विपद्मा भएको 'पुनर्जन्म'

काठमाडौं : भोटेकोशी नदीमा बाढी आएको ११ औँ दिन शनिवार एक चिनिया नागरिकको टनेलबाट जीवितै उद्धार भयो भने नुवाकोटको बाढीको भग्नावशेषबाट ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार भयो। शुक्रवार यसरी नै  त्रिशूली थ्री-ए को सुरुङभित्र मृत्युसँग लडिरहेका दुई युवाको चमत्कारिक जीवित उद्धार भएको थियो।

दुर्लभ र सफल उद्धार त भयो। तर योसँगै दुखद खबरहरू पनि रोकिएका भने छैनन्।   मृत्यु हुने अनि बेपत्ताहरूको संख्या बढिरहेको छ। शनिवार बेलुकासम्म फेला परेको शवको संख्या १२ सय ८७ पुगिसकेको छ। सम्पर्कहीनको संख्या ५ हजार कटिसक्यो।

आज हामी यो दुखका बिचमा सुरुङबाट सफलताका साथ जीवित उद्धार भएका परिवारको संघर्ष र पीडा लिएर आएका छौँ।

OOO

कसैको जीवन जोगाउनु भन्दा ठूलो सफलता अरू के नै हुन्छ र! भोटेकोशी नदीमा बाढी आएको ११ औँ दिन थप दुई यस्तै चमत्कारिक उद्धार भयो।

पहिलो उद्धार रसुवाको माथिल्लो त्रिशूली १ मा भयो। उद्धारकर्ताहरूले शनिवार एक चिनिया नागरिकको सकुशल जीवितै उद्धार गरे। उनी भदौ १० बाटै सुरुङमा फसेका थिए।

त्रिशूली १ बाट जीवितै उद्धार हुने उनी पहिलो हुन्। शनिवारै सोही सुरुङबाट थप दुई जनाको शव फेला परेको छ। उद्धार भएका चिनिया नागरिकलाई काठमाडौंमा ल्याएर सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ।

भाषागत समस्याका कारण उनी कसरी सुरुङमा फसे भन्ने विस्तृत खुलेको छैन। नेपालस्थित चिनिया दूतावासका अधिकारीहरूले उनलाई अस्पतालमै गएर भेटेका छन्।

शनिवारै अर्को चमत्कारिक उद्धार भयो बाढीको दोस्रो इपिसेन्टर नुवाकोटमा। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोजी गर्दा फेला नपरेपछि जीवित रहेको आशा मारेको परिवारले काजक्रिया सुरु गरिसकिएकी ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार भयो।

नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीस्थित बाढीले पुरेको घरको भग्नावशेषबाट शनिवार दिउँसो सुरक्षाकर्मीको टोलीले श्रेष्ठलाई फेला पारेको थियो। भदौ १० गतेको बाढीले बेत्रावती बजारका अधिकांश घर संरचना पुरेको थियो। उनी हराइन्। परिवारले सम्भव भएसम्म श्रेष्ठको खोजी गर्यो तर फेला पार्न सकेन।

अनि अब त के जीवित भेटिएला भनेर परिवारले हराएको ८ औँ दिन कुशको शव बनाएर अन्तिम संस्कार गरेर काजक्रिया सुरु गर्यो।

 "हामीले आठौँ दिनसम्म धेरै खोज्यौँ," सैनिक अस्पतालमा भेटिएका उनका आफन्त रमेशमान श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने, "कहीँ कतै नभेटेपछि सम्भव छैन भनेर आस मार्यौं।"

प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमान्डमा खटिएको प्रहरीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा आवश्यक खोजी जारी राखेको थियो। खोजिकैक्रममा बगरमा कसैले गुहार मागे जस्तो इको साउन्ड सुनियो। आनन्दलाल श्रेष्ठको चारतले घरको माथिल्लो भाग आधा पुरिन बाँकी थियो। उद्धारकर्मी छतमा पुगेपछि भित्रबाट आवाज आएको सुनियो।

दर्नालका अनुसार पर्खालमा सानो प्वाल बनाएर खोजी गर्दा भित्रबाट ‘बचाऊ-बचाऊ’ भन्ने आवाज सुनिएपछि पर्खाल फुटाएर भित्र जाँदा हिलोमा आधा गाडिएको अवस्थामा श्रेष्ठ फेला परिन्। अर्धअचेत अवस्थामा उनलाई घरबाट निकालिएको थियो।

उद्धार लगत्तै श्रेष्ठलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। अहिले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उनको उपचार भइरहेको छ। अहिले उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ।

 OOO

अब १० औँ दिनमा भएको दुई चमत्कारिक उद्धार।

शुक्रवार बिहान, त्रिशूली थ्री-ए जलविद्युत गृहको सुरुङमा फसेकाहरूको उद्धारमा खटिएको टोलीले शुक्रवार बिहानै सप्तरीका सञ्जय शाह र काठमाडौंका कबिर महर्जनको जीवितै उद्धार भयो।

 उद्धारमा खटिएका थिए नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्ता। काठमाडौं कीर्तिपुरका महर्जन माथिल्लो त्रिशूली ३ 'ए' को नियमित मर्मत सम्भारमा खटिएका मेकानिकल सुपरभाइजर हुन्।

अर्का सञ्जय शाह सप्तरी तिलाठी कोईलाडीका हुन्। नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान रहेका उनी त्रिशूली ३ 'ए' को कन्ट्रोल रुममा सिफ्ट ड्युटीमा रहेका बेला सुरुङभित्रै फसेका थिए।

१० दिनपछि जीवितै उद्धार गरिएका दुवै जनालाई प्राथमिक उपचारपछि हेलिकोप्टरबाट काठमाडौं ल्याएर वीरेन्द्र अस्पताल छाउनीमा भर्ना गरिएको छ। नेपाली सेनाको स्वास्थ्य टोलीले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ।

माया मारिसकेको परिवारको सदस्यको चमत्कारिक उद्धार हुँदा परिवार निकै खुसी छ।

OOO

सुरुङ बाहिर पनि ज्यानै जोखिममा परेर बाँचेकाहरूको व्यथा पनि कम मर्मस्पर्शी छैन। उकेराकर्मी मोनिका वाइबाले बाढीसँगको भीषण संघर्षपछि जीवन जोगाएका केही पात्रहरूसँग प्रत्यक्ष भेटेकी छिन् , जसको संघर्ष र पीडाले सिङ्गो देशलाई रुवाइरहेका छन्।

अचानक बजेको फोनको घण्टीले ल्याएको खुसी

भदौ १३ गते, भोटेकोशी बहुलाएको चौथो दिन। आफ्नै ज्यान बचाउन सफल भए पनि सानी छोरी गुमाएको अथाह शोकमा काठमाडौंको अस्पतालमा उपचाररत गीता र लोकबहादुर मगर खाना खाएर पल्टिएका मात्र के थिए, अचानक फोनको घण्टी बज्यो।

“एउटी बच्चीको जीवित उद्धार भएको छ। हाम्रो मनीषाजस्तै छिन्। फोटो र भिडियो पठाएको छु, हेर्नु त। उनलाई केही बेरमा उपचारका लागि काठमाडौँ पठाउने तयारी छ है।”

बाढीले टिमुरेमै बगायो भनेर रुँदै र भड्किँदै शवको थुप्रोमा समेत आफ्नी छोरीको अनुहार खोज्न पुगेका उनीहरू एकछिन छाँगाबाट खसेझैँ भए।

मोबाइल खोलेर हेर्दा आफ्नी ६ वर्षीया छोरी मनीषालाई सशस्त्र प्रहरीले हिलोमा लतपतिएको र अर्धचेतन अवस्थामा जमिनमुनिबाट निकालेको भिडियो देखेपछि उनीहरूलाई आफ्नै आँखाको विश्वास लागेन।

भिडियो हेरेको हेर्यै भए। त्यत्तिकैमा फेरि फोन बज्यो, “यताबाट नानीलाई हेलिकोप्टरमा हालेर पठाएको छ, टिचिङ अस्पतालमा लगिँदै छ। तपाईँहरू त्यहीँ भेट्नुस्।”

मनीषाकी आमा गीता भन्छिन्, “नानी खोज्दै रुँदै हामी कहाँ मात्र गएनौँ! घरकै तल नानीलाई भेटिएछ। नानीलाई समातेपछि त मेरो मन फुरुङ्ग भयो। बल्ल सास आएजस्तो भयो। म आफैँ चार दिनदेखि जिउँदो लासजस्तै भौँतारिरहेका रहेछु। त्यसपछि पो मलाई होस आयो!”

त्यस रात उनीहरूले छोरीलाई हेरेरै बिताए। 

अर्घाखाँचीबाट केही वर्षअघि मात्र रसुवाको टिमुरेमा बसाइँ सरेका उनीहरू रसुवास्थित ग्लोबल बैंकको शाखामा कार्यरत थिए। छोरी स्कुल जान थालेकी थिइन् र सामान्य जीवन चलिरहेको थियो।

तर भदौ १० गतेको बाढीले क्षणभरमै सबथोक बगायो। घरसँगै छोरी पनि बगेको सोचेर बाबु लोकबहादुरले आत्महत्यासम्मको सोच बनाएका थिए।

अस्पतालको बेडमा छोरी भेट्दा हातखुट्टा सुन्निएका थिए, टाउको र कम्मरमा गहिरो घाउ थियो। अस्पतालमा तीन दिनसम्म नबोली टोलाएकी मनीषाले पछि आमाबुवासँग गुनासो गरिन्, “तपाईँहरूले मलाई किन छोड्नुभएको? मैले कति ममी-ममी भन्दा पनि किन नबोल्नुभएको?” यो प्रश्न सुनेर आमाबुवाका आँखाबाट बगेका आँसुका धारा अझै रोकिएका छैनन्।

५ वर्षीय आरुष र बाबुछोराको मर्मस्पर्शी संघर्ष

५ वर्षीय आरुष तामाङलाई भदौ १० गते बिहानसम्म २५ वर्षीया आमा अविशा साथमै थिइन् भन्नेबाहेक अरू केही याद छैन। बाढी र बालुवाले डामेका दागहरू उनको कलिलो अनुहारमा अझै प्रस्ट छन्, तर ती आमा अहिले उनको जीवनमा कहिल्यै नफर्कने गरी हराएकी छिन्।

दिसामा बालुवा आउने, झोक्राउने, राति तर्सिने र अचानक टोलाउने— पछिल्लो एक हप्तादेखि आरुषको मानसिक र शारीरिक अवस्था यस्तै छ। उनका आँखा र अँगालोले हरपल आमालाई खोजिरहन्छन्। तर रसुवाको भेलले उनकी आमालाई कहाँ पुर्यायो, कसैलाई पत्तो छैन।

आरुषका बुवा दावामेन तामाङ मैलुङस्थित जलविद्युत आयोजनामा मजदुरी गर्दथे। बाढी आएको दिन सुरुङको मुखमा पुगेका उनले महाप्रलय देखेपछि भागेर ज्यान बचाए। तर उनकी श्रीमतीलाई बाढीले बगायो। यस विपद्मा दावामेनले आफ्नै श्रीमती, जेठा दाजुको ४ जनाको परिवार र जेठी दिदीको ४ जनाको परिवारसमेत गरेर ९ जना सदस्य गुमाए। ५९ वर्षीय हजुरबा निमासिङ्गी तामाङले पनि गोठालो गएको बेला भिरमा चढेर मुस्किलले ज्यान बचाए।

अहिले आरुष अस्पतालबाट डिस्चार्ज भएर बालाजुस्थित काकाको डेरामा आश्रित छन्।

सर्वस्व गुमाएका सोनाम

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेँसी बजार मात्र बगाएन, सयौँका सपना पनि माटोमा मिलाइदियो। बाढीबाट मुस्किलले ज्यान जोगाएर काठमाडौंको नागार्जुनस्थित पहेलोँ गुम्बामा आश्रय लिइरहेका २४ वर्षीय सोनाम तामाङको आँखामा अझै त्यो त्रासदी झल्किन्छ।

बाढीले घरबारसँगै उनका बुवा नोर्बु तामाङ र हजुरबुवालाई पनि सदाका लागि खोस्यो। सोनामका बुवा प्रभु बैंकको स्याफ्रुबेँसी शाखामा सुरक्षा गार्ड थिए। बैंकका कर्मचारीहरूलाई बचाउँदा बचाउँदै उनी आफैँ भेलमा हराएको खबर गाउँलेबाट सोनामले पाए।

बाढीको त्यो भयानक बिहान ५ वर्षीया भान्जीलाई च्यापेर ज्यानको बाजी लगाएर डाँडामा पुगेका सोनामले त्यसपछि परिवारका २१ जना सदस्यसहित हिँडेरै काठमाडौंको गुम्बासम्मको यात्रा तय गरे।

घटनाको एक हप्ता बितिसक्दासमेत सरकारबाट उचित अस्थायी वासस्थान र राहत नपाउँदा ३ सय भन्दा बढी रसुवाका विस्थापितहरू यसरी नै सङ्घसंस्था र गुम्बाको शरणमा छन्।

मृत्युको मुखबाट फर्किएका सिजल

रसुवाको उत्तरगया-४, पहिरेवेशीका २१ वर्षीय सिजल थापा क्षेत्री त्रिशूली-३ ‘बी’ हबको सुरुङमार्गमा काम गर्थे। भदौ ९ गते रातिको सिफ्ट सकाएर बिहान घर फर्किएका उनलाई निद्रामै रहेको बेला बाढीले ओछ्यानसहित बगायो।

“मलाई त सपनाजस्तै लाग्यो! खेतको कान्लामा घाँस समात्न खोजेँ, तर सकिनँ। बगाएको बगायै गर्दा झन्-झन् तलतल पुगेजस्तो भयो। सास फेर्नै गाह्रो भइसकेको थियो,” सिजल त्यो भयानक क्षण सम्झन्छन्। 

पौडी खेलेको अनुभवका कारण बाढीसँग संघर्ष गर्दागर्दै बेहोस भएका उनी होस् खुल्दा घरभन्दा माथि पहिरोको डिलमा पुगेका थिए। गोसाईंकुण्ड मेला गएका कारण बुबा बाहिरै भएकाले जीवितै भेटिए, तर उनकी आमा भने अझै बेपत्ता छिन्।

अस्पतालको बेडमा उपचाररत सिजलले उद्धारको पहिलो दिन दिनभर बालुवा बान्ता गरेका थिए। खुट्टाको गहिरो शल्यक्रिया भइसकेको छ। तर ओत लाग्ने घर र टेक्ने गाउँ नै नामेट भएपछि अस्पतालबाट डिस्चार्ज भएर कहाँ जाने भन्ने पिरलोले उनलाई थप सताएको छ।

भदौ २०, २०८३ शनिबार २२:३७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।