दशैँमा मासु खाँदा घाँटीमा हड्डी अड्किए के गर्ने?

दशैँमा मासु खाँदा घाँटीमा हड्डी अड्किए के गर्ने?

काठमाडौं :  दशैंको समयमा चिल्लो, पिरो र बोसोयुक्त खानेकुराको सेवन बढ्ने भएकाले घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छन्। यस्तै, मासु खाँदा घाँटीमा हड्डी वा मासुको टुक्रा अड्किएर गम्भीर जोखिम आउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताले सुझाव दिएका छन्।

यस्तै दशैंमा बढी चिल्लो, पिरो र अमिलो खाँदा पेटको अम्ल घाँटीसम्म फर्किने एसिड रिफ्लक्सका कारण घाँटी र छाती पोल्ने तथा घाँटीमा केही अड्किएजस्तो वा खसखस हुने महसुस हुन सक्ने भएकाले खानाको मात्रा र प्रकृतिमा ध्यान दिनुपर्ने उनले बताए।

डा. गुप्ताका अनुसार घाँटीको जलन वा एसिड रिफ्लक्स भएका व्यक्तिहरूले बोसोयुक्त र चिल्लो मासु कम खाई पचाउन सजिलो हुने हलुका खाना खानु र प्रशस्त पानी पिउनु राम्रो हुन्छ ।

घाँटीमा मासु वा हड्डी अड्किँदा थुक निल्न र खानेकुरा खान गाह्रो हुन्छ। यदि अड्किएको हड्डीले श्वासनलीमा अवरोध पुर्याएमा सास फेर्नै गाह्रो भई ज्यानै जाने जोखिमसमेत रहन्छ। त्यसैले हड्डी अड्किएको शङ्का भएमा आफैँ निकाल्ने प्रयास नगरी चिकित्सकको सहायता लिनुपर्ने डा. गुप्ताले सुझाव दिए।

डा. गुप्ताका अनुसार यदि घाँटीमा हड्डी वा मासु अड्किएमा त्यसलाई निकाल्न घाँटीभित्र औँला हाल्ने वा भात-रोटी निलेर तल धकेल्ने प्रयास कहिल्यै गर्नु हुँदैन, किनकि यसले घाँटीमा थप चोट पुर्याउन सक्छ। यस्तो अवस्थामा आफैँ निकाल्न खोज्नुको सट्टा तुरुन्त अस्पताल गएर चिकित्सकको सहयोग लिनु नै सुरक्षित उपाय हो। थुक निल्न, बोल्न, खोक्न वा सास फेर्न गाह्रो भएको महसुस हुनासाथ ढिला नगरी नजिकैको अस्पतालको आपत्कालीन कक्षमा पुग्न डा. गुप्ताले सुझाव दिएका छन्।

कात्तिक २, २०८३ सोमबार १३:५४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।