थियो।
‘नानीको आयु लामो रहेछ’
जतिबेला उनको आफ्नो परिवारसँग भेट भयो, त्यसबेला पनि उनको स्वास्थ्य अवस्था निकै गम्भीर थियो।
घटनाको सात दिन बितेपछि बुधबार अस्पतालमा उकेराकर्मीले मनिषालाई भेट्दा पनि उनको ज्वरो कम भएको थिएन। उनका हातखुट्टाहरू सुन्निएका थिए भने टाउको ठूलो देखिएको थियो। अनुहार र शरीरभरि घाउ नै घाउ भएकी उनी मोबाइलमा भुलिरहेकी थिइन्।
पिसाबको थैली झुन्ड्याइएको उनको शय्यामा सानो पुतली पनि राखिएको थियो। नर्स र डाक्टरले बोल्न खोज्दा उनी बोल्न नचाहेको जस्तो देखिन्थ्यो। कपालभरि हिलो जमेका कारण सफा गरेर कपाल काटिदिएको भन्दै गीताले छोरीको टाउको सुम्सुम्याउँदै देखाइन्।
निधारमा भएको ठूलो घाउबाट पिप बगिरहेको थियो। त्योभन्दा ठूलो घाउ उनको कम्मरमा भएको लोकबहादुरले सुनाए।
“छोरी त हामीले भेटेको दुई-तीन दिनसम्मै बोलिनँ। ट्वाल्ल परेर हेर्ने र एकोहोरो बसिराख्ने गर्थी। खुट्टा चलाउन सक्दिनथी। हामीले त भाँचियो होला भन्ने ठानेका थियौँ। कानभरि बालुवा थियो। सबैभन्दा ठूलो घाउ उसको ढाडपछाडि रहेछ। थिचिएर बसेको बस्यै भएकाले होला, भित्रको मासु नै देखिन्छ। त्यसले पनि उसलाई धेरै दुखाइ भइरहेको रहेछ”, छोरीलाई हेर्दै उनले भने।
छोरी भेटिएको दिन उनीहरूका लागि सबैभन्दा विशेष दिन थियो। अहिले पनि त्यो दिन सम्झिँदा उनका आँखा रसाउँछन्।
“उसको आयु पनि लामो रहेछ। भाग्य बलियो रहेछ। हामीलाई त्यस दिन साँच्चै भगवान् छन् जस्तो लाग्यो। मसँग त त्यस दिनबारे बोल्ने शब्द नै छैन”, आँसु पुछ्दै उनी स्तब्ध बने।
छोरीको गहिरो गुनासो
अस्पतालमा राखेको तेस्रो दिन मनिषा आफ्ना आमाबुवासँग बोलिन्। त्यसपछि भने उनी खासै नबोलेको गीताले बताइन्।
“म नानीको काखमा डल्लो परेर बस्दा उसले पानी खान्छु भनी। पानी खुवाउन लाग्दा त उसले ‘तपाईंहरूले मलाई किन छोड्नुभएको? कहाँ गएको? म त्यहीँ थिएँ, मलाई लानुपर्दैन?’ भन्न थाली,” उनी भक्कानिँदै भन्छिन्, “हामीले त केही जवाफ नै फर्काउन सकेनौँ। उसले ‘मैले कति ममी-ममी भन्दा पनि किन नबोल्नुभएको?’ भनेर सोध्दा त म बोल्नै सकिनँ।”
छोरीका ती प्रश्न सुनेर लोकबहादुर पनि भावविह्वल बने।
“‘मलाई अंकलहरूले बचाए, पानी पिलाए। तपाईंहरू चाहिँ मलाई किन लिन नआको?’ भनेर सोधी। त्यो सुन्दा त मेरा बर्बर्ती आँसु आए”, उनले सुनाए।
“मेरी नानीलाई यति गाह्रो भए पनि अहिले ऊ मेरो काखमा छे। हे भगवान्! मेरी नानीलाई केही पनि नहोस् भन्ने लाग्यो”, गीताले थपिन्।
अहिले उनीहरूको घर भएको ठाउँमा केही पनि, कोही पनि छैनन्। तर, ती सबै पीडा छोरी भेटिएको खुसीको अगाडि गौण बनेका छन्। उनीहरू जसरी हुन्छ छोरीलाई पहिलाकै अवस्थामा फर्काउन दिनरात अस्पतालमा स्याहारेर बसिरहेका छन्।
नचिन्ने व्यक्तिहरूले समेत छोरीलाई भेट्न आएर स्वास्थ्य लाभको कामना गरिदिँदा उनीहरू खुसी छन्। उनीहरूका आठ वर्ष र बाह्र वर्षका अन्य दुई सन्तान अर्घाखाँचीमा हजुरआमासँग छन्। मनिषालाई सन्चो भएपछि सधैँका लागि अर्घाखाँची नै फर्किने सोचमा रहेको लोकबहादुरले बताए।
भदौ १९, २०८३ शुक्रबार १४:३६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।