रसुवामा हराएका सैनिक श्रीमान् खोज्दै काठमाडौंमा भौँतारिइरहेकी सदिक्षा
काठमाडौं : भदौ ९ गते साढे १ बजे सदिक्षा शाहीले नेपाली सेनामा कार्यरत आफ्नो श्रीमान् विक्रम चन्दलाई कल गरिन् । रसुवामा कार्यरत रहेका उनका श्रीमान् गोर गणमा कार्यरत थिए। अमलदार पदमा रहेका उनी नुवाकोटबाट सरुवा भएको २ महिना पनि भएको थिएन।
जापान जान लागेका आमाबुबालाई विमानस्थलसम्म पुराउन आएकी सदिक्षालाई काठमाडौँ बस्न मन भएन। उनी त्यही दिन नेपालगन्जहुँदै सुर्खेत जान निस्किन्। भदौ १० गते उनी सुर्खेत पुगिन्।
“श्रीमानले भाडा नभए भाइसँग मागेर जानू भन्नुभयो,” उकेरासँग कुरा गर्दै उनले भनिन्, “त्यही दिन बस चढेर नेपालगन्ज गए। नेपालगन्जबाट औषधी किनेर घर पुगेँ। छोरोलाई भात पकाएर खुवाए। त्यतिन्जेलसम्म बाढी गएकोबारे थाहै थिएन।”
छोरालाई खाना खुवाइसक्दा रातीको साढे १० बजेको थियो। बल्ल फुर्सद पाएपछि उनले मोबाइल हेर्न थालिन्। अनि पो रसुवामा बाढी गएको थाहा पाइन्। त्यसपछि उनको मन आत्तियो। तत्काल श्रीमानलाई कल गरिन्। तर लाग्दै लागेन।
अनि श्रीमानका साथीहरूलाई फोन गरिन्। उनीहरूले पनि विक्रमसँग सम्पर्क हुन नसकेको बताए। उनको मन झन् आत्तियो। छटपटी बढ्यो। कहिले श्रीमानको नम्बर डायल गरेकै रात बित्यो।
“बाढीको भिडियो हेर्दा राती सुत्नै सकिन,” उनले भनिन्,” कहिले उज्यालो होला र नुवाकोट जाऊ भयो मलाई।”
भोलीपल्ट भदौ ११ गते सरसापट लिएर नेपालगन्जबाट काठमाडौँ आउने प्लेनको टिकट किनिन्। तर मौसम राम्रो छैन भनेर प्लेन उडेन। १२ गते मात्र उनी काठमाडौँ उत्रिन सकिन। त्यसपछि उनी सिधै नुवाकोटतिर लागिन्।
“नुवाकोट पुगेर सिधै ब्यारेकमा गएँ। त्यहाँ श्रीमानका साथीहरू हुनुहुन्थ्यो,” उनले भनिन्, “भेटिएको छैन। खोजी भइरहेको छ भन्नुभयो।”
घाइतेहरूलाई काठमाडौं लगेको सुनेपछि उनी पनि काठमाडौँ आइन्। अनि जहाँ जहाँ बाढीका घाइते राखिएको थियो त्यहाँ पुगिन्। शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल सबैतिर पुगिन्। त्यहाँ तस्बिर र नामहरू टाँसिएको थियो। कतै नाम फेला पर्छ कि भनेर खोज्दै हिँडिन्।
“कतै उद्धार भएर अस्पतालमा आउनु भएको छ की भनेर खोज्दै हिँडे,” उनले उकेरासँग भनिन्, “तर उहाँलाई भेट्न सकिन।”
नेपाली सेनाले सूची निकाल्यो। जसमा उनको श्रीमानको तस्बिर बेपत्तामा थियो। अहिले पनि उनी त्यही बेपत्ता सूचिको फोटो बोकेर कहिले अस्पताल त कहिले ब्यारेकमा धाइरहेकी छिन्। तर कुनै खबर पाएकी छैनन्।
“बेपत्ताको सूचीमा उहाँको नाम छ,” उनले भनिन्, “तर अहिलेसम्म सास न लास केहीको टुङ्गो छैन। ७ दिन भयो बेपत्ता हुनुभएको, आजसम्म उहाँको कुनै खबर छैन।”
उनको घरमा १२ वर्षको छोरा एक्लै छ। उनी काठमाडौंमा श्रीमान् खोज्दै हिँडिरहेकी छिन्।
“खाली खोजी गरिरहेका छौँ मात्र भन्नुहुन्छ। अहिलेसम्म किन पत्ता लागेन ?,” उनले भनिन, “छिटो भन्दा छिटो उहाँको खोजी हुनुपर्यो।”
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतसँग बेपत्ता सैनिकहरूबारे सोध्दा उनले चन्द जस्तै ४५ जना सैनिक हराइरहेको जानकारी दिए।
“लाङटाङ राष्ट्रिय निकुञ्ज लगायतमा खटिएका सैनिक हराएका छन्,” उनले भने, “बेपत्ताको खोजी कार्य भइरहेको छ ।”
OOO
भदौ १० गते लाङटाङ लाराङ क्षेत्रमा गएको हिम चट्टान खस्दा लेन्दे खोलामा ठूलो बाढी आएको थियो। चीन-तिब्बतको सिमानामा पर्ने यस इलाकामा दुवै क्षेत्रको ठूलो जन-धनको क्षति भयो। राष्ट्रिय विपद् प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिलेसम्म १ हजार ५० जनाको शव फेला परेको छ। ३ हजार ९ सय १६ जना बेपत्ता छन्।
बेपत्ता हुनेहरूमा प्रभावित क्षेत्रका स्थानीय, पर्यटकसहित प्रहरी २५, सेना ४५, सशस्त्र प्रहरी १३,भन्सार कार्यालयका कर्मचारी १५ , अध्यागमन कार्यालयका ३ जलविद्युतका ९ सय बढी बेपत्ता छन् । रसुवाबाट मात्रै बेपत्ता भएका नागरिकको संख्या ८ सय ६५ छ।
भदौ १६, २०८३ मंगलबार २२:५१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।