लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु भयो ३० बेडको एचडीयू सेवा

लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु भयो ३० बेडको एचडीयू सेवा

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबारदेखि ३० शय्या क्षमताको उच्च निर्भरता एकाइ (एचडीयू) सेवा सञ्चालनमा ल्याइएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले उक्त सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।

सेवा सञ्चालनको पहिलो दिन ५ जना बिरामीलाई उपचार सेवा प्रदान गरेर यसको सुरुवात गरिएको अस्पतालले जनाएको छ। हाल आंशिक रूपमा सुरु गरिएको एचडीयू सेवा दशैंपछि पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याइने डा. गौतमले बताए। 

अस्पतालमा एचडीयू सेवा सञ्चालनमा ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय उपचारसँगै आइसियुको चाप घट्ने विश्वास व्यक्त गरे। 

सेवाग्राहीको माग र चाप अनुसार आवश्यक सुधार तथा विस्तार गर्दै जनताको भरोसायोग्य उपचार केन्द्रको रूपमा स्थापित गर्न विकास समिति लागिरहेको उनले बताए। यसका लागि विकास समिति, अस्पताल प्रशासन, स्वास्थ्यकर्मी, कर्मचारी तथा तीनै तहका सरकारको साथ आवश्यक रहेको उल्लेख गरे।

यसैगरी अस्पताल विकास समिति सदस्य कल्पना ढकालले सेवालाई प्रभावकारी बनाउन समितिले अधिकतम समन्वय तथा पहलका लागि कटिवद्ध रहेको प्रतिवद्धता व्यक्त गरिन्। अस्पतालमा एचडीयू सेवा प्रारम्भ हुनु सुखद कुरा भएको बताउँदै ढकालले यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सामूहिक भावना जरुरी रहेको उल्लेख गरिन्।

विशेष सघन निगरानी चाहिने बिरामीहरूलाई समयमै उचित सेवा प्रदान गर्न यसले ठूलो सहयोग पुर्याउनेछ भने अन्यत्र बिरामी प्रेषण (रिफर) गर्नुपर्ने बाध्यतामा समेत कमी आउने विश्वास लिइएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले बताए।

मेडिसिन विभागका प्रमुख डा. पुष्पराज जोशीका अनुसार आइसियुमा बिरामीको चाप बढिरहेको अवस्थामा अलि कम सिरियस तर भेन्टिलेटर नचाहिने बिरामीहरूलाई एचडीयूमा राखेर उपचार गर्न पाउँदा सेवाग्राहीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। यसले गर्दा आइसियुको चाप घट्नेछ र थप गम्भीर (सिरियस) बिरामीहरूले आइसियुमा अवसर पाउने बताए।

डा. ज्ञानबहादुर मानन्धरले अस्पतालमा थपिएका नयाँ-नयाँ सेवा विस्तारले सेवाग्राहीसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा समेत उत्साह थपिएको उल्लेख गरे। कार्यक्रममा विभागीय प्रमुखहरू लगायत विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको नर्सिङ विभाग प्रमुख नेहा थापाले जानकारी दिइन्।

असोज ३०, २०८३ शुक्रबार १९:०५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।